कृषि प्रधान देशमा सधैँ मल अभावको दुर्दशा

नेपाल जस्तो कृषि प्रधान देशमा किसानहरूले हरेक वर्ष भोग्दै आएको सबैभन्दा ठूलो र साझा समस्या भनेकै रासायनिक मलको अभाव हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण नेपालमा मलको आयात झनै खुम्चिने अवस्था सिर्जना भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा करीब १ लाख मेट्रिक टन कम मल आयात हुने जानकारी गराउनुले मुलुकको कृषि अर्थतन्त्रमा गम्भीर चुनौती थपिएको छ । यस आर्थिक वर्षका लागि सरकारले मल खरिदमा अनुदान दिन २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको थियो, जसबाट ५ लाख ५० हजार मेट्रिक टन मल ल्याउने लक्ष्य थियो । तर मूल्यवृद्धिका कारण सोही बजेटले ८४ हजार मेट्रिक टनभन्दा बढी मल खरिद गर्न नसकिने अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ । विनियोजित बजेट अपुग भएपछि वैकल्पिक स्रोतबाट रकम जुटाउन नसक्नुले सरकारको कृषि क्षेत्रप्रतिको प्राथमिकता र योजनामा रहेको कमजोरीलाई उजागर पारेको छ ।

नेपालमा रासायनिक मलप्रतिको निर्भरता कति उच्च छ भन्ने कुरा राष्ट्रिय कृषिगणना २०७८ को तथ्यांकले स्पष्ट पार्छ, जहाँ ७६ प्रतिशत किसानले धान खेतीमा रासायनिक मल प्रयोग गर्ने गरेको देखिन्छ । यस्तो उच्च निर्भरता भएको मुलुकमा आयातमा कटौती हुनुको सिधा असर कृषि उत्पादन र राष्ट्रिय खाद्य सुरक्षामा पर्ने निश्चित छ । मन्त्रालयले हाल १ लाख १५ हजार मेट्रिक टन मल मौज्दात रहेको र तत्काल अभाव नहुने दाबी गरे पनि दीर्घकालीन रूपमा यसले किसानलाई मारमा पार्ने देखिन्छ।

नेपालमा मल आपूर्तिको अर्को समस्या भनेको झन्झटिलो खरिद प्रक्रिया हो । ग्लोबल टेन्डर र विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) मार्फत मल खरिद गर्दा सम्झौतादेखि ढुवानीसम्म लामो समय लाग्ने गरेको छ । यही प्रक्रियागत ढिलासुस्तीका कारण खेतीको मुख्य सिजनमा किसानहरूले सधैँ मलका लागि हारगुहार गर्नुपर्ने र महँगो मूल्यमा कमसल मल किन्नुपर्ने बाध्यता छ । भारतका बन्दरगाहबाट ढुवानी गरी ल्याउनुपर्ने भौगोलिक बाध्यता त छँदैछ, त्यसमाथि बजेट र प्रक्रियाको अड्चनले समस्यालाई झनै जटिल बनाएको छ ।

अहिलेको संकटले नेपाललाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ, स्वदेशमै मल उत्पादनको सम्भावनालाई अब गम्भीरतापूर्वक अघि बढाउनुपर्छ । पूर्ण रूपमा अन्तर्राष्ट्रिय बजार र आयातमा निर्भर रहँदा प्रत्येक वर्ष मूल्यवृद्धिको मार किसानले भोग्नुपरिरहेको छ । नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने राजनीतिक नारा पटक–पटक सुनिने गरे पनि कार्यान्वयन नहुँदा किसानले बर्सेनि मल अभावको समस्या भोग्नुपरिरहेको छ ।

मल आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन समयमै खरिद प्रक्रिया सुरु गर्ने, वैकल्पिक बजेटको सुनिश्चितता गर्ने र मल वितरणको जिम्मा पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडको कार्यक्षमतामा सुधार ल्याउनु आवश्यक छ । कृषि प्रधान देशमा किसानले मलका लागि सधैँ संघर्ष गर्नुपर्ने अवस्था समृद्धिको नाराका लागि सुहाउने विषय होइन । सरकारले केवल बजेटको अभाव देखाएर पन्छिनुभन्दा पनि किसानको समस्यालाई मुख्य प्राथमिकतामा राख्नुपर्छ । मल अभावका कारण उत्पादन घट्नु भनेको देशको व्यापार घाटा अझ बढ्नु र परनिर्भरता चुलिनु हो । त्यसैले मल आपूर्तिलाई नियमित र सुलभ बनाउन दीर्घकालीन नीतिगत सुधार र स्वदेशमै उत्पादनको विकल्पमा ठोस कदम चाल्नु अत्यावश्यक छ ।

मिति २०८२ फागुन १ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।