कफी पोखिएर घाइते प्रितीलाई कतार एयरवेजले साढे २ करोड क्षतिपूर्ति दिनुपर्ने

काठमाडौँ । जहाजभित्र चालक दलकै लापरवाहीका कारण तातो कफी पोखिँदा गम्भीर रूपमा घाइते भएकी यात्रु प्रिती थापाको पक्षमा उपभोक्ता अदालतले महत्वपूर्ण फैसला सुनाएको छ।

अदालतले कतार एयरवेजलाई थापालाई कुल २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो। यो निर्णयले हवाई यात्रामा यात्रु सुरक्षासम्बन्धी जिम्मेवारीलाई पुनः एकपटक गम्भीर रूपमा उजागर गरेको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार सुनाएको फैसलाअनुसार अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी :यलतचभब िऋयलखभलतष्यल अनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र नेपालकै कानुनअनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने ठहर गरिएको हो। अदालतले यात्रुको सुरक्षामा लापरवाही भएको स्पष्ट देखिएको भन्दै दुवै कानुनी आधारबाट क्षतिपूर्ति निर्धारण गरेको जनाएको छ।

ललितपुरकी प्रिती थापाले सन् २०२३ जुन १० मा कतार एयरवेजमार्फत काठमाडौंबाट दोहा हुँदै बोस्टन यात्रा गरेकी थिइन्। एक महिनापछि, जुलाई १० मा उनी बोस्टनबाट दोहा हुँदै काठमाडौं फर्किंदै गर्दा विमानमै उनलाई दिइएको तातो कफी अकस्मात् पोखिएको थियो। उक्त घटनामा उनको पेट, तिघ्रा तथा संवेदनशील अंगहरूमा गम्भीर जलन भएको थियो, जसले उनलाई तत्काल पीडादायी अवस्थामा पुर्‍यायो। विमान दोहामा अवतरण भएपछि उनलाई दोहास्थित आकस्मिक उपचार कक्षमा लगिएको थियो। त्यहाँ स्वास्थ्यकर्मीहरूले उनको शरीरमा दोस्रो तहको जलन भएको पुष्टि गरेका थिए। प्रारम्भिक उपचारपछि पनि उनको अवस्था पूर्ण रूपमा सुधार नभएपछि नेपाल फर्किएपछि उनलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा भर्ना गरेर थप उपचार गरिएको थियो।

घटनापछि थापाले सुरुवातमा एयरवेजसँग आन्तरिक रूपमा क्षतिपूर्ति माग गरेकी थिइन्। तर कम्पनीले उचित प्रतिक्रिया नदिएपछि उनले कानुनी बाटो रोज्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन्। उनले २० लाख अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरेकी थिइन्, जुन रकम नेपाली मुद्रामा निकै ठूलो हुने गर्दछ। अदालतको पछिल्लो फैसलाले अब कतार एयरवेजलाई कानुनी रूपमा क्षतिपूर्ति तिर्न बाध्य बनाएको छ। यदि कम्पनीले उक्त आदेश कार्यान्वयन नगर्ने निर्णय गर्छ भने, तोकिएको समयसीमाभित्र माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था पनि रहेको छ। तर हालका लागि भने अदालतको आदेश कार्यान्वयन गर्नु कम्पनीको दायित्व बनेको छ।

यो घटनाले हवाई सेवामा यात्रुको सुरक्षालाई कति गम्भीर रूपमा लिनुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ। सामान्य देखिने लापरवाहीले पनि यात्रुको जीवनमा गम्भीर असर पार्न सक्छ भन्ने कुरा यस घटनाले देखाएको छ। साथै, उपभोक्ता अधिकारको संरक्षणका लागि अदालतले दिएको यो फैसला अन्य पीडितहरूका लागि पनि उदाहरणीय बन्ने देखिन्छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।