काठमाडौं । वर्षौँदेखि बन्द रहेका र रुग्ण अवस्थामा पुगेका सरकारी उद्योग तथा सार्वजनिक संस्थानलाई पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले अघि बढाएको छ ।
तर, ती उद्योग सञ्चालनका लागि राज्यकोषबाट थप लगानी नगर्ने र निजी क्षेत्रको पूँजी, प्रविधि तथा व्यवस्थापकीय क्षमताको उपयोग गर्ने गरी नयाँ मोडल तयार पार्न थालिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन समितिले बन्द तथा घाटामा सञ्चालित उद्योगहरूको अवस्था अध्ययन गरी पुनः सञ्चालनको विकल्प खोजिरहेको छ । प्रारम्भिक अध्ययनमा गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगलाई प्राथमिकतामा राखिएको छ । यी तीन उद्योगको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ ।
सरकारको उद्देश्य वर्षौँदेखि उपयोगविहीन रहेका सरकारी सम्पत्ति र पूर्वाधारलाई संरक्षण गर्दै उत्पादनशील बनाउनु हो । त्यसका लागि निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिने, सार्वजनिक–निजी साझेदारी गर्ने, रणनीतिक साझेदार भित्र्याउने वा आवश्यकताअनुसार लगानी तथा सम्पत्ति व्यवस्थापनको अर्को विकल्प अपनाउने विषयमा छलफल भइरहेको छ । अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई उत्पादन र वितरणमा प्रोत्साहन गर्ने तथा राज्यलाई नियमन, सहजीकरण र लगानी प्रवद्र्धनमा केन्द्रित गर्ने आर्थिक दृष्टिकोण राख्छन् । उत्पादन र वितरणको जिम्मेवारी राज्यले नै लिनुपर्छ भन्ने मान्यताभन्दा निजी क्षेत्रको सहभागितामा अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने उनको बुझाइ छ । यही सोचअनुसार सरकारी स्वामित्वका उद्योग सञ्चालन गर्ने नयाँ ढाँचा तयार पार्न खोजिएको हो ।
२०४८ सालपछि नेपालमा सार्वजनिक संस्थान निजीकरण गर्ने नीति अघि बढाइएको थियो । त्यसबेला निजीकरणलाई आर्थिक सुधारको एउटा महत्त्वपूर्ण माध्यमका रूपमा लिइएको थियो । पञ्चायतकालमा स्थापना भएका कतिपय औद्योगिक प्रतिष्ठान बहुदलीय व्यवस्था सुरु भएपछि क्रमशः कमजोर हुँदै गए र अन्ततः बन्द भए । अहिले फेरि तिनै उद्योग सञ्चालनमा ल्याउने विषयले सरकारी प्राथमिकता पाएको छ । यसका लागि सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन ऐन, २०५० ले व्यवस्था गरेको समितिलाई सक्रिय बनाइएको छ ।
उक्त ऐनअनुसार अर्थमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य, दुई सांसद र विभिन्न मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । अर्थ मन्त्रालयको संस्थान महाशाखाका सहसचिव समितिको सदस्यसचिव रहने प्रावधान छ । आवश्यकताअनुसार सम्बन्धित उद्योगका सञ्चालक, मजदुर प्रतिनिधि र अर्थविद्लाई पनि समितिको बैठकमा आमन्त्रण गर्न सकिने व्यवस्था ऐनमा छ ।
मन्त्रिपरिषद्को गत वैशाख ३० गतेको निर्णयअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्का र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीलाई समितिको सदस्यमा नियुक्त गरिएको थियो । त्यसपछि अर्थमन्त्री वाग्लेले सांसद खड्काको संयोजकत्वमा उद्योग पुनः सञ्चालनका लागि आर्थिक तथा व्यवस्थापकीय मोडल तयार पार्न छुट्टै उपसमिति गठन गरेका थिए । उक्त उपसमितिले अहिले उद्योगहरूको सम्पत्ति, दायित्व, उत्पादन क्षमता, बजारको अवस्था, प्रविधि, पूर्वाधार र सम्भावित लगानीको विश्लेषण गरिरहेको छ । उद्योग पुनः सञ्चालन गर्दा राज्यलाई थप आर्थिक भार नपर्ने गरी कुन विकल्प उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकाल्न ‘ड्यु डिलिजेन्स एनालाइसिस’ (डीडीए) प्रतिवेदन तयार पार्ने काम भइरहेको छ । पहिलो चरणमा गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको अध्ययनलाई प्राथमिकता दिइएको छ । यी उद्योगको अध्ययन अन्तिम चरणमा पुगे पनि सञ्चालनको अन्तिम मोडल भने तय भइसकेको छैन । उपसमितिले सम्पत्ति र दायित्वको मूल्यांकनपछि प्रत्येक उद्योगका लागि उपयुक्त विकल्प सिफारिस गर्ने तयारी गरेको छ ।
उपसमिति संयोजक खड्काका अनुसार सरकारी उद्योग सञ्चालनका लागि एउटै ढाँचा सबैमा लागू गर्नेभन्दा पनि उद्योगको प्रकृति, सम्पत्ति, बजार सम्भावना र दायित्व हेरेर फरक–फरक विकल्प अपनाउन सकिनेछ । निजी क्षेत्रलाई सञ्चालन लिजमा दिने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) गर्ने, रणनीतिक साझेदार ल्याउने र आवश्यकताअनुसार लगानी तथा सम्पत्ति व्यवस्थापन गर्ने विकल्पहरू अध्ययनमा छन् । उनका अनुसार अहिलेको मुख्य चुनौती उद्योग सञ्चालन गर्न आवश्यक लगानी जुटाउनु मात्रै होइन, पुराना दायित्व व्यवस्थापन गरेर संस्थानलाई आर्थिक रूपमा सक्षम बनाउनु पनि हो । वर्षौँदेखि बन्द रहेका उद्योगमा कर्मचारी दायित्व, ऋण, ब्याज, मर्मतसम्भार र प्रविधि अद्यावधिक गर्नुपर्ने समस्या छन् । यी सबै विषयको मूल्यांकन नगरी उद्योग सञ्चालनमा ल्याउँदा पुनः घाटामा जाने जोखिम रहन्छ ।
“रुग्ण, बन्द वा नाफामै सञ्चालनमा रहेका उद्योग तथा संस्थानलाई पुनः सञ्चालन गर्ने र अझ प्रभावकारी बनाउने उद्देश्यले अध्ययन भइरहेको छ,” खड्काले भने, “दायित्व शून्य बनाउँदै सञ्चालन गर्न कुन–कुन मोडलबाट सम्भव हुन्छ भन्ने विकल्पबारे छलफल गरिरहेका छौँ ।” उनका अनुसार सञ्चालन लिज, सार्वजनिक–निजी साझेदारीका विभिन्न ढाँचा, रणनीतिक साझेदार भित्र्याउने र डाइभेस्टमेन्टसम्मका विकल्पमाथि छलफल भइरहेको छ । डाइभेस्टमेन्टअन्तर्गत लगानी, सम्पत्ति वा दायित्व बिक्री गर्ने अथवा राज्यले आफ्नो लगानी फिर्ता लिने विकल्पसमेत पर्न सक्छन् । यद्यपि, उद्योगमा रहेका सम्पत्ति र पूर्वाधारलाई संरक्षण गर्दै अधिकतम उपयोग गर्ने विषयलाई प्राथमिकता दिइने उनको भनाइ छ ।
