विदेशीसँग विवाह गर्ने उम्मेदवारको सूची सार्वजनिक गर्न माग गर्दै रिट

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको योग्यता, विवरण र पारदर्शिताबारे नयाँ कानुनी बहस सुरु भएको छ ।

प्रत्यक्ष र समानुपातिक प्रणालीअन्तर्गत प्रतिस्पर्धामा रहेका महिला उम्मेदवारमध्ये विदेशी पुरुषसँग विवाह गरेका व्यक्तिहरूको अभिलेख सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । उक्त रिट अधिवक्ता राजकुमार सुवालले बुधबार (फागुन १३) दायर गरेका हुन् ।

सुवालले दायर गरेको रिटमा निर्वाचन आयोगले उम्मेदवारहरूको वैवाहिक अवस्थासम्बन्धी विवरण, विशेष गरी विदेशी नागरिकसँग विवाह गरेका महिला उम्मेदवारको नाम, विवाह मिति, सम्बन्धित विदेशी पुरुषको नाम र ठेगानासहितको विवरण सार्वजनिक नगरेको दाबी गरिएको छ । यस्तो विवरण सार्वजनिक नहुँदा कानुनले दिएको उजुरी र दाबी–विरोधको अधिकार प्रभावकारी रूपमा प्रयोग गर्न नसकिने अवस्था उत्पन्न भएको उनको जिकिर छ ।

रिटमा उल्लेख भएअनुसार मतदाता नामावली ऐन, २०७३ को दफा १५ ले कसैले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गराएको अवस्थामा उजुरी दिन सकिने स्पष्ट व्यवस्था गरेको छ । यस्तै, निर्वाचनसम्बन्धी प्रचलित कानुनहरूले उम्मेदवारको योग्यताबारे प्रश्न उठाउन र उजुरी दिन पाउने संवैधानिक तथा कानुनी अधिकार नागरिकलाई प्रदान गरेका छन् । तर, आवश्यक तथ्यांक र अभिलेख नै सार्वजनिक नगरिँदा उक्त अधिकार निष्प्रभावी बन्ने खतरा रहेको रिट निवेदनमा उल्लेख गरिएको छ । सुवालका अनुसार उनले यसअघि नै निर्वाचन आयोगसमक्ष सूचनाको हकअन्तर्गत निवेदन दिँदै विदेशी नागरिकसँग विवाह गरेका महिला उम्मेदवारको विवरण उपलब्ध गराउन माग गरेका थिए ।

तर आयोगबाट मागअनुसारको विवरण प्राप्त नभएपछि बाध्य भएर संवैधानिक उपचारको खोजीमा सर्वोच्च अदालत गुहार्नुपरेको उनले बताएका छन् । रिट निवेदनमा सूचनाको हक मौलिक अधिकार भएकाले सार्वजनिक सरोकारको विषयमा आयोगले विवरण लुकाउन नपाउने दाबी गरिएको छ । उम्मेदवारको नागरिकता, वैवाहिक अवस्था र विदेशी सम्बन्ध जस्ता विषय निर्वाचन प्रक्रियामा महत्वपूर्ण हुनसक्ने भन्दै त्यससम्बन्धी पारदर्शिता अनिवार्य भएको जिकिर गरिएको छ । यदि कसैले झुटो विवरण पेस गरेको अवस्थामा समयमै उजुरी दिन नसक्दा निर्वाचन परिणाम प्रभावित हुनसक्ने र पछि त्यसको सुधार जटिल बन्ने रिटमा उल्लेख छ ।

रिटमा विशेषगरी ‘विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारको अभिलेख आयोगसँग भए/नभएको स्पष्ट गर्न’ माग गरिएको छ । अभिलेख भए सार्वजनिक गर्न र नभए किन नभएको भन्ने स्पष्ट पार्न आदेश दिनुपर्ने माग पनि गरिएको छ । यसरी अभिलेख सार्वजनिक नभए सर्वसाधारण नागरिक उम्मेदवारको योग्यतामाथि दाबी–विरोध र उजुरी गर्नबाट वञ्चित हुने अवस्था सिर्जना हुने र विवादास्पद उम्मेदवारले उन्मुक्ति पाउन सक्ने आशंका व्यक्त गरिएको छ । रिटमा आयोगका नाममा तत्काल अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ । विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारको नामावली, विवाहको मिति, सम्बन्धित विदेशी नागरिकको नाम, स्थायी ठेगाना लगायतका विवरण अविलम्ब सार्वजनिक गर्न अन्तरिम आदेश जारी नभए रिट निवेदनको औचित्य नै समाप्त हुनसक्ने तर्क निवेदकले अघि सारेका छन् ।

निर्वाचन प्रक्रिया अगाडि बढिसकेको र मतदान मिति नजिकिँदै गइरहेको सन्दर्भमा समयमै सूचना सार्वजनिक नभए कानुनी उपचार अर्थहीन बन्ने उनको भनाइ छ । सुवालले बिहीबार (फागुन १४) का लागि सर्वोच्च अदालतमा सुनुवाइको पेसी तोकिएको जानकारी दिएका छन् । प्रारम्भिक सुनुवाइमा अदालतले अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्ने सम्भावना छ । यदि अदालतले आयोगलाई विवरण सार्वजनिक गर्न अन्तरिम आदेश जारी गरेमा निर्वाचन प्रक्रियामा नयाँ बहस र प्रभाव देखिन सक्ने अनुमान गरिएको छ ।

यस विषयले निर्वाचनको पारदर्शिता, सूचनाको अधिकार र उम्मेदवारको योग्यतासम्बन्धी मापदण्डबारे व्यापक बहस निम्त्याएको छ । एकातिर केही कानुनविद्हरूले सार्वजनिक पदमा उम्मेदवारी दिने व्यक्तिको पृष्ठभूमि, वैवाहिक अवस्था र विदेशी सम्बन्धबारे पारदर्शिता हुनुपर्ने तर्क गर्दै आएका छन् । अर्कोतर्फ, व्यक्तिगत गोपनीयताको अधिकार पनि उत्तिकै महत्वपूर्ण भएकाले सूचनाको दायरा र सीमाबारे स्पष्ट व्याख्या आवश्यक रहेको धारणा पनि व्यक्त भइरहेको छ ।निर्वाचन आयोगले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन ।

आयोग स्रोतका अनुसार उम्मेदवारले पेस गर्ने विवरण कानुनअनुसारको फाराममा आधारित हुने र त्यसभन्दा बाहिरका सूचनाहरू सार्वजनिक गर्न कानुनी जटिलता हुनसक्ने तर्क आन्तरिक रूपमा उठ्ने गरेको बताइएको छ । तर, रिट निवेदन दर्ता भएसँगै आयोगलाई अदालतमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने अवस्था सिर्जना भएको छ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा दायर भएको यो रिटले चुनावी माहोलमा नयाँ आयाम थपेको छ । सर्वोच्च अदालतको आदेशले केवल यस निर्वाचनलाई मात्र होइन, भविष्यका निर्वाचन प्रक्रियामा उम्मेदवारसम्बन्धी सूचना सार्वजनिक गर्ने अभ्यास र मापदण्डलाई समेत प्रभावित पार्न सक्ने देखिन्छ । अब अदालतको प्रारम्भिक सुनुवाइ र त्यसपछि आउने आदेशले यो विवाद कुन दिशातर्फ मोडिनेछ भन्ने चासो बढेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।