एसियन गेम्स २०२६ छनोट खेल्ने नेपाली पुरुष क्रिकेट टोलीको बिदाई

काठमाडौं । एसियन गेम्स २०२६ क्रिकेट छनोट प्रतियोगितामा सहभागी हुन जाने नेपाली पुरुष क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रमका बीच बिदाइ गरेको छ। प्रतियोगिता मे ३१ देखि जुन ८ सम्म सिंगापुरमा सञ्चालन हुनेछ। छनोट प्रतियोगितामा आठ राष्ट्र सहभागी रहेका छन्।

नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ मलेसिया, कतार र चीन पनि रहेका छन्। समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर छन्। प्रतियोगिताबाट सेमिफाइनल पुग्ने चार टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि छनोट हुनेछन्।

नेपालले आफ्नो पहिलो खेल मे ३१ मा चीनविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। एसियन गेम्समा स्थान बनाउन नेपालले समूह चरण पार गर्दै कम्तीमा एक नकआउट खेल जित्नुपर्नेछ।

यसअघि आयोजक जापानसहित आइसिसी वरीयताको आधारमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान एसियन गेम्सका लागि छनोट भइसकेका छन्। अब बाँकी चार टोली छनोट प्रतियोगिताबाट तय हुनेछन्। नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम रहेका छन्।

नेपालले पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाएको प्रदर्शनका आधारमा समर्थकहरूले यसपटक पनि उत्कृष्ट नतिजाको अपेक्षा गरेका छन्।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।