प्रधानमन्त्री कप क्रिकेट : आर्मी अपराजित रहँदै शीर्षमा, गण्डकीको पहिलो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता मा आइतबार भएका खेलहरूमा त्रिभुवन आर्मी क्लब ले आफ्नो अपराजित यात्रा कायम राख्दा गण्डकी प्रदेश ले पहिलो जित दर्ता गरेको छ।

मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेश लाई ३ विकेटले पराजित गर्‍यो। वर्षाका कारण २८ ओभरमा सीमित खेलमा बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले अन्तिम ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

आर्मीको जितमा कुशल मल्ल ले ५८ बलमा अविजित ९० रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे, जसमा उनले ८ छक्का प्रहार गरे। त्यस्तै तृतराज दास ले ५४ रन जोड्दै टोलीलाई बलियो सुरुवात दिलाए। बलिङतर्फ आर्मीका नरेन साउद ले ४ विकेट लिए।

यसअघि ब्याटिङ गरेको बागमतीले २८ ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो। बागमतीका लागि आशुतोष घिरैया ले ३८ रन, पवन थापा ले ३५ रन बनाउँदा विवेक मगर र सोनु देवकोटा ले समान ३०–३० रन जोडे। बलिङमा इशान पाण्डे र विवेक मगरले २–२ विकेट लिए।

यस जितसँगै आर्मी ४ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ र हालसम्म अपराजित रहने एक मात्र टोली बनेको छ। यता तल्लो मूलपानी मैदानमा भएको अर्को खेलमा गण्डकी प्रदेशले नेपाल एपीएफ क्लब लाई ४३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्‍यो। वर्षाका कारण २१ ओभरमा सीमित खेलमा गण्डकीले ७ विकेट गुमाएर १५० रन बनाएको थियो।

गण्डकीका लागि गौरव विके ले ३७ रन र दीपक डुम्रे ले ३४ रन बनाए भने कप्तान विपिन खत्रीले अविजित २० रन जोडे। जवाफमा एपीएफ १८.३ ओभरमा १०७ रनमै अलआउट भयो। एपीएफका लागि सुमित महर्जन ले सर्वाधिक २२ रन बनाए । गण्डकीको जितमा अपराजित पौडेल र सिब्रिन श्रेष्ठ ले समान ३–३ विकेट लिए भने सुवास भण्डारी ले २ विकेट लिए।

जितसँगै गण्डकीले ४ खेलबाट ३ अंक जोडेको छ भने एपीएफ पनि समान ३ अंकमै रहेको छ। पराजित बागमती २ अंकमा सीमित छ। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको छ र विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।