उपसमितिले अघि सारेको अर्को महत्त्वपूर्ण अवधारणा सार्वजनिक संस्थानलाई स्वायत्त रूपमा सञ्चालन गर्ने हो । खड्काका अनुसार विगतमा पर्याप्त पूर्वाधार, उत्पादन क्षमता र बजारको सम्भावना हुँदाहुँदै पनि राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी र संस्थानलाई भर्तीकेन्द्र बनाउने प्रवृत्तिका कारण धेरै उद्योग धराशायी भएका हुन् । उद्योगको व्यवस्थापनमा व्यावसायिक दक्षताभन्दा राजनीतिक पहुँच र भागबन्डाले प्राथमिकता पाउँदा निर्णय प्रक्रिया कमजोर बनेको उनको विश्लेषण छ । त्यसैले अब उद्योग सञ्चालनको जिम्मेवारी सक्षम व्यवस्थापक र निजी क्षेत्रलाई दिएर राज्यले नियमन तथा सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ । यसका लागि उनले जलविद्युत् आयोजनाको सञ्चालन मोडललाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । नेपालमा जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनका लागि निजी क्षेत्रलाई निश्चित अवधिको अनुमतिपत्र दिने गरिएको छ ।
प्राकृतिक स्रोत राज्यको स्वामित्वमा रहे पनि त्यसको उपयोग गरेर उत्पादन गर्ने जिम्मेवारी निजी क्षेत्रले लिन्छ । त्यसबाट राज्यले रोयल्टी तथा अन्य राजस्व प्राप्त गर्छ । निश्चित अवधिपछि आयोजना राज्यलाई हस्तान्तरण हुने व्यवस्था पनि छ । यही अवधारणालाई सरकारी उद्योगमा पनि लागू गर्न सकिने खड्काको प्रस्ताव छ । उनका अनुसार उद्योगको जग्गा, भवन, मेसिनरी तथा अन्य सम्पत्ति राज्यकै स्वामित्वमा राखेर निश्चित अवधिका लागि निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिन सकिन्छ । निजी क्षेत्रले आफ्नो पूँजी र व्यवस्थापकीय क्षमता प्रयोग गरेर उत्पादन तथा बिक्री गर्नेछ भने राज्यले त्यसबाट निश्चित प्रतिफल प्राप्त गर्नेछ ।
“म एउटा उदाहरण दिन्छु, हाइड्रोपावर कुनै पनि डेभलपरलाई ३० वर्षका लागि गरिखाऊ भनेर लाइसेन्स दिएको हो नि त । त्यो पानी सरकारकै हो, नेपाली जनताकै हो,” खड्काले भने, “त्यो पानी प्रयोग गरेर बिजुली उत्पादन गरेबापत राज्यले रोयल्टी पाइरहेको छ । त्यस्तै मोडल संस्थानका हकमा पनि बनाउन सकिन्छ । ३० वर्षपछि राज्यकै हुने गरी निजी क्षेत्रले लगानी गरेर सञ्चालन गर्न सक्छ ।” उनका अनुसार सार्वजनिक संस्थानमा राज्यको ठूलो लगानी भइसकेको छ । त्यसलाई निष्क्रिय राख्नुभन्दा निजी क्षेत्रको सहभागितामा उत्पादन र आम्दानीको स्रोत बनाउन सकिन्छ । यसबाट सार्वजनिक–निजी साझेदारीको नयाँ अभ्यास सुरु हुनुका साथै रोजगारी सिर्जना, औद्योगिक उत्पादन वृद्धि र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सरकारी स्वामित्वका उद्योगमा भएको लगानीको आकार ठूलो भए पनि त्यसअनुसार प्रतिफल प्राप्त हुन नसकेको तथ्यांकले देखाउँछ । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानहरूको वार्षिक समीक्षा प्रतिवेदन, २०८३ अनुसार सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । सरकारले सार्वजनिक संस्थानमा गरेको कुल लगानीमध्ये ३ खर्ब ७० अर्ब २५ करोड २० लाख रुपैयाँ सेयरतर्फ र ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ ऋणतर्फ रहेको छ । यसले सरकारी संस्थानमा राज्यको ठूलो पूँजी परिचालन भएको देखाउँछ । तर, त्यति ठूलो लगानीबाट अपेक्षित आर्थिक प्रतिफल प्राप्त हुन नसकेको अवस्था छ । उपसमिति संयोजक खड्काका अनुसार सरकारी संस्थानमा भएको करिब साढे तीन खर्बदेखि पौने चार खर्ब रुपैयाँको लगानीलाई वर्तमान मूल्यमा मूल्यांकन गर्दा त्यसको आकार ३५ देखि ४० खर्ब रुपैयाँसम्म पुग्न सक्छ । त्यसैले यस्ता सम्पत्तिलाई बन्द अवस्थामा राख्नु आर्थिक दृष्टिले उचित नहुने उनको भनाइ छ ।
तीन उद्योगको सम्भावनाबारे उपसमितिले गरेको प्रारम्भिक अध्ययनमा गोरखकाली रबर उद्योगलाई सम्भावनायुक्त प्रतिष्ठानका रूपमा हेरिएको छ । नेपाली बजारमा टायरको माग कायमै रहेको र स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना भएकाले यस उद्योगप्रति निजी क्षेत्रको चासो देखिएको खड्का बताउँछन् । गोरखकाली रबर उद्योगले विगतमा उत्पादन गरेको टायरको आफ्नै बजार पहिचान र इतिहास छ । उद्योग पुनः सञ्चालनमा आएमा पुरानो बजार विश्वासलाई पुनः स्थापित गर्न सकिने सम्भावना रहेको उनको बुझाइ छ । त्यसमाथि नेपालमै रबर खेती विस्तार भइरहेको अवस्थाले पनि उद्योगका लागि कच्चा पदार्थको सम्भावना बढाएको छ । विशेषगरी झापाका विभिन्न क्षेत्रमा सामुदायिक वनसँग जोडेर ठूलो परिमाणमा रबर खेती भइरहेको छ । स्वदेशमै कच्चा पदार्थ उत्पादन र प्रशोधनको सम्भावना बढ्दै जाँदा गोरखकाली रबर उद्योगलाई नयाँ ढंगले सञ्चालन गर्न सकिने उपसमितिको निष्कर्ष छ । खड्काका अनुसार उद्योग सञ्चालनमा निजी क्षेत्रले चासो देखाएको छ र लगानी गरेर सञ्चालन गर्न सकिने धारणा पनि आएको छ ।
हेटौँडा र उदयपुर सिमेन्ट उद्योगलाई पनि पुनः सञ्चालन गर्न सकिने सम्भावना रहेको उपसमितिको प्रारम्भिक विश्लेषण छ । यी उद्योगको उत्पादनले बजारमा बनाएको पहिचान र उपभोक्ताबीचको विश्वसनीयता महत्त्वपूर्ण सम्पत्ति भएको खड्काको भनाइ छ । आवश्यक लगानी, प्रविधि सुधार र व्यवस्थापकीय दक्षता सुनिश्चित गर्न सके दुवै उद्योगलाई पुनः उत्पादनमा फर्काउन सकिने उनको विश्वास छ । विशेषगरी उदयपुर सिमेन्ट उद्योगसँग क्लिङ्कर उत्पादनका लागि आवश्यक खनिज स्रोतको ठूलो सम्भावना रहेको उनले बताएका छन् । उपलब्ध प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्न सके स्वदेशी उत्पादन बढाउनुका साथै आयात प्रतिस्थापनमा पनि सहयोग पुग्नेछ । त्यसका लागि राज्यले सबै काम आफैँ गर्नुपर्ने सोचबाट बाहिर निस्केर निजी क्षेत्रलाई पनि स्रोतको उपयोगमा सहभागी गराउनुपर्ने उनको तर्क छ । “उदयपुर सिमेन्ट कारखानासँग धेरै ठूलो क्लिङ्कर उत्खननको सम्भावना छ । यसलाई अधिकतम उपयोग गरेर राज्यको उत्पादन बढाउनुपर्छ,” खड्काले भने, “हामीसँग भएका प्राकृतिक स्रोत र साधनको उपयोगमा पनि नवीन सोच आवश्यक छ । राज्यले मात्रै उत्खनन, प्रशोधन र बिक्री गर्नुपर्छ भन्ने मान्यताबाट बाहिर निस्कनुपर्छ ।”
