काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी १० वैशाखदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहल मा आयोजना हुने प्रतियोगितालाई नेपाली भलिबलको सबैभन्दा ठूलो घरेलु लिगका रूपमा लिइएको छ।
प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कुल १४ टोली सहभागी हुनेछन्। पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम भलिबल टोली, कोशी प्रदेश र बुढानिलकण्ठ क्लबले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिलातर्फ न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, नेपाल प्रहरी महिला टोली, एपीएफ महिला टोली, सुदूरपश्चिम प्रदेश, एभरेष्ट क्लब र त्रिभुवन आर्मी महिला टोली सहभागी रहनेछन्।
यस प्रतियोगिताको विशेषता भनेको महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राशि राखिनु हो। दुवै विधाका विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। आयोजकका अनुसार यो नेपाली भलिबल इतिहासमै अहिलेसम्मकै उच्च नगद पुरस्कार भएको प्रतियोगिता हो।
व्यक्तिगततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। महिला र पुरुष दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ। यसले खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई थप प्रेरणा दिने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी टोलीहरू एनभीए च्याम्पियनसिपमार्फत छनोट भएका हुन्। प्रत्येक टोलीले बढीमा ३ जना विदेशी खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरिएको छ, जसले प्रतियोगिताको स्तर अझै प्रतिस्पर्धात्मक बनाउने विश्वास गरिएको छ।
आयोजकले प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। खर्च व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करिब २७ लाख रुपैयाँ सहयोग गर्नेछ भने बाँकी रकम टिकट बिक्री, प्रायोजन र प्रसारण अधिकारबाट जुटाइने योजना रहेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन ले गर्नेछ।
खेलाडीहरूको सुविधालाई ध्यानमा राख्दै काठमाडौं उपत्यका बाहिरबाट आउने खेलाडीलाई दैनिक १२०० रुपैयाँ र उपत्यकाभित्रका खेलाडीलाई ३०० रुपैयाँ खाजा खर्च उपलब्ध गराइनेछ। यसले सहभागी टोलीहरूको व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
एनभीएका अध्यक्ष जितेन्द्र बहादुर चन्द ले प्रतियोगिताले नेपाली भलिबललाई व्यावसायिकता तर्फ अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनले यस्तो उच्च पुरस्कार राशिको प्रतियोगिताले क्लब र खेलाडी दुवैलाई प्रोत्साहन मिल्ने बताए।
समग्रमा, पीएम कप एनभीए भलिबल लिग नेपाली भलिबलको स्तर उकास्ने, नयाँ प्रतिभा उत्पादन गर्ने र खेललाई व्यावसायिक बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































