जनकपुर । सडक डिभिजन जनकपुरले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म आफ्नो कार्यक्षेत्रभित्र रहेका चालु ठेक्काहरूलाई प्रचलित ऐन–कानुनका आधारमा समयमै सम्पन्न वा आवश्यकतानुसार अन्त्य गर्ने दिशामा पहल गर्दै आएको जनाएको छ ।
डिभिजनका अनुसार गत आर्थिक वर्षमा चालु ठेक्काहरूको भौतिक प्रगति करिब ८५ प्रतिशत पुगेको थियो भने चालु आर्थिक वर्षमा हालसम्म करिब ४० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । यद्यपि चालु आर्थिक वर्षको अन्त्यसम्ममा ती योजनाहरूलाई शतप्रतिशत नजिक पुर्याउने लक्ष्य राखिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजन जनकपुरले सम्बन्धित निकायसँग समन्वय गरी मधेश प्रदेशमै पहिलो पटक आकाशे पुल निर्माणको योजना गत आर्थिक वर्षदेखि सुरु गरेको छ । हालसम्म उक्त आयोजनामा सन्तोषजनक प्रगति भएको र पर्याप्त बजेट व्यवस्थापन भए चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । यसैबीच, डिभिजनको कार्यक्षेत्रभित्र पर्ने जनकपुर उपमहानगरपालिकाको बाबा पेट्रोल पम्प र रामानन्द चोक क्षेत्रमा विगतमा बारम्बार सडक दुर्घटना भई मानवीय क्षति हुने गरेको थियो । सो समस्या न्यूनीकरण गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा नयाँ ट्राफिक सुरक्षा योजना अन्तर्गत आधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ ।

नेपालभित्र काठमाडौँ उपत्यकाबाहिर कमै प्रयोग भएको उक्त प्रविधि प्रयोगमा ल्याइएपछि स्थानीय क्षेत्रमा सडक दुर्घटना घटेको सडक डिभिजन जनकपुरका प्रमुख सि.डि.ई दारोगा प्रसादले जानकारी दिए । उनका अनुसार करिब दुई महिनाको अवधिमा उक्त क्षेत्रमा गम्भीर प्रकृतिका सडक दुर्घटना नभएको पाइएको छ । स्थानीय स्तरमा यस योजनाको सकारात्मक प्रभाव देखिएपछि सर्वत्र प्रशंसा भइरहेको उनले बताए । साथै यस पहलले जनकपुर क्षेत्रमा सडक विभागको छवि सुधार्नसमेत सहयोग पुगेको उनको भनाइ छ ।





