उनले खाडी मुलुकहरूको आर्थिक विकासको उदाहरण दिँदै प्राकृतिक स्रोतको सदुपयोगले अर्थतन्त्रको स्वरूप परिवर्तन गर्न सक्ने बताए । तेलको स्रोतलाई उत्पादन, प्रशोधन र व्यापारसँग जोडेर ती मुलुकले आर्थिक समृद्धि हासिल गरेको उल्लेख गर्दै नेपालले पनि आफ्ना खनिज तथा औद्योगिक सम्भावनाको अधिकतम उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
तर, सरकारी उद्योग सञ्चालनका नाममा राज्यको सम्पत्ति बिक्री गर्ने वा जग्गा मात्रै उपयोग गर्ने उद्देश्य राखिएको भने होइन । उद्योगमा रहेका जग्गा, भवन, मेसिनरी र अन्य भौतिक सम्पत्तिलाई सुरक्षित राखेर उत्पादनसँग जोड्ने गरी मोडल तयार पार्न खोजिएको खड्काले स्पष्ट पारेका छन् । उनका अनुसार उद्योगको सञ्चालन निजी क्षेत्रलाई दिँदा पनि स्वामित्व र सम्पत्तिको संरक्षणमा राज्यको भूमिका कायम रहनेछ । निजी क्षेत्रले उपलब्ध पूर्वाधारको उपयोग गरी उद्योग सञ्चालन गर्ने र राज्यले त्यसको नियमन तथा अनुगमन गर्ने व्यवस्था बनाउन सकिनेछ ।
“जेजति छन्, सबैलाई चलाउने काम राज्यले नै गर्नुपर्छ भन्ने होइन । राज्यको थप दायित्व लगभग सिर्जना नगरीकन निजीकरणका नाममा जग्गा बिक्रीमा पनि नजाने हो,” खड्काले भने, “संस्थानमा भएका सम्पत्ति सुरक्षित गर्ने, मेसिनरीसहित जे छ त्यसलाई प्रयोग गरेर जाने गरी अपरेसनको मोडलमा जानुपर्छ ।” सरकारी स्वामित्वका उद्योगबाहेक नेपाल वायुसेवा निगम र नेपाल टेलिकममा पनि रणनीतिक साझेदार भित्र्याउने विषयमा छलफल गर्न सकिने खड्काको धारणा छ । यी दुवै संस्थामा ठूलो लगानी र पूर्वाधार भए पनि प्रतिस्पर्धात्मक क्षमता, व्यवस्थापन र सेवा प्रवाहमा सुधार आवश्यक रहेको उनको बुझाइ छ । रणनीतिक साझेदार भित्र्याउँदा पूँजीसँगै प्रविधि, व्यावसायिक अनुभव र व्यवस्थापकीय दक्षता प्राप्त गर्न सकिने अपेक्षा छ । यद्यपि, यी विषय अहिले प्रारम्भिक छलफलकै चरणमा छन् ।
सरकारी उद्योगको पुनः सञ्चालनलाई आर्थिक कारोबारको विषयमा मात्रै सीमित नगरी नागरिकको लगानी र सार्वजनिक सम्पत्तिको संरक्षणसँग जोड्नुपर्ने खड्काको भनाइ छ । उनका अनुसार गोरखकाली, हेटौँडा र उदयपुर सिमेन्टजस्ता उद्योगमा भएको लगानी कुनै व्यक्ति वा राजनीतिक दलको नभई नागरिकको हो । त्यसैले तिनलाई पुनः सञ्चालनमा ल्याउने विषयमा आम नागरिकको अपनत्व स्थापित गर्न आवश्यक छ । उनले २०४६ सालअघि ती उद्योग तथा प्रतिष्ठान घाटामा नरहेको दाबी गर्दै उद्योगहरू बन्द हुनुको दोष कुनै एउटा राजनीतिक व्यवस्था वा कालखण्डलाई मात्रै दिन नहुने बताए । राजनीतिक परिवर्तनसँगै व्यवस्थापन र सञ्चालनको शैलीमा आएको कमजोरीले पनि संस्थानहरू प्रभावित भएको उनको विश्लेषण छ । उपसमितिले सरकारी उद्योगसँग सम्बन्धित जग्गाको अवस्थालाई पनि अध्ययनको विषय बनाएको छ । खड्काका अनुसार विभिन्न सार्वजनिक संस्थानसँग जोडिएको करिब २० हजार बिघा जग्गा खाली वा प्रयोगविहीन अवस्थामा छ । ती जग्गालाई उद्योगको उद्देश्यअनुसार उपयोग गर्ने र सार्वजनिक सम्पत्ति मास्न नदिने गरी योजना बनाउनुपर्ने उनको भनाइ छ ।
