हल्का कपडामा सुत्दा राम्रो निद्रा : विशेषज्ञको सुझाव

एटलन्टा । सुत्दा अत्यधिक तातोपनाले निद्रा बिग्रिने भएकाले शरीरलाई चिसो राख्ने तरिका अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन् । उनीहरूका अनुसार सुत्दा लगाउने कपडाले पनि निद्राको गुणस्तरमा महत्वपूर्ण प्रभाव पार्न सक्छ ।

राष्ट्रिय निद्रा प्रतिष्ठानका अनुसन्धान तथा वैज्ञानिक मामिला सम्बन्धी वरिष्ठ उपाध्यक्ष जोसेफ ड्जिरजेव्स्कीका अनुसार तापक्रम निद्रामा प्रभाव पार्ने तर कम महत्व दिइने कारक हो । उनका अनुसार सुत्ने क्रममा शरीरको भित्री तापक्रम करिब १ देखि २ डिग्री फारेनहाइट (झण्डै ०.६ देखि १ डिग्री सेल्सियस) ले घट्छ, तर यो प्रक्रिया अवरुद्ध भएमा निद्रा टुक्राटुक्रा हुन सक्छ ।

उनले आरामदायक सुत्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै शरीरमा ताप अड्किन नदिन हल्का कपडा वा आवश्यक परे नाङ्गै सुत्न सकिने बताए । पसिना सोस्ने र सास फेर्न मिल्ने कपडाले पनि शरीरलाई चिसो राख्न सहयोग गर्ने उनले बताए ।

विशेषज्ञहरूका अनुसार कोठाको तापक्रम करिब १५ देखि १९ डिग्री सेल्सियस राख्नु उपयुक्त मानिन्छ । साथै, हावामा धेरै आद्र्रता हुँदा शरीर चिसिन कठिन हुने भएकाले ओछ्यान र कपडामा उपयुक्त सामग्री प्रयोग गर्न सुझाव दिइएको छ । तापक्रम रातभरि स्थिर राख्नु पनि आवश्यक रहेको बताए ।

यसका साथै, सुत्नुअघि हातखुट्टा न्यानो बनाउँदा शरीरले ताप छिटो बाहिर निकाल्न सक्ने र छिटो निदाउन सहयोग पुग्ने पनि उल्लेख गरिएको छ ।

तापक्रमले प्रजनन स्वास्थ्यमा समेत प्रभाव पार्ने विशेषज्ञहरूको भनाइ छ । मूत्ररोग विशेषज्ञ डाक्टर जामिन ब्राह्मभट्टका अनुसार अण्डकोषको तापक्रम शरीरभन्दा कम हुनु आवश्यक हुन्छ, र अत्यधिक कसिलो भित्री कपडाले ताप बढाएर शुक्राणु उत्पादनमा असर गर्न सक्छ । ढिलो कपडा लगाउने पुरुषहरूमा शुक्राणुको मात्रा बढी हुने अध्ययनले देखाएको उनले बताए ।

राम्रो निद्राले हर्मोन सन्तुलनमा पनि सकारात्मक प्रभाव पार्ने र पुरुषहरूमा टेस्टोस्टेरोन उत्पादन सुधार हुने उल्लेख गरिएको छ । गहिरो र आरामदायक निद्राले ऊर्जा, मनोदशा र यौन क्षमतामा सुधार ल्याउने बताइएको छ ।

सम्बन्ध विशेषज्ञ इयान कर्नरका अनुसार जोडीबीच छालासँग छाला जोडिने सम्पर्कले भावनात्मक नजिकिन बढाउन मद्दत गर्छ । नाङ्गै वा कम कपडामा सुत्दा यस्तो सम्पर्क सहज हुने र सम्बन्ध सुदृढ हुन सक्ने उनले बताए ।

उनका अनुसार नाङ्गै सुत्नु अनिवार्य नभए पनि यसले जोडीबीच नजिकिन र सम्बन्ध सुधार गर्ने अवसर दिन सक्छ । यसअघि जोडीसँग सहमति र संवाद आवश्यक हुने उनले सुझाव दिएका छन् ।

विशेषज्ञहरूको निष्कर्ष अनुसार शरीरलाई चिसो राखेर सुत्दा राम्रो निद्रा, स्वास्थ्यमा सुधार र सम्बन्धमा नजिकिन अनुभव गर्न सकिन्छ । साथै, नाङ्गै सुत्ने अवस्थामा आकस्मिक परिस्थितिका लागि नजिकै कपडा राख्न र ओछ्यान सफा राख्न पनि सुझाव दिइएको छ ।