काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । भृकुटीमण्डपस्थित फनपार्क जग्गा भाडा प्रकरणमा भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टीमा स्वागत गरे ।
२०७९ फागुन २६ गते विशेष अदालतले उनलाई ९ वर्ष ६ महिना) कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ जरिवाना र तथा त्यही बराबरको बिगो असुल गर्न आदेश दिएको थियो । विशेष अदालतले सजाय सुनाए पनि उनी बाहिरै रहँदै आएका छन् । विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले न्यौपाने र गुरुङसहित नौ जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुँदा भृकुटीमण्डपस्थित फन पार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १४ जनाविरुद्ध २०७५ माघ २१ गते मुद्दा चलाएको थियो । सुरूमा ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका उनलाई विशेष अदालतले अन्तिम फैसलामा दोषी ठहर गरेको थियो ।
समाज कल्याण परिषदको स्वामित्वमा रहेको भृकुटीमण्डपको ६० रोपनी जग्गा नियमविपरीत सस्तो दरमा फनपार्कलाई भाडामा दिएर संस्थालाई हानि पुर्याएको आरोप उनीमाथि थियो । विशेष अदालतले ९ वर्ष ६ महिना कैद सजाय सुनाए पनि अहिलेसम्म उनी जेल गएका छैनन् । विशेष अदालतको फैसलाविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । यो मुद्दामा कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । कांग्रेसका नेतासमेत रहेका गुरुङ पनि यो मुद्दामा दोषी ठहर भएका छन् ।
फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा कांग्रेसका तत्कालीन सांसद गुरुङ दोषी ठहर भए पनि अहिले उनी फेरि चुनावी मैदानमा छन् । उनलाई विशेष अदालतले एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको थियो । गुरुङलाई भने न्यौपानेलाई जस्तो कैद सजाय तोकिएको थिए । अख्तियारको अनुसन्धानले भृकुटीमण्डपको ६० रोपनी जग्गा फनपार्कलाई १० वर्षको लागि प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा दिने निर्णयमा उनीहरूको बदनियत देखाएको थियो। यो मुद्दामा प्रमोद मेहतालाई ८ वर्ष ६ महिना कैद, हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमारलाल कर्णलाई लाई ८ वर्ष कैद र अरुलाई जति नै विगो र जरिवानाको फैसला भएको थियो ।
त्यसैगरी रवीन्द्रकुमार यादवलाई बद्री न्यौपानेलाई जस्तै ९ वर्ष कैद सजाय तोकिएको थियो। उनीबाट अरुलाई जतिनै बिगो भराउने फैसला पनि विशेष अदालतले गरेको थियो । सर्लाहीको हरिवन नगरपालिका–२ अत्रौली घर भएका पूर्वमन्त्री न्यौपाने मधेश आन्दोलनका बेला चुरे भावर पार्टी खोलेर चर्चामा आएका थिए । तर पछिल्लो समय उनी प्रभु साह नेतृत्वको आमजनता पार्टीमा थिए । कांग्रेसबाट राजनीति थालेका न्यौपाने ०६४ सालमा सर्लाहीमा सुरू भएको चुरे भावर आन्दोलनमा लागेर समानुपातिक सांसद बनेका थिए। उनी चुरे भावर छाडेर तत्कालीन नेकपामा प्रवेश गरे थियो ।
उनी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाका केन्द्रीय सदस्यसमेत भए । नेकपा फुटेपछि उनी एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्य भए । उनले २०७९ सालको संघीय र प्रदेशसभा सदस्य निर्वाचनअघि एमाले परित्याग गरे। त्यसपछि केही समय स्वतन्त्र रहे। तर उनले २०७९ मंसिरको निर्वाचनमा न्यौपानेले माओवादीलाई सघाए । तर त्यसबेला माओवादी प्रवेश नगरेका उनी अहिले नेकपातिर लागेका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































