क्षतिग्रस्त नगर कार्यालय बहुप्राविधिक शिक्षालयमा सारिने

काभ्रेपलाञ्चोक । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको बनेपा नगरपालिकाको कार्यालय अब बहुप्राविधिक शिक्षालय परिसरबाट सञ्चालन हुने भएको छ ।

हाल अस्थायी रूपमा वडा नं १० को कार्यालयबाट सेवा प्रवाह गर्दै आएको नगरपालिका आगामी आर्थिक वर्षदेखि नयाँ स्थानबाट सेवा दिने तयारीमा जुटेको छ ।

वि.सं २०८२ भदौ तेस्रो साता भएको ‘जेनजी’ आन्दोलनका क्रममा बनेपा नगरपालिका तोडफोड एवं आगजनी भएको थियो । बनेपा नगरपालिका काभ्रे जिल्लाको पुरानो नगरपालिका हो । हाल १० नं वडा कार्यालयबाट अस्थायी रुपमा नगर कार्यालय सञ्चालन हुँदै आएको क्षतिग्रस्त उक्त भवन पुनर्निर्माण नहुने भएपछि ५ नं वडास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा सारिन लागिएको हो ।

नगरको स्वामित्वमा रहेको जग्गमा स्थापित शिक्षालयका ती भवनलाई अस्थायी प्रशासकीय कार्यालयका रुपमा प्रयोग गर्ने तयारी गरेको बनेपा नगरपालिकाले जनाएको छ । शिक्षालयमा हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत विभिन्न विषयमा तीनवर्षे स्नातक तहका तथा छोटो अवधिका सीपमूलक तालिम समेत सञ्चालन हुँदै आएका छन् । नगरप्रमुख शान्तिरत्न शाक्यले शिक्षालयको नियमित शैक्षिक गतिविधिमा कुनै अवरोध नपुर्याई नगरको प्रशासनिक कार्यालय सञ्चालन गर्न खोजेको बताए ।

उनका अनुसार नगरले आगामी आर्थिक वर्षको सुरुआतदेखि शिक्षालयका भवनबाट नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । जेनजी आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बनेपा नगर कार्यालयमा क्षति पुगेको थियो । नगर कार्यालयले भने स्थानीय सरकारको अधिकार प्रयोग गरी आफ्नो नाममा रहेको शिक्षालयको ८० रोपनी जग्गा र संरचनालाई मातहत ल्याउने निर्णय गरेको छ । निर्णयको चौतर्फी विरोध भएपछि नगरले ‘स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर सभाबाट नै पास गरी उक्त निर्णय गरेको’ स्पष्ट पार्दै आएको छ । नगरप्रमुख शाक्यले नगरसभाको निर्णयअनