ढिलाइमा ‘अरुण–जरायोटार’ लिफ्टिङ खानेपानी आयोजना, स्थानीयमा चिन्ता

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका सुख्खाग्रस्त बस्तीमा खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको ‘अरुण–जरायोटार लिफ्टिङ’ खानेपानी आयोजना निर्धारित समयमै सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

आर्थिक वर्ष २०७६/७७ बाट थालिएको भएको आयोजना हालसम्म पूर्णता पाउन नसक्दा लक्षित बस्तीमा चिन्ता बढ्दै गएको हो । सदरमुकामबाट पूर्वतर्फ पर्ने अरुण गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रलाई लक्षित गर्दै आयोजना सुरु गरिएको हो । अरुण ६ जरायोटार र अरुण ७ सिक्रेटारका ७३३ परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यसहित योजना अघि बढाइएको थियो । खानेपानी आयोजनाको काममा ढिलाइ हुँदा स्थानीयबासी समस्यामा रहेको अरुण–६ का वडाध्यक्ष गणेश राईले बताए ।

निर्माण उपभोक्ता समितिका अनुसार करिब रु १९ करोड लागत अनुमान गरिएको यो आयोजना क्रमागत योजनाका रूपमा सञ्चालन भइरहेको छ । न्यून बजेट विनियोजन हुँदा काममा ढिलाइ भएको निर्माण उपभोक्ता समितिको भनाइ छ । हाल मुख्य लाइनमा पाइप बिछ्याउने र मुख्य ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अन्य संरचना निर्माण र वितरण प्रणाली विस्तारमा भने पर्याप्त बजेट नआउँदा प्रगति सुस्त छ ।

उपभोक्ता समितिका अध्यक्ष सविनकुमार राईले पर्याप्त बजेट अभावकै कारण कामलाई गति दिन नसकिएको बताए । “न्यून बजेट विनियोजन हुँदा निर्माणले अपेक्षित गति लिन सकेको छैन,” उनले भने, “यही अवस्था रहे आयोजना अलपत्र पर्ने चिन्ता बढेको छ । पर्याप्त बजेट उपलब्ध भए काम सम्पन्न गर्न कुनै समस्या हुँदैन ।” स्थानीय कलाकुमारी भुजेलका अनुसार सुख्खाग्रस्त क्षेत्र भएकाले यहाँका बासिन्दाले पिउने पानीको जोहो गर्न निकै सास्ती खेप्नुपरेको छ ।

“योजना सुरु हुँदा हामी निकै उत्साहित थियौँ,” उनले भने, “तर यति लामो समयसम्म बस्तीमा पानी नआउँदा आशा मर्दै गएको छ । पानीको समस्या समाधान भए दैनिक जीवन निकै सहज हुने थियो ।” लक्षित समुदायको आधारभूत आवश्यकतासँग जोडिएको यस आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन र प्रभावकारी समन्वय आवश्यक रहेका स्थानीय जानकारको भनाइ छ ।