नेपाल महिला क्रिकेट टोली एशियन गेम्स छनोटको सेमिफाइनलमा

काठमाडौँ । नेपाल महिला क्रिकेट टोली एशियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

यस जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ४२ रन बनाइन् । उनले ४३ बलमा ५ चौका प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याइन् । यस्तै सोनी पाख्रिनले २९ रनको महत्वपूर्ण योगदान दिइन् भने सीता राना मगरले अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै ६ बलमा ३ चौकासहित नटआउट १३ रन बनाइन् ।

कबिता कुँवरले पनि १४ रन जोडिन् । नेपालले केही समय लगातार विकेट गुमाउँदा खेल दबाबमा पुगेको थियो । तर कप्तान इन्दु बर्मा र सीता राना मगरले संयमित तथा आक्रामक खेल प्रस्तुत गर्दै टोलीलाई जित दिलाए । इन्डोनेसियाका लागि नी मेड पुत्री सुवान्डेवी र नी अरियानीले समान २/२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो । इन्डोनेसियाकी कप्तान नी पुतु आयु नन्दा सकारिनीले शानदार अर्धशतक प्रहार गर्दै नटआउट ५६ रन बनाइन् । रत्ना देवीले २३ रनको योगदान दिइन् । नेपालका बलरमध्ये मनिषा उपाध्यायले २ विकेट लिँदा रिया शर्माले १ विकेट हात पारिन् ।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । समूह ‘बी’ बाट नेपाल विजेता र चीन उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् भने इन्डोनेसिया प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै समूह ‘ए’ बाट थाइल्यान्ड समूह विजेता र आयोजक मलेसिया उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् । हङकङ भने समूह चरणबाटै बाहिरिएको छ ।

अब नेपालले शनिबार हुने सेमिफाइनलमा आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा विजयी भए नेपाल सिधै एशियन गेम्सका लागि छनोट हुनेछ । यदि नेपाल पराजित भएमा पनि तेस्रो स्थानका लागि खेल्ने अवसर रहनेछ । अर्को सेमिफाइनलमा थाइल्यान्ड र चीनबीच प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा आयोजना हुने एशियन गेम्सका लागि छनोट हुनेछन् । आयोजक राष्ट्र जापान यसअघि नै स्वतः छनोट भइसकेको छ भने आइसीसीका पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सिधै प्रतियोगितामा सहभागी हुनेछन् । महिला क्रिकेट प्रतियोगितामा कुल ८ राष्ट्रको सहभागिता रहनेछ । नेपाल महिला टोली अहिले उत्कृष्ट लयमा देखिएको छ । कप्तान इन्दु बर्माको नेतृत्वमा टोलीले निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ । अब नेपालको लक्ष्य मलेसियालाई हराउँदै एशियन गेम्समा स्थान सुरक्षित गर्ने हुनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।