उद्योगको पुनः सञ्चालनबाट राज्यलाई आर्थिक दायित्व थपिने अवस्था आउन नदिनु अहिलेको अध्ययनको प्रमुख आधार हो । पुराना ऋण र दायित्वको व्यवस्थापन, उत्पादनको बजार सुनिश्चितता, निजी क्षेत्रको लगानी क्षमता, कर्मचारी व्यवस्थापन र सञ्चालनको स्वायत्तता जस्ता विषयमा स्पष्ट योजना बनाएपछि मात्रै अन्तिम मोडल सिफारिस गरिनेछ । नेपालमा विगतमा निजीकरण गरिएका सार्वजनिक संस्थानको अनुभवलाई पनि यस प्रक्रियामा ध्यान दिनुपर्ने देखिन्छ । निजीकरणको उद्देश्य उत्पादन र उत्पादकत्व बढाउने भए पनि कतिपय अवस्थामा सम्पत्तिको संरक्षण, रोजगारी र उद्योगको निरन्तरतासम्बन्धी प्रश्न उठेका थिए । त्यसैले यसपटक निजी क्षेत्रलाई जिम्मेवारी दिँदा सार्वजनिक सम्पत्तिको स्वामित्व, सञ्चालन अवधि, राज्यले प्राप्त गर्ने प्रतिफल र सम्झौता उल्लंघन भएमा अपनाइने उपाय स्पष्ट हुनुपर्नेछ ।
उद्योग पुनः सञ्चालनको प्रस्तावले सफलता पाउन निजी क्षेत्रको वास्तविक लगानी प्रतिबद्धता, बजारको माग र व्यावसायिक सम्भाव्यता सुनिश्चित हुन आवश्यक छ । केवल सम्पत्ति हस्तान्तरण गरेर वा सञ्चालनको जिम्मेवारी दिएर मात्रै बन्द उद्योग पुनर्जीवित हुन सक्दैनन् । त्यसका लागि दीर्घकालीन व्यावसायिक योजना, प्रविधि सुधार, सक्षम जनशक्ति र पारदर्शी व्यवस्थापन अपरिहार्य हुनेछन् । खड्काका अनुसार राज्यले आफ्नो भूमिका परम्परागत रूपमा उद्योग चलाउने संस्थाको रूपमा मात्रै नभई आम्दानी सिर्जना गर्ने, नागरिकको सम्पत्ति संरक्षण गर्ने र विकासमा पुनः लगानी गर्ने संस्थाका रूपमा विकास गर्नुपर्छ । सेना, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिजस्ता राज्यका आधारभूत जिम्मेवारीबाहेक आर्थिक गतिविधिमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सकिने उनको धारणा छ । “राज्य पनि एउटा संस्था हो । राज्यले पनि दायित्वबाहेक आम्दानी गर्ने र नागरिक तथा विकासमा थप लगानी गर्ने गरी अघि बढ्नुपर्छ,” उनले भने । सरकारको अहिलेको प्रयास सफल भएमा वर्षौँदेखि बन्द रहेका उद्योग पुनः उत्पादनमा फर्किन सक्छन् । त्यसले सरकारी सम्पत्तिको उपयोग, औद्योगिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र निजी लगानी विस्तारमा योगदान पुर्याउन सक्छ । तर, यसको वास्तविक सफलता तयार पारिने मोडल कति पारदर्शी, व्यावहारिक र सार्वजनिक हितअनुकूल हुन्छ भन्नेमा निर्भर रहनेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































