काठमाडौं । नेपाली मिक्स्ड मार्सल आट्र्स (एमएमए) खेलाडी रविन्द्र ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।
उनले युएफसीको छनोट प्रतियोगिता ‘रोड टु युएफसी’ सिजन ५ अन्तर्गत सेमिफाइनलमा स्थान बनाउँदै नेपाली एमएमए इतिहासमा नयाँ अध्याय थपेका छन् । मकाउस्थित ग्यालेक्सी एरेनामा बिहीबार सम्पन्न क्वाटरफाइनल भिडन्तमा रविन्द्रले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा रविन्द्रले सुरुदेखि नै आक्रामक शैली अपनाउँदै प्रतिद्वन्द्वीमाथि दबाब बनाएका थिए। दोस्रो राउन्डमा निर्णायक प्रहार गर्दै उनले जित सुनिश्चित गरे । रविन्द्रलाई समर्थन गर्न हजारौं नेपाली समर्थकहरू रंगशालामा उपस्थित भएका थिए। दर्शकहरूको उत्साहपूर्ण समर्थनले खेलाडीको मनोबल अझ उच्च बनाएको देखिन्थ्यो । ‘बझाङको बाघ’ उपनामले परिचित रविन्द्र ढाँट रोड टु युएफसी प्रतियोगितामा फाइट जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका छन्, जुन उपलब्धि नेपाली खेलकुद इतिहासका लागि महत्वपूर्ण मानिएको छ ।
सेमिफाइनलमा रविन्द्रले जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । आगामी भिडन्त अझ चुनौतीपूर्ण हुने अनुमान गरिएको छ, तर हालको प्रदर्शनले रविन्द्रप्रति अपेक्षा बढाएको छ । यसअघि रविन्द्रले पहिलो चरणमा म्याट्टी इयानसँग खेल्ने तालिका रहेको थियो। तर, इयान घाइते भएपछि अन्तिम समयमा किम्बर्ट अलिन्टोजोनले उनको स्थान लिएका थिए । प्रतिद्वन्द्वी परिवर्तन भए पनि रविन्द्रले आफ्नो तयारीमा कुनै कमी नआएको प्रमाणित गर्दै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
ब्यान्टमवेट तौल समूहमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रका लागि यो प्रतियोगिता अत्यन्त महत्वपूर्ण मानिएको छ । यदि उनले यस तौल समूहमा उपाधि जित्न सफल भए भने उनलाई विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसीको मुख्य मञ्चमा प्रवेश गर्ने अवसर प्राप्त हुनेछ । रविन्द्र पछिल्लो समय नेपाली एमएमए क्षेत्रमा सबैभन्दा चर्चित र आशाजनक खेलाडीका रूपमा स्थापित भएका छन् ।
उनले गत वर्ष भारतको ग्रेटर नोइडामा आयोजित ‘मेट्रिक्स फाइट नाइट १७’ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए । उक्त जितले उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।
उनको निरन्तर उत्कृष्ट प्रदर्शन र अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिएको आत्मविश्वासले नेपाली एमएमए खेलकुदको स्तर उकास्न योगदान पुर्याइरहेको छ । युवा खेलाडीहरूका लागि उनी प्रेरणाको स्रोत बन्दै गएका छन् । अब सेमिफाइनलको चुनौती पार गर्दै फाइनलमा पुग्ने लक्ष्यका साथ रविन्द्र तयारीमा जुट्नेछन् । उनको आगामी खेलले नेपाली दर्शकको ध्यान फेरि एकपटक अन्तर्राष्ट्रिय एमएमए रंगमञ्चतर्फ केन्द्रित गराउने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





























