कस्तो चुनावी रणनीति अपनाउँदैछ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन परिचालन समितिको संयोजकको हैसियतमा माघ २९ गते बिहीबार पार्टी मातहतका निकायलाई ३४ बुँदे परिपत्र जारी गर्दै आगामी निर्वाचनका लागि व्यापक निर्देशन दिएका थिए ।

‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–०८२’ शीर्षकको परिपत्रमा पार्टीका उम्मेदवार र प्रचारकहरूले ध्यान दिनुपर्ने मुख्य विषय, आचारसंहिता र रणनीतिहरू समेटिएका छन् ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले यसपटक निर्वाचन प्रचार–प्रसार र परिचालन प्रक्रियामा केही नयाँ नीति र कार्यशैली लागू गरेको छ । तीमध्ये प्रमुख नीति ‘साझा दायित्व/साझा स्वामित्व’ को अवधारणा हो । यस अवधारणाअनुसार पार्टीका सदस्यहरूको सक्रिय सहभागितामा सहकार्यको निश्चित कोष स्थापना गरी चुनावी अभियान सञ्चालन गरिने, अनावश्यक खर्च नगर्ने र निर्वाचन सम्पन्न भएको १५ दिनभित्र निर्वाचन आयोगमा सम्पूर्ण खर्च विवरण बुझाउने व्यवस्था गरिएको छ ।

परिपत्रमा प्रचार अभियानका लागि स्वतःस्फूर्त आर्थिक सहयोग स्वीकार गरिने भए पनि कुनै पनि ठूला वा साना व्यवसायीलाई दबाब नदिने स्पष्ट नीति लिइएको उल्लेख छ । पार्टीले स्वच्छ, पारदर्शी र मर्यादित आर्थिक व्यवस्थापनलाई प्राथमिकता दिने लक्ष्य राखेको छ । साथै, प्रचारका क्रममा निर्वाचनपछि गठन हुने संसदबाट विद्यमान संविधानलाई समयानुकूल संशोधन गर्न आवश्यक रहेको विषयमा नागरिकको अभिमत माग्ने र त्यसलाई गहिराइका साथ आत्मसात् गर्ने नीति पनि अघि सारिएको छ ।

भ्रातृ तथा शुभेच्छुक संस्था र जिल्ला सम्पर्क समितिलाई वडा तहसम्मका पदाधिकारी तथा सदस्यलाई ‘डिजिटल मुभ’ मा सक्रिय बनाउँदै ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा केन्द्रित गरिने उल्लेख गरिएको छ । पार्टीले अब भौतिक उपस्थितिभन्दा डिजिटल माध्यमलाई बढी प्रभावकारी बनाउने रणनीति लिएको छ । सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म र डिजिटल सामग्रीमार्फत मतदातासँग जोडिने लक्ष्य राखिएको छ ।

निर्वाचन परिचालन समितिले ‘हाम्रो वडा हामी जिताउँछौँ’ भन्ने उदघोषका साथ एउटा वडाका नेता–कार्यकर्ता अर्को वडामा नगई आफ्नै क्षेत्रमा केन्द्रित भएर काम गर्ने नीति बनाएको छ । ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने कार्ययोजना लागू गरिने उल्लेख छ । यसले जिम्मेवारी र उत्तरदायित्वलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।

केन्द्र, प्रदेश, जिल्ला र क्षेत्र तहका प्रतिनिधिहरूले तोकिएको स्थानमा जिम्मेवारी पूरा गरी पुनः आफ्नै क्षेत्र र वडामा फर्केर अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । बदलिँदो समयअनुसार चुनावी अभियान ‘फिजिकल’ भन्दा ‘डिजिटल’ तर्फ बढी उन्मुख हुँदै गएको अवस्थामा सामाजिक सञ्जालको प्रयोगमा पार्टीका सबै सदस्य सचेत र सक्रिय हुनुपर्ने निर्देशन दिइएको छ ।

परिपत्रमा प्रचार सामग्रीलाई मर्यादित, सभ्य र सन्देशमूलक बनाउने विषयमा जोड दिइएको छ । बदलिएको समय, युवा पुस्ताको सोच र अपेक्षाअनुसार पार्टीले आफ्ना कार्यक्रम र प्रतिबद्धतालाई परिमार्जन गर्दै आएको सन्देश प्रवाह गरिनेछ । नवयुवाका भावना, सपना र आकांक्षालाई आत्मसात् गर्दै ‘युवाका बदलिएका सपनाको सम्बोधन, बदलिएको कांग्रेसको नेतृत्वमा’ भन्ने संकल्पलाई अभियानको मूल नाराका रूपमा अघि सारिएको छ ।

शर्माले निर्वाचनलाई दुश्मनीको अखडा नभई विचार र व्यक्तित्वको स्वस्थ प्रतिस्पर्धाको महायज्ञका रूपमा लिनुपर्ने बताएका छन् । कांग्रेसका लागि कुनै पनि दल वा उम्मेदवार दुश्मन नभएको स्पष्ट गर्दै अन्य उम्मेदवारप्रति स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्क प्रस्तुत गर्ने तर व्यक्तिगत गालीगलौज नगर्ने नीति अपनाउन निर्देशन दिइएको छ ।

निर्वाचनको वातावरण स्वस्थ, मर्यादित र हार्दिक बनाउने दायित्व मूलतः राजनीतिक दलहरूको भएको उल्लेख गर्दै कांग्रेसले अन्य दललाई समेत सकारात्मक र जिम्मेवार भूमिकामा उन्मुख गराउन पहल गर्नुपर्ने बताइएको छ । घृणास्पद, उत्तेजक तथा भड्काउ अभिव्यक्ति नदिने, संयमित र परिपक्व प्रस्तुति दिने विषयमा उम्मेदवार र प्रचारकलाई विशेष सचेत गराइएको छ ।

चुनाव जित्नका लागि अव्यावहारिक र असम्भव आश्वासन दिने गलत राजनीतिक प्रवृत्तिलाई रोक्ने नीति पनि कांग्रेसले लिएको छ । स्थानीय मुद्दाहरूको पहिचान गरी त्यसप्रति पार्टीको यथार्थपरक प्रतिबद्धता व्यक्त गर्ने, नागरिकलाई वास्तविक रूपमा लाभ पुग्ने कार्यक्रम प्रस्तुत गर्ने र तथ्यमा आधारित राजनीति गर्ने लक्ष्य लिइएको छ ।

‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने अवधारणालाई मतदातामाझ स्थापित गर्दै नयाँ विश्वास निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने योजना परिपत्रमा उल्लेख गरिएको छ । ‘जो बदलिन सक्छ, उसैले बदल्न सक्छ’ भन्ने सन्देशमार्फत पार्टीको रूपान्तरण र नेतृत्व क्षमताको विषयलाई उजागर गर्ने रणनीति लिइएको छ ।

समग्रमा, उपसभापति शर्माको परिपत्रले कांग्रेसलाई अनुशासित, पारदर्शी, प्रविधिमैत्री र जिम्मेवार राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ । साझा दायित्व, डिजिटल अभियान, युवा केन्द्रित सोच, मर्यादित प्रतिस्पर्धा र यथार्थपरक प्रतिबद्धतामार्फत आगामी निर्वाचनमा मतदाताको भरोसा जित्ने लक्ष्यसहित कांग्रेस अघि बढिरहेको सन्देश यस निर्देशिकाले दिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।