ई–बिडिङमा घोटाला : नासु जेल चलान, पूर्वमन्त्री पाण्डे ४ लाख धरौटीमा रिहा

काठमाडौं । ई–बिडिङ प्रकरणमा मुद्दा चलाइएक मध्ये एक सरकारी कर्मचारी तथा क्युटर अपरेटर नासु दिवाकर देउजा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

राप्रपा नेता विक्रम पाण्डेसहित ११ जनालाई भने धरौटीमा छाड्न आदेश भएको छ। सीआईबीले यो प्रकरणमा २२ जनालाई मुद्दा चलाएकोमा १० जना फरार थिए । कालिका कन्ट्रक्सनका सञ्चालक तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष, पूर्वमन्त्री विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

त्यस्तै प्रकाश ढुंगानालाई ४ लाख, सञ्जय भट्टलाई १० लाख, जीवनकुमार दासलाई ५ लाख, अमृत बोहोरालाई ४ लाख धरौटीमा छाड्न आदेश भएको छ । सागर कटुवाललाई ५ लाख, अनिल श्रेष्ठलाई ४ लाख, भाष्कर राज अर्याललाई १० लाख, टंककुमार श्रेष्ठलाई ४ लाख, स्वदेश पोखरेललाई ४ लाख र ऋषिकेश गौलीलाई ४ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

सरोज दाहाल, शान्तकुमार श्रेष्ठ, कृष्णबहादुर खत्री, निरन्जन खनाल, इन्द्रबहादुर बोहोरा, ज्योति सुवेदी, सुजन अधिकारी, भरत धामी, राहुल जंग कार्की, नारायणप्रसाद सिटिखुलाई प्रतिवादी बनाइएको थियो । उनीहरू भने फरार छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गमर्भेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको थियो ।ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन हुने गरेको बताइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा यो ठूलो संगठित अपराध रहेको खुलेपछि यसको अनुसन्धान साइबर ब्युरोभन्दा माथिल्लो निकाय सीआईबीले सुरु गरेको थियो ।

कर्मचारी देउजाले बोलपत्रको अन्तिम समय सकिएपछि अनधिकृत रूपमा पहुँच पु‍र्‍याएर सबैको विवरण हेर्ने र आफ्नो बोलपत्र प्रस्ताव स्वीकृत गर्न संशोधन गरी सबैभन्दा कम मूल्य राख्ने र टेन्डर हात पार्ने गरेको अनुसन्धानबाट देखिएको एक अधिकारीले बताए । यसका लागि ठेकेदार कम्पनीहरूसँग सम्पर्क गर्ने र बार्गेनिङ गरेर रकममा कुरा मिलेपछि अनलाइन बोलपत्रमा पहुँच पुर्‍याएर विवरण संशोधन गर्दै ठेक्का हत्याउने गरेको सीआईबीको भनाइ छ । यसका मुख्य नाइके नै देउजा रहेको प्रहरीले बताएको छ ।

देउजाले प्राग्रामिङ, क्लाउड सर्भर र पीएचपी प्रयोग गरी आईएमएस सर्भर ह्याक गर्ने र ब्याकडोर सिर्जना गर्ने मुख्य काम गरेको सीआईबीले बताएको छ । उनले सञ्चालक व्यवस्थापकको रूपमा जीवन लिम्बु नक्कली पात्र खडा गरी ठेकेदारहरूसँग ह्वाट्स एपममा सम्पर्क गर्ने, इमेलमार्फत बार्गेनिङ गर्ने र ठेक्का मिलाइदिने प्रलोभन देखाएको पाइएको छ ।

अर्का प्रतिवादी भाष्करराज अर्याल पनि कम्युटर इन्जिनियर रहेको र उनले बिटक्वाइनमार्फत कारोबारका लागि अमेरिकामा बसेका साथीमार्फत भुक्तानी गर्ने र नेपालमा नगदमा मिलान गर्ने गरेको प्रहरीले बताएको छ । यो प्रकरणमा जोडिएका मुख्य व्यक्ति देउजा यसअघि ३१ असार २०७७ पक्राउ परेका थिए । त्यतिबेला नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टम ह्याक गरी प्याकेज प्रयोग तथा बिक्री गरेर टेलिकमको राजस्व तथा व्यावसायिक छविमा गम्भीर क्षति पुर्‍याएको भन्दै देउजालाई सीआईबीले पक्राउ गरेको थियो ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।