ईयू राष्ट्रका राजदूतसँग आज प्रधानमन्त्रीको सामूहिक भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज मंगलबार नेपालस्थित युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा विभिन्न मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने कार्यक्रममा नेपाल र युरोपेली मुलुकबीचको सम्बन्ध, सहकार्य र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, विकास योजना, आर्थिक सहकार्य तथा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित संवाद हुनेछ । नेपाल र इयू सदस्य राष्ट्रबिच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार सामूहिक संवादमार्फत नेपालले अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा विकास साझेदारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ । विशेषगरी आर्थिक विकास, लगानी, सुशासन, जलवायु परिवर्तन, पूर्वाधार विकास र कूटनीतिक सहकार्यका विषयले प्राथमिकता पाउने सम्भावना रहेको छ । नेपाल र युरोपेली संघबिच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको छ ।

शिक्षा, स्वास्थ्य, लोकतन्त्र सुदृढीकरण, मानवअधिकार, दिगो विकास तथा ऊर्जा क्षेत्रमा इयूले नेपाललाई विभिन्न सहयोग गर्दै आएको छ । यही सन्दर्भमा प्रधानमन्त्री शाहको संवादलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । भेटमा नेपालका समसामयिक राजनीतिक, आर्थिक तथा विकाससम्बन्धी विषयमा छलफल भएको थियो ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।