काठमाडौं । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा लगाइएको तालाबन्दी खुलेको छ। एन्फा र नेपाल फुटबल खेलाडी संघबीच मंगलबार भएको वार्तापछि तालाबन्दी खोलिएको हो।
यसअघि आइतबार नेपाल फुटबल खेलाडी संघले तीन बुँदे माग राख्दै एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो। सहमतिपछि मंगलबार नै मुख्यालयको ताला खोलिएको हो।
वार्तामा सहिद स्मारक ‘ए’ डिभिजन लिग आउँदो चैत ३० गतेदेखि सुरु गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। साथै आगामी मंसिरभित्र ‘बी’ डिभिजन र ‘सी’ डिभिजन लिग पनि सम्पन्न गर्ने सहमति भएको छ।
खेलाडी संघले उठाएको खेलाडी अक्षय कोषमा रकम जम्मा गर्ने मागमा पनि सहमति जुटेको छ। सहमतिअनुसार उक्त कोषमा आवश्यक रकम सकेसम्म चाँडो जम्मा गरिने बताइएको छ।
त्यस्तै खेलाडीहरूले लामो समयदेखि पाउन बाँकी पुरस्कार रकम पनि उपलब्ध गराउने सहमति भएको छ। प्रवक्ता शाहका अनुसार घोषणा गरिएको पुरस्कारमध्ये पहिलो किस्ता चैतभित्र उपलब्ध गराइनेछ भने बाँकी रकम क्रमशः दिँदै जानेछ।
यसअघि खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा करिब तीन दर्जन खेलाडी एन्फा मुख्यालय पुगेका थिए। उनीहरूले तीन वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति तोक्नुपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने तथा नौ वर्षदेखि बाँकी रहेको पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग गरेका थिए।
खेलाडीहरूको मागबारे छलफल गर्न एन्फा नेतृत्व उपस्थित नभएपछि उनीहरूले मुख्यालयमा तालाबन्दी गरेका थिए। खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फाले लिग सुरु गर्ने मिति तोकेको बताए। उनका अनुसार ए डिभिजन लिग सुरु नभएको एक हजार दिनभन्दा बढी भइसकेको छ।
एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रका अनुसार सहमतिअनुसार चैत ३० गते उद्घाटन खेल आयोजना गरिनेछ। त्यसपछि वैशाख २० गतेदेखि नियमित रूपमा लिगका खेल सञ्चालन गर्ने तयारी गरिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



































