इनिसा वि.क हत्या प्रकरण : दोषीलाई कडा कारबाहीको माग

काठमाडौं । सुर्खेतमा १६ वर्षीय किशोरी इनिसा वि.क मृत अवस्थामा फेला परेपछि देशभर आक्रोश र चिन्ता बढेको छ ।

घटनापछि परिवार तथा स्थानीयवासीले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । यस घटनाले फेरि एकपटक नेपालमा नाबालिका तथा किशोरीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा हाल वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । उनि कक्षा ११ मा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी फागुन २३ गते बिहान “ट्युसन पढ्न जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् । लामो समयसम्म घर नफर्किएपछि परिवार चिन्तित बनेको थियो । आमाले फोन गर्दा मोबाइल बन्द आएको बताइएको छ । केही समयपछि भने अन्जान नम्बरबाट फोन आएर “तपाईंकी छोरी सुर्खेतको सहिद पार्कमा बेहोस अवस्थामा छिन्” भन्ने जानकारी दिएको परिवारले जनाएको छ ।

खबर पाएपछि आमा घटनास्थल पुगेकी थिइन् । त्यहाँ पुग्दा छोरी रगतले लतपतिएको अवस्थामा देखेपछि उनी बेहोस भइन् । त्यसपछि प्रहरीले इनिसालाई उपचारका लागि सुर्खेतको काला गाउँस्थित प्रदेश अस्पताल पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो ।

प्रहरीका अनुसार वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो । आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोनजंग बुढथापाले जानकारी दिएका छन् । प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका क्रममा फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग लिइएको छ । सुर्खेत प्रहरीले घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर पुगिसक्ने प्रहरीले जनाएको छ ।

यसैबीच इनिसा विकको न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारीलाई कारबाही गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘जात व्यवस्था मुर्दावाद’ र ‘पितृसत्ता मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीहरूले दोषीमाथि कडा कारबाही र निष्पक्ष अनुसन्धानको माग गरेका छन् । प्रहरीका अनुसार हालसम्म परिवारजनले मृतकको शव बुझिसकेका छैनन् । घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान आफन्तहरूले लिएका छन्।

नेपालमा पछिल्ला वर्षहरूमा नाबालिका तथा किशोरीमाथि हुने हिंसा र हत्या घटनाहरूले समाजलाई पटक–पटक झस्काइरहेका छन् । निर्मला पन्त, अङ्गिरा पासी, भागरथी भट्ट, सालिना पोखरेल, आरती भट्टराई, निशा तामाङ, अंशु गौतम, माया बिक र रश्मिता परियार जस्ता घटनाहरूले पनि समाजमा गहिरो चिन्ता पैदा गरेका थिए । यी घटनाले न्याय, सुरक्षा र राज्यको जिम्मेवारीबारे निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

हरेक पटक यस्ता घटना भएपछि देशभर आक्रोश फैलिन्छ, निष्पक्ष छानबिनको माग उठ्छ र सरकारले अनुसन्धान गर्ने आश्वासन दिन्छ । तर समय बित्दै जाँदा धेरै घटनाहरू सार्वजनिक बहसबाट क्रमशः ओझेलमा पर्ने गरेको गुनासो नागरिक समाजले गर्दै आएको छ । पीडित परिवारका लागि भने न्यायको प्रतीक्षा वर्षौँसम्म लम्बिने अवस्था बन्ने गरेको छ ।

सरोकारवालाहरूका अनुसार यस्ता घटनालाई केवल व्यक्तिगत अपराधका रूपमा मात्र नभई सामाजिक संरचना, कानुनी प्रक्रिया, अनुसन्धान प्रणाली र सामाजिक चेतनासँग जोडेर हेर्न आवश्यक छ । अपराधी जोसुकै भए पनि समयमै निष्पक्ष अनुसन्धान गरी कडा भन्दा कडा कारबाही गर्न सके मात्र भविष्यमा यस्ता अपराध रोक्न सकिने उनीहरूको भनाइ छ ।