दोस्रो शिकार यामका रूपमा मानिएको फागुनदेखि वैशाखसम्म शिकार खेल्न केही शिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी शिकारी नेपाल आउने तयारीमा रहेका ढोरपाटन शिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए । उनका अनुसार यस वर्षको दोस्रो याममा १३ बनेलको समेत शिकार गर्न अनुमति दिइएको छ ।
ढोरपाटन आरक्षले विभिन्न शिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा शिकार गर्न दिइएकामा अहिले ग्लोबल सफारी प्रालिमार्फत आएका अमेरिकी नागरिकले एक नाउर र एक झारल शिकार खेलेर फर्किएका जनाउँदै रेञ्जर सुवेदीले हिमालयन सफारी नेपालमार्फत आएका अमेरिकन र डेनिस नागरिक ढोरपाटन क्षेत्रमा शिकार खेल्न व्यस्त रहेका बताए ।
‘विदेशी शिकारीले नाउर र झारलको शिकारका लागि प्रतिस्पर्धाका आधारमा राजस्व बुझाएर अनुमति लिन्छन् । दोस्रो यामको शिकार चलिरहेकाले आरक्षका कर्मचारी र नेपाली सेना शिकार ब्लकमा शिकारीसँग आवश्यक सामग्री व्यवस्थापनमा व्यस्त छन्,’ रेञ्जर सुवेदीले भने । उनका अनुसार दोस्रो याममा हिमालयन वाइल्डलाइफ आउट फिटरमार्फत डेनिस नागरिकले १ नाउर, १ झारल र १ बनेल शिकार खेल्न अनुमति पाएका छन् ।
ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक प्रालिमार्फत अमेरिका, बेल्जियम र फ्रान्सका नागरिकले सुनदह र सेङ ब्लकमा ३ नाउर, २ झारल र १ बनेल शिकारको अनुमति पाएका छन् । नेपाल ट्राभल एक्पेडिसन प्रालिमार्फत घुस्तुङ ब्लकमा ३ नाउर, ३ झारल र ३ बनेल शिकार खेल्न रसियन, अफ्रिकन र फ्रान्सका नागरिकले शिकार खेल्ने अनुमति पाएसँगै तयारीसहित नेपाल आउन लागेका रेञ्जर सुवेदीले जानकारी दिए ।
ग्लोबल सफारिज प्रालिमार्फत सुनदह र दोगाडी ब्लकमा अमेरिका, डेनिस नागरिकले ४ नाउर, २ झारल र ४ बनेलको शिकार गर्न अनुमति पाएका छन् भने हिमालयन सफारिज नेपाल प्रालिमार्फत अमेरिकी नागरिकले २ नाउर, १ झारल र २ बनेल शिकारको अनुमति पाएकामा १ नाउर र १ झारलको शिकार भइसकेको छ ।
ट्रेक एण्ड देलर्स प्रालिमार्फत स्पेनी नागरिकले १ झारल, १ नाउर र १ बनेल शिकारको अनुमति पाएका सुवेदीले बताए । उनका अनुसार चालु आर्थिक वर्षको पहिलो शिकारयाममा ३ करोड ३ लाख राजस्व संकलन भएकोमा दोस्रो शिकारयामका लागि शिकारी आउनेक्रम जारी रहेकाले राजस्व संकलनको काम भइरहेको छ ।
रेञ्जर सुवेदीले भने, ‘१४ नाउर, १० झारल र १३ बनेलको शिकार खेल्न विभागले अनुमति दिएकोमा अहिलेसम्म १ नाउर र १ झारलको शिकार भइसकेको छ । अन्य केही शिकारी शिकार खेल्न व्यस्त छन् भने केही शिकारी नेपाल आउने क्रममा छन् ।’
पहिलो शिकार याममा एउटै नाउरबाट १९ लाख र झारलबाट १८ लाखसम्म राजस्व संकलन भएको जनाउँदै उनले दोस्रो यामका लागि कम मूल्यमा शिकार अनुमति दिइए पनि शिकारी आउनेक्रम जारी रहेकाले शिकारयाम सकिएपछि मात्रै राजस्व संकलनको वास्तविक विवरण आउने बताए ।
शिकारी बन्दोबस्तीका सामग्रीसहित गत फागुन दोस्रो सातादेखि नेपाल आउन थालेका छन् । विदेशी शिकारी हेलिकप्टरमार्फत सोझै शिकार ब्लकमा पुग्ने गरेका छन् । शिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी शिकारीसँग खटिने गरेका रेञ्जर सुवेदीले बताए । उनका अनुसार विभागले हरेक वर्ष नाउर र झारलको शिकारका लागि कोटा निर्धारण गरी अनुमति दिने गर्दछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो शिकारयाम असोज–मंसिर र दोस्रो शिकारयाम फागुन–वैशाख गरी २ चरणमा शिकार हुँदै आएको छ । ‘विदेशी शिकारी सहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा शिकार खेलिसक्नुपर्ने हुन्छ । जंगलमा बास बस्ने शिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै शिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बन्दै आएको छ,’ उनले भने ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकारयाममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्दछ । नाउर र झारलको मूल्य, ब्लकको अग्रिम भुक्तानी, अनुपति (लाइसेन्स), हेलिकप्टर लगायत बन्दोबस्तीको सामग्री तयार गर्दा १ जना शिकारीको करीब ३०–३५ लाखसम्म खर्च हुने गरेको रेञ्जर सुवेदीले जानकारी दिए ।
विदेशी तथा आर्थिक अवस्था सबल भएकाको रोजाइमा मात्रै पर्दै आएको शिकार खेल्ने अवसर नेपालीले भने पाएका छैनन् । शिकार आरक्षको सुरक्षा विक्रम संवत् २०७३ सालदेखि नेपाली सेनाले गर्दै आएको छ । विक्रम संवत् २०४४ सालमा स्थापना भएको शिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ भने यसको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । (रासस)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































