काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रमा कूल २ हजार ९ सय २५ जनाले मनोनयन दर्ता गराएका छन्।
आयोगले यसलाई लोकतान्त्रिक अभ्यासप्रति जनप्रतिनिधि र राजनीतिक दलहरूको बढ्दो चासोका रूपमा व्याख्या गरेको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले सोमबार साँझ ६ बजेसम्म प्राप्त प्रारम्भिक विवरण सार्वजनिक गर्दै महिला उम्मेदवारको संख्या ३ सय ३६ र पुरुष उम्मेदवारको संख्या २ हजार ५ सय ८९ रहेको जानकारी दिए। उनका अनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने संवैधानिक व्यवस्थाअनुसार अपाङ्गता भएका व्यक्तिहरूबाट ८५ जना तथा पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाले उम्मेदवारी दिएका छन्। यो तथ्यांक प्रारम्भिक भएकाले अन्तिम विवरणमा केही हेरफेर हुन सक्ने राउतले स्पष्ट पारे।
आयोगका अनुसार मनोनयन दर्ता प्रक्रिया देशभर शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ। कतिपय निर्वाचन क्षेत्रमा प्रमुख दलका शीर्ष नेतादेखि नयाँ राजनीतिक शक्ति, स्वतन्त्र उम्मेदवारसम्मको उल्लेखनीय उपस्थिति देखिएको छ। यसले आगामी निर्वाचन प्रतिस्पर्धात्मक र रोचक हुने संकेत गरेको विश्लेषकहरूको भनाइ छ। उम्मेदवारी दर्ता सफलतापूर्वक सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, कर्मचारी तथा सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरेका छन्। उनले निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार अबका सबै प्रक्रिया समयमै र निष्पक्ष रूपमा अघि बढाइने प्रतिबद्धता जनाए।
निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। सो अवधिमा उम्मेदवारीसम्बन्धी कानुनी वा प्रक्रियागत त्रुटि भए उजुरी दर्ता गर्न सकिने आयोगले जनाएको छ। माघ ८ गते उजुरीमाथि आवश्यक जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ।यसैगरी, उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ।
सोही दिन उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने र साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण प्रक्रिया पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको जनाएको छ। साथै, मतदातालाई ढुक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन आयोगले आग्रह गरेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको उम्मेदवारी दर्तामा संख्यात्मक वृद्धि हुनु राजनीतिक चेतना र लोकतान्त्रिक सहभागिताको संकेत हो। महिला, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट उम्मेदवारी बढ्नु समावेशी लोकतन्त्रतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।
निर्वाचन आयोगले तोकिएको कार्यतालिका अनुसार सबै चरण पूरा गरी समयमै निर्वाचन सम्पन्न गराउने तयारीमा रहेको जनाएको छ। अब उजुरी, नामावली प्रकाशन र निर्वाचन चिह्न वितरणपछि चुनावी प्रचार–प्रसार औपचारिक रूपमा तीव्र हुने अपेक्षा गरिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































