७० लाख घुस लिएको आरोपमा सहसचिव झलकरामविरुद्ध मुद्दा

काठमाडौं । राजस्व चुहावटको उजुरी मिलाइदिएबापत ७० लाख रुपैंया घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव झलकराम अधिकारीविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

उनी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला साउन, २०७९ मा घुस लिएको र त्यो रकम दोस्रो तहका मानिसहरु प्रयोग गरेर जग्गा खरिद र ऋण व्यवस्थापनमा काम गरेको अख्तियारको आरोप छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै सचिव हुने वरीयताक्रममा रहेका उनी निलम्बनमा परेका छन् ।

उनी यसअघि पनि पटकपटक विवादमा परेका सहसचिव हुन् । शक्ति र पहुँचका भरमा आकर्षक कार्यालयहरुमा पोस्टिङ हुने उनी त्यसक्रममा पटकपटक विवादमा परेका थिए । भदौ, २०८० मा उनी अध्यागमन विभागका महानिर्देशक थिए । सुन तस्करीमा मुछिएका चिनिया नागरिक दावा छिरिङसँग जोडिएको भेटिएपछि उनी महानिर्देशकबाट मन्त्रालयमा तानिएका थिए ।

चैत, २०८० मा सुन तस्करीबारे जाँचबुझ गर्न गठन भएको आयोगले उनलाई कारवाहीको सिफारिस गरेको थियो । दावा र उनीबीच विच्याट एपमा पटकपटक कुराकानी भएर सामान छाड्ने गरेको खुलेको थियो, उनी त्यतिबेला राजस्व अनुसन्धान विभागमै थिए ।

संसदीय छानबिन विशेष समितिले पनि झलकरामको भूमिकामा प्रश्न उठाएको थियो । उनी अध्यागमन विभागको महानिर्देशक हुँदा गरेको शंकास्पद गरिविधिका कारण जीवी राई नेपालबाट फरार हुने मौका पाएको उक्त प्रतिवेदनमा उल्लेख थियो । माघ, २०७५ मा पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा पनि उनी टेण्डरसम्बन्धी विवादमा मुछिएका थिए ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।