काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना भइसक्दा संघीय संसद्मा प्रत्यक्षतर्फ चुनाव भएका १६५ क्षेत्रबाट ४० वर्षसम्मका युवाको ३७% प्रतिनिधित्व हुने भएको छ ।
प्रत्यक्षतर्फ चुनाव जितेका ६ दलमध्ये ५ दलबाट ६१ जना युवाले संसद्मा प्रतिनिधित्व गर्ने भएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेका ७ जनामध्ये ४० वर्षसम्मको उमेर समूहका केही छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित १२५ जनामध्ये ५२ जना, कांग्रेसबाट निर्वाचित १८ जनामध्ये ५ जना, एमालेबाट निर्वाचित ९ जनामध्ये २ जना, श्रम संस्कृति पार्टीबाट निर्वाचित ३ जनामध्ये १ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित १ जना ४० वर्षसम्म उमेर समूहका छन् ।
रास्वपा वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका दाबेदार बालेन्द्र शाह ‘बालेन’ समेत यसै उमेर समूहका छन् । झापा–५ बाट निर्वाचित उनी ३६ वर्षका हुन् । सरसफाई अभियन्ता हुँदै युवा अभियानमा सक्रिय २६ वर्षीय केपी खनाल कैलाली–२ बाट निर्वाचित भएका छन् । उनी सबैभन्दा कान्छा छन् ।
जेनजी आन्दोलनको सफलतापछि घोषणा भएको चुनावमा युवाहरूको उल्लेख्य आकर्षण निर्वाचन परिणाममा समेत प्रतिबिम्बित भएको छ । नेपाली संसद्मा युवाको प्रतिनिधित्व इतिहासमै सबैभन्दा बढी हुने भएको छ ।
प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट निर्वाचित ४० वर्षसम्मका सांसदहरूको दलगत विवरण
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































