काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु भएको छ । प्रतियोगिताका खेलहरू भारत र श्रीलङ्कामा आयोजना हुँदैछन् ।
विश्वकपको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स आमनेसामने छन् । श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले पहिले ब्याटिङ गरिरहेको छ ।
आजै अन्य दुई खेलहरू पनि हुनेछन् । दिउँसो सवा ३ बजे भारतको इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्याण्डबीच खेल हुनेछ भने साँझ सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच मुम्बईको वानखेडे रंगशालामा प्रतिस्पर्धा हुनेछ ।
यस विश्वकपमा कुल २० टोली सहभागी छन् । टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्याण्ड्स रहेका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् ।
यस्तै, समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् भने समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा समावेश छन् ।




































