काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित ४३ जनामाथि जेनजी आन्दोलनमा संलग्नता बारे अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीकै नेतृत्वमा सरकार बनेर निर्वाचन सम्पन्न भएको थियो । उनकै मन्त्रिमण्डलका गृहमन्त्री ओमप्रकाश अर्याल र उनी नेतृत्वको सरकारले बनाएको जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ । उनीहरूले प्रदर्शन पहिले, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा दिएको अभिव्यक्ति, निजहरूको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरूको प्रदर्शनमा सहभागिता हुनसक्ने भनि संकलन गरेको प्रतिवेदन समेतलाई आयोगले आधार मानेको छ ।
भदौ २३ र २४ गते भएका घटनामा मानवीय क्षति र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए वा नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसुचित गराई उल्लेखित व्यक्तिहरूको स्वच्छ सुनुवाईको हक अधिकारको सुनिश्चिततासहित अनुसन्धान गर्न र दोषी देखिए कारबाही गर्न आयोगले सिफारिस गरेको छ । शान्तिपूर्ण प्रदर्शन गर्ने भनी अनुमति लिएकोमा प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको देखिएकोले अबदेखि आफूले आयोजना गरेको कार्यक्रममा घुसपैठ रोक्न तथा प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक कार्य गर्न समेत आयोगको सिफारिस छ ।
त्यसका लागि जेनजी आन्दोलन आह्वान गर्ने पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल, खेमराज साउद तथा हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ्ग समेतलाई थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ । गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ्ग, समान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल र उमेश बोहरामाथी पनि अनुसन्धान गर्न आयोगले भनेको छ ।
यस्तै शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रविकिरण हमाल, हरि ढकाल, निश्चल वस्नेत, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, वुद्ध छिरिङ्ग, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरब बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान मैनाली सहितका अन्य व्यक्तिहरुमाथि पनि अनुसन्धान गर्न भनिएको छ । दोषी देखिए कारबाही गर्न पनि आयोगको सिफारिस छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले भने २४ गतेको घटनामा अनुसन्धान गर्नै नभ्याएको भन्दै प्रतिवेदन बुझाएको थियो । सरकार पक्षकालाई कारबाही सिफारिस गरे पनि प्रदर्शनकारीतर्फ भने कसैलाई पनि कारबाही सिफारिस गरेको थिएन । अहिले मानव अधिकार आयोगले उनीसहितलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हो ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।






























