ओलीको बचाउमा सडकमा ओर्लियो एमाले

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा (एमाले) देशैभर आन्दोलनमा उत्रिएको छ।

शनिबार राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको छ। राजधानीमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति झनै जटिल बनेको छ। माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँ बानेश्वरतर्फ अघि बढ्दै गर्दा बबरमहल क्षेत्रमा प्रहरीसँग आमनेसामने भएको थियो।

प्रदर्शनकारीहरू बबरमहल हुँदै सिंहदरबार गेट नजिक पुग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न प्रयास गरेको थियो। प्रहरीले निषेधित क्षेत्रतर्फ अघि बढ्न नदिन चेतावनी दिए पनि प्रदर्शनकारीहरू अगाडि बढेपछि स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएको थियो। त्यसपछि प्रहरीले बल प्रयोग गर्दै लाठीचार्ज गरेको हो। लाठीचार्जसँगै केहीबेर उक्त क्षेत्र तनावग्रस्त बनेको थियो।

प्रहरीको लाठीचार्जपछि प्रदर्शनकारीहरू आक्रोशित बन्दै प्रतिकारमा उत्रिएका थिए। उनीहरूले प्रहरीतर्फ ढुंगा प्रहार गरेका थिए, जसका कारण दोहोरो झडपको अवस्था सिर्जना भएको थियो। केही समयसम्म बबरमहल–सिंहदरबार आसपासको क्षेत्र रणभूमिजस्तै बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। झडपका क्रममा एमालेका केही कार्यकर्ता घाइते भएका छन्।

घाइतेमध्ये केहीलाई सामान्य उपचारपछि घर पठाइएको छ भने केहीको अवस्था मध्यम रहेको बताइएको छ। यद्यपि घाइतेको यकिन संख्या भने खुलाइएको छैन। सुरक्षालाई ध्यानमा राख्दै सिंहदरबार, नयाँ बानेश्वर, बबरमहल लगायतका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलसमेत तैनाथ गरी सुरक्षा घेरा कडा पारिएको छ। प्रशासनले आवश्यक परे थप सुरक्षा बल परिचालन गर्ने तयारी समेत गरेको जनाएको छ।

उता, एमालेले आफ्ना शीर्ष नेतामाथि गरिएको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ। पार्टी नेतृत्वले शान्तिपूर्ण विरोध कार्यक्रम जारी रहने बताए पनि कार्यकर्ताहरूको आक्रोशका कारण विभिन्न स्थानमा झडपका घटना सार्वजनिक भइरहेका छन्।काठमाडौंबाहेक पोखरा, बिराटनगर, नेपालगञ्ज, बुटवल लगायतका शहरहरूमा पनि विरोध प्रदर्शन भएका छन्। कतिपय स्थानमा प्रदर्शन शान्तिपूर्ण रहे पनि केही ठाउँमा प्रहरीसँग सामान्य धकेलाधकेल र तनावका घटना देखिएको स्थानीय प्रशासनले जनाएको छ। सरकारले भने कानूनअनुसार कारबाही गरिएको दाबी गर्दै सार्वजनिक शान्ति भंग गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ। गृह प्रशासनले प्रदर्शन शान्तिपूर्ण राख्न आग्रह गर्दै निषेधित क्षेत्र उल्लंघन नगर्न चेतावनी दिएको छ। राजनीतिक रूपमा संवेदनशील बन्दै गएको यस घटनाक्रमले देशको समग्र शान्ति सुरक्षा अवस्थामाथि चुनौती थपिएको देखिन्छ। आगामी दिनमा आन्दोलन थप चर्किने संकेत देखिएकाले सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन्।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।