सरकारी अस्पतालका महँगा उपकरणमा माकुराको जालो

काठमाडौँ । ठूला सरकारी अस्पतालमा रहेका महँगा उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन् ।

स्वास्थ्य परीक्षण गर्न नागरिकहरु लामो समय कुर्नुपर्ने बाध्यता रहेको अवस्थामा ठूला सरकारी अस्पतालमा रहेका महँगा स्वास्थ्य उपकरणहररू प्रयोगविहीन अवस्थामा रहेका पाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार पेश गरिएको महालेखा परीक्षकको ६३ औँ बार्षिक प्रतिवेदनले विशिष्टीकृत स्वास्थ्य सेवा दिने ठूला सरकारी अस्पतालमा रहेका अत्याधुनिक स्वास्थ्य उपकरणहरु प्रयोग नगरेको विवरण देखिएको हो।

भएका उपकरण नचल्दा ती सेवाका लागि नागरिकहरु महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा सेवा लिन जान बाध्य छन् भने अर्कातिर सरकारको लगानी खेर गइरहेको छ। यस्तो अवस्थामा भएका उपकरणहरू पनि किन प्रयोग गर्दैनन् त सरकारी अस्पतालहरु भन्ने विषयमा भने अस्पतालले जनशक्ति अभावमा त्यस्ता मेसिन तथा उपकरण सञ्चालन नगरेको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा धेरै भीड लाग्ने, ट्रमा सेन्टर, भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जस्ता ठूला अस्पतालमा दैनिक विरामीको रोग निदानमा आवश्यक पर्ने अत्याधुनिक उपकरण प्रयोगमा हैन माकुरोको जालोमा रहेका छन्।

उक्त प्रतिवेदन अनुसार हाल दक्ष जनशक्तिको अभावमा राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख ८२ हजार मूल्यको क्याथ ल्याब मेसिन २०७२ सालदेखि उपयोगविहीन छ। सोही सेन्टरमा २४ करोड ७७ लाख ९ हजार मूल्यका सीटीस्क्यान सिस्टम, १४ थान भेन्टिलेटर, ५ थान लिड ईसीजी केवुल ३०० सेट पनि प्रयोगविहीन अवस्थामा छन्। त्यसै उपत्यकाबाहिर सबैभन्दा धेरै विशिष्टीकृत सेवा दिने भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापनाकालदेखि क्यान्सर उपचारमा प्रयोग हुँदै आएको टेलिथेरापी मेसिन ४ वर्षदेखि पूर्णरूपमा उपयोगविहीन अवस्थामा रहेको छ। यो अस्पतालको बङ्करमा राखिएको उक्त मेसिनभित्र रहेको रेडियोधर्मी स्रोतको आयु सकिँदै गएको र यसको विकिरणको जोखिम कायमै रहने जोखिम रहेको छ।

यस्तै मधेश प्रदेशको गजेन्द्रनारायण सिंह अस्पतालमा र.४ करोड ९० लाख ९५ हजार मूल्यका एक्सरे मेसिन, इण्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलोजीलगायत उपकरण प्रयोगविहिन अवस्थामा छन्। सिंहदरबार वैद्यखाना विकास समितिमा रहेका सिङ्गल रोटरी ट्याब्लेटिङ मेसिन, एयर कम्प्रेसर, इन्कजेट कोडर, डबल कोन ब्लेन्डर, अटोमेटिक हाइस्पिड लेबलिङ मेसिन, ब्वायलर, क्लोड मिल, इलेक्ट्रिक ट्रे ड्रायर, रोटरी रनर खल, अटोमेटिक क्याप्सुल फिल मेसिन तथा पाउडर फिलिङ मेसिनलगायतका ६० प्रकारका मेसिन पनि त्यसै थन्किएका छन्।

यस्तै पानीपोखरीस्थित नेपाल प्रहरी अस्पतालमा १६ स्लाइस सिटी स्क्यान मेसिन, १.५ टेसलाको एमआरआई मेसिन उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन्। स्वास्थ्य सेवा विभागले यो वर्ष ९६५ हाइट बोर्ड र ९६५ थान इलेक्ट्रोनिक वेट स्केल खरिदमा ६ करोड ७३ लाख २१ हजार खर्च गरेकोमा गत विगतमै खरिद गरेको रु..६ करोड ५३ लाख ९९ हजारको १ हजार ३३६ इलेक्ट्रोनिक वेट स्केल (मदर/चाइल्ड) तथा रु..२ करोड ४२ लाख ५४ हजारका ७ प्रकारका १३३ थान मेसिन, उपकरण प्रयोगविहीन रहेका छन्। प्रतिवेदनमा यी सबै संस्थाहरुको मेसिन तथा उपकरणहरुको सञ्चालनका लागि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।