सरकारी अकर्मण्यतामा जनसहभागिताले धानेको शिक्षा

नेपालको संविधानको धारा ३१ मा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने उल्लेख छ । तर देशका विभिन्न विद्यालयका विद्यार्थी र अभिभावकले मावि तहसम्मको शिक्षा पाउन शुल्क वा सहयोग दिनुपर्छ ।

कैलालीको भजनीका सञ्जय लोनिया विगत ३ वर्षदेखि वार्षिक १५–२० हजार रुपैयाँ पारिश्रमिकमा अध्यापन गराइरहेका छन् । उनको पारिश्रमिक स्थानीय विपन्न अभिभावकहरूले चन्दा संकलन गरेर जुटाउने गर्छन् । स्थानीय हलौना बाबा विद्यालयमा शिक्षकको दरबन्दी पर्याप्त नहुँदा अभिभावकले शुल्क तिरेर निजी स्रोतमा शिक्षक राखिएका छ । अर्थात् संविधानमा निःशुल्क लेखिए पनि माविसम्मको शिक्षलाई जनसहभागिताले धानेको छ ।

विद्यालयमा १७१ जना विद्यार्थी अध्ययनरत छन् । त्यसैले शिक्षक दरबन्दीको चरम अभाव र निजी स्रोतबाट शिक्षक राख्न अभिभावकले चन्दा उठाउनुपर्ने अवस्था प्रस्ट छ । शिक्षाको उज्यालोबाट आफ्ना बालबालिका वञ्चित नहोऊन् भन्ने हेतुले विपन्न थारु समुदायले गरेको त्याग आफैँमा अनुकरणीय छ । तर विपन्न नागरिकले शिक्षाको भार व्यहोर्नुपर्दा राज्यको दायित्व कहाँ छ ?

विद्यालयको नाममा रहेको ५ बिघा ऐलानी जग्गा स्थानीयबाटै अतिक्रमित हुनु र त्यसलाई खाली गराएर विद्यालयको आयस्रोत बनाउन नसक्नुमा स्थानीय प्रशासन र जनप्रतिनिधिको कमजोरी देखिन्छ । त्यो जग्गा विद्यालयले उपभोग गर्न पाएको भए सञ्जय लोनिया जस्ता शिक्षकले न्यून र अनिश्चित पारिश्रमिकमा चित्त बुझाउनुपर्ने थिएन । शिक्षक लोनियाले पैसाका लागि मात्र नभई गाउँका बालबालिकाको भविष्यका लागि देखाएको समर्पण उदाहरणीय छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कतै शिक्षकको अभाव र कतै बढी भएको स्वीकार गरेका छन् ।

अर्कोतिर, सरकारी तलब खाने शिक्षकहरू २ पटकको हाजिर एकैपटक गरेर विद्यालयबाट भाग्ने प्रवृत्ति र स्वयंसेवकका रूपमा काम गर्ने लोनियाको इमान्दारिताले शिक्षा प्रणालीको कमजोर धरातललाई उजागर गरेको छ । एकातिर स्रोतको अभावमा अभिभावकले चन्दा उठाउनुपर्ने, अर्कोतिर भएका शिक्षकहरूमा उत्तरदायित्वको अभाव हुनु सार्वजनिक शिक्षा सुधारका मुख्य बाधक रहेका छन् ।

निःशुल्क शिक्षाको नारा लगाइरहँदा सरकारले दुर्गम र सीमान्तकृत बस्तीका विद्यालयहरूको अवस्थालाई नजरअन्दाज गर्न मिल्दैन । जनसहभागिताको नाममा गरीब जनताको थाप्लोमा भार थुपारेर राज्यले जिम्मेवारीबाट पन्छिन पाइँदैन । आउँदो शैक्षिक सत्रबाट शिक्षक दरबन्दी मिलान गर्ने र अस्तव्यस्तता सुधार्ने भनिएको नगरपालिकाको आश्वासन केवल आश्वासनमा मात्र सीमित हुनु हुँदैन ।

शिक्षक सञ्जय लोनियाको कार्य र हलौना बाबा विद्यालयका अभिभावकको सक्रियताले शिक्षाप्रतिको लगाव दर्शाएको छ तर यसले राज्यको संवैधानिक प्रावधानमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ । शिक्षालाई वास्तविक रूपमा अनिवार्य र निःशुल्क बनाउन स्थानीय सरकारले दरबन्दी मिलान गर्ने, विद्यालयको जग्गा संरक्षण गर्ने र दुर्गमका शिक्षकहरूलाई प्रोत्साहन गर्ने नीति तत्काल ल्याउनुपर्छ । जनसहभागिताले शिक्षाको जग त हाल्न सक्छ तर त्यसलाई टिकाउने र गुणस्तरीय बनाउने मुख्य दायित्व राज्यको नै हो ।

संवैधानिक प्रावधानले निःशुल्क किटान गरेको शिक्षा निःशुल्क पाउन नसक्नु बिडम्बनापूर्ण अवस्था हो । राज्यका विभिन्न क्षेत्रमा फजुल खर्च भइरहँदा शिक्षा क्षेत्रमा राज्यको पर्याप्त लगानी देखिँदैन । यसले राज्यको स्रोत परिचालन र व्यवस्थापनमा समस्या देखिएको छ । राज्यले शिक्षालाई प्राथमिकतामा राखेर आवश्यक स्रोतसाधन जुटाउन सक्रियता देखाउनुपर्छ ।

मिति २०८२ फागुन १४ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।