कसको कति बढ्यो तलब ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ बाट सरकारी कर्मचारीको तलब वृद्धि गरेपछि कार्यालय सहयोगीको तलब ४० हजार पुग्दा मुख्यसचिवको एक लाख रुपैयाँ नाघ्ने भएको छ। शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब २१ प्रतिशतसम्म बढाउने घोषणा गरेका हुन्।

बजेट वक्तव्यमा भनिएको छ, ‘कर्मचारीले हाल प्राप्त गरिरहेको महङ्गी भत्तालाई निरन्तरता दिदैँ शुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु।’ त्यसैगरी, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको अर्थमन्त्रीले बताएका छन्। यसो गर्दा कर्मचारीको आधाभूत तलबमा २१ प्रतिशत वृद्धि हुन्छ। यसो हुँदा कार्यालय सहयोगीको मासिक पारिश्रमिक ४० हजार रुपैयाँ पुग्ने अर्थमन्त्रीले बताएका छन्।

हाल कार्यालय सहयोगीको आधारभूत तलब २६ हजार ८२ रुपैयाँ छ। २१ प्रतिशत पछि नयाँ आधारभूत तलब अब ३१ हजार ५५९ रुपैयाँ पुग्नेछ। यो रकम महंगी भत्ता र कर्मचारीले पाउने ग्रेड बाहेकको हो। सरकारले मासिक पाँच हजार रुपैयाँ महंगी भत्ता दिदै आएको छ। यो भत्ता यस वर्षको बजेटमा पनि निरन्तर गरिएको छ। कार्यालय सहयोगीले महंगी भत्ता र ग्रेड समेत गरेर न्युनतम ४० हजार रुपैयाँ मासिक पाउने भएका छन्। त्यसैगरी, खरिदारले बढेको तलब, महंगी भत्ता र ग्रेड समेत गरेर ४४ हजार ८१० रुपैयाँ पाउँछन्। नायब सुब्बाको तलब ४७ हजार २३ रुपैयाँ पुगेको छ।

अधिकृतले मासिक रुपमा ५७ हजार ८६२ रुपैयाँ पाउँछन्। अहिले अधिकृतको आधारभूत तलब ३४ हजार ७३० रुपैयाँ छ। बढेको तलब पाउँदा उपसचिवको मासिक तलब ६३ हजार ९७१ रुपैयाँ पुग्छ। अहिले उपसचिवले ४८ हजार ७३७ रुपैयाँ आधारभूत तलब पाउँदै आएका छन्।

मासिक ५६ हजार ७८७ रुपैयाँ आधारभूत तलब पाउँदै आएका सहसचिवले आगामी साउनबाट ७३ हजार ७१२ रुपैयाँ पाउने भएका छन्। सचिवको तलब बढेर ९२ हजार २१९ रुपैयाँ पुग्ने भएको छ। अहिले सचिवको आधारभूत तलब ७२ हजार ८२ रुपैयाँ छ। मुख्यसचिवको भने ९८ हजार ४१२ रुपैयाँ पुग्ने भएको छ।

अहिले सचिवको आधारभूत तलब ७७ हजार २१२ रुपैयाँ छ। कर्मचारीले पाउने सबै तलबमा उनीहरुले पाउने ग्रेड भने जोड्न बाँकी छ। ग्रेड जोड्दा सहायक कर्मचारीको तलब ४० हजार रुपैयाँभन्दा माथि हुन्छ भने मुख्य सचिवको तलब एक लाख भन्दा माथि पुग्ने भएको छ। कर्मचारीहरुले बढेको तलब भने आगामी आर्थिक वर्ष अर्थात साउन महिनाबाट पाउनेछन्।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।