काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिप २०२६ मा शानदार विजयी सुरुवात गरेको छ । सोमबार भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा भएको उद्घाटन तथा समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपालले भुटानलाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
नेपालको जितमा गीता रानाको गोल निर्णायक बन्यो । खेलको २३औँ मिनेटमा नेपालले अग्रता बनाएको थियो । दीपा शाहीको कर्नरपछि सिर्जना भएको अवसरमा गीता रानाले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार भुटानी खेलाडीको खुट्टामा डिफ्लेक्ट हुँदै पोस्टभित्र प्रवेश गरेको थियो । उक्त गोल नै खेलको निर्णयक गोल बन्यो ।
खेलको सुरुआतदेखि नै नेपालले आक्रामक प्रदर्शन गरेको थियो । मिडफिल्ड र विंगबाट लगातार दबाब बनाएको नेपालले पहिलो हाफमा केही उत्कृष्ट अवसर सिर्जना गरेको थियो । ३७औँ मिनेटमा रेखा पौडेलले गोल गर्ने सुनौलो अवसर पाए पनि उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो । त्यसअघि रश्मी घिसिङको प्रयास पनि सफल हुन सकेन ।
भुटानले पनि खेलमा केही राम्रो अवसर बनाएको थियो । खेलको १४औँ मिनेटमा नेपालकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बाबाट भएको सानो गल्तीका कारण भुटानले अवसर पाएको थियो । तर भुटानी खेलाडीले त्यसलाई गोलमा परिणत गर्न नसक्दा नेपालले राहतको सास फेरेको थियो ।
दोस्रो हाफमा नेपालले खेलमाथि पकड कायम राख्दै थप गोलका अवसर सिर्जना गरिरह्यो । रेखा पौडेल, मीना देउवा र अनिता बस्नेतले लगातार आक्रमण गरे पनि नेपालले दोस्रो गोल थप्न सकेन । मीना देउवाले गरेको एक गोल अफसाइडका कारण मान्यता पाएन । भुटानले बराबरी फर्काउने प्रयास गरे पनि नेपाली डिफेन्स मजबुत देखियो ।
यस खेलमा नेपाल केही मुख्य खेलाडीबिना मैदान उत्रिएको थियो । टोलीकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र सविता राना मगर चोटका कारण टोलीमा थिएनन् । यस्तै कम्बोडियन क्लब फुटबलमा व्यस्त रहेकी प्रीति राई पनि पहिलो खेलमा उपलब्ध हुन सकिनन् । यद्यपि नयाँ खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।
यसै खेलमार्फत अनिता लम्जेलले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेकी छिन् । उनले मिडफिल्डमा सक्रिय प्रदर्शन गर्दै टोलीलाई सन्तुलन दिन योगदान पुर्याइन् । जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ मा नेपालसँगै भुटान र श्रीलंका रहेका छन् । नेपालले अब आफ्नो दोस्रो तथा अन्तिम समूह चरणको खेल आउँदो आइतबार श्रीलंकाविरुद्ध खेल्नेछ । उक्त खेलमा बराबरी नतिजा हासिल गरे पनि नेपाल अन्तिम चारमा पुग्ने सम्भावना बलियो रहनेछ ।
प्रतियोगिताको समूह ‘बी’ मा साविक विजेता बंगलादेश, भारत र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।































