तीन हजार ६८० मतदानस्थल ‘अतिसंवेदनशील’

काठमाडौं । सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा गइसकेको जानकारी दिए । आयोगलाई प्राप्त जानकारीअनुसार देशभर रहेका कुल १० हजार ९६७ मतदानस्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन भागमा वर्गीकरण गरिएको छ ।

विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्यांकन गर्दै तीन हजार ६८० मतदानस्थललाई ‘अतिसंवेदनशील’ सूचीमा राखिएको छ । त्यसैगरी, चार हजार ४४२ मतदानस्थललाई ‘संवेदनशील’ र दुई हजार ८४५ मतदानस्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ ।

सचिव राउतले मतदानस्थलहरूको यो वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनको सहजता र सुरक्षा प्रबन्ध मिलाउनका लागि मात्र गरिएको स्पष्ट पारे । मतदानस्थलको सुरक्षाका लागि विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको छ ।जसअन्तर्गत मतदानस्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ भने त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल रहनेछ ।

मतदानस्थलको भित्री घेराको सुरक्षाको जिम्मा भने नेपाल प्रहरीलाई दिइएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हेलिकोप्टरबाट ढुवानी गर्दा मतपेटिका साटिने भनेर चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको बताएका छन् । भण्डारीले मतपेटिकाको सुरक्षामा कुनै पनि सम्झौता नहुने बताए । परम्परागत रूपमै तीन तहको सुरक्षा घेराभित्र मतपेटिका राखिने उनको भनाइ छ ।

मतदान सम्पन्न भएपछि राजनीतिक दल र उमेदवारका प्रतिनिधिहरूको रोहवरमा मतपेटिका सिल गरिने र त्यसमा प्रतिनिधिहरूको आफ्नै चिह्न अंकित लाहाछाप लगाइने बताए । मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने पुरानै व्यवस्था कायम रहेको उनले जानकारी दिए । “कतिपय ठाउँमा हेलिकोप्टरमा मतपेटिका हालेपछि मतपेटिका नै परिवर्तन हुन्छ रे भन्ने सुनेको छु, त्यो किञ्चित होइन, कुनै हालतमा हुँदैन,“ भण्डारीले भने, “मतगणना गर्ने बेलामा दलका प्रतिनिधिहरूले आफ्नो लाहाछाप ठीक छ कि छैन भनेर हेरेर मुचुल्का बनाएपछि मात्र मतगणना सुरु हुन्छ । त्यसैले यस्ता शंका र उपशंकामा कुनै सत्यता छैन ।“ दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गर्न लागिएको भन्दै उनले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरे ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।