काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सिंगो राष्ट्र प्रतिनिधिसभा निर्वाचनको “महाकुम्भ”मा होमिएको बताएकी छन्। मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा अब राजनीतिक अन्योल र अनिश्चितताको अवस्था समाप्त भइसकेको दाबी गर्दै लोकतान्त्रिक प्रक्रियाप्रति जनताको भरोसा थप सुदृढ भएको उल्लेख गरेकी हुन्।
मंगलबार देशभर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार निर्धारित समयसीमाभित्र १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
प्रधानमन्त्री कार्कीले उम्मेदवारी दर्ता प्रक्रियामा देखिएको उत्साहजनक सहभागिताले राजनीतिक क्षेत्र मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको बताएकी छन्। “निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ,” सन्देशमा उल्लेख छ, “सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ।” प्रधानमन्त्रीका अनुसार लामो समयदेखि जारी राजनीतिक संक्रमण, सरकार परिवर्तन र निर्वाचनप्रतिको अनिश्चितताले अर्थतन्त्र, लगानी वातावरण र जनविश्वासमा असर पारिरहेको थियो।
तर निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेसँगै ती आशंका हट्दै गएको उनको भनाइ छ। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको जानकारी दिएकी छन्। “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको छ,” सन्देशमा भनिएको छ, “सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन।”
उनले निर्वाचन आयोगले अहोरात्र खटिएर निर्वाचन कार्यतालिकाअनुसार जिम्मेवारी निर्वाह गरिरहेको भन्दै सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेकी छन्। उम्मेदवारी दर्तादेखि मतगणनासम्मको सम्पूर्ण प्रक्रिया संविधान र कानुनअनुसार सम्पन्न गराउन आयोगले खेलेको भूमिकाको प्रशंसा पनि उनले गरेकी छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनको सफलताका लागि राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरेकी छन्। जिम्मेवार र रचनात्मक भूमिकामार्फत लोकतान्त्रिक अभ्यासलाई सफल बनाउने दायित्व सबैको साझा भएको उनको भनाइ छ। “यो निर्वाचन केवल सत्ता हस्तान्तरणको प्रक्रिया मात्र होइन, लोकतान्त्रिक स्थायित्व र संस्थागत विकासको आधार पनि हो,” सन्देशमा भनिएको छ, “त्यसैले सबै पक्षबाट संयमता, सहिष्णुता र जिम्मेवारी अपेक्षित छ।” प्रधानमन्त्रीले अन्त्यमा सम्पूर्ण नेपाली नागरिकलाई निर्वाचन प्रक्रियामा सक्रिय, सचेत र संयमित सहभागिता जनाउन अपिल गरेकी छन्। स्वतन्त्र र निष्पक्ष मतदानमार्फत आफ्ना प्रतिनिधि छान्न पाउने अधिकारको प्रयोग जिम्मेवारीका साथ गर्नुपर्ने उनले उल्लेख गरेकी छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको सन्देशले निर्वाचनप्रतिको सरकारी प्रतिबद्धता स्पष्ट गरेको छ। उम्मेदवारी दर्ताको चरण सफलतापूर्वक सम्पन्न भएसँगै अब दलहरू चुनावी प्रचारमा केन्द्रित हुनेछन्। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अब उम्मेदवारहरूको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन र चुनावी प्रचारको चरण सुरु हुनेछ। फागुन २१ गते हुने निर्वाचनले नयाँ संसद् र सम्भावित नयाँ राजनीतिक समीकरणको दिशा तय गर्ने अपेक्षा गरिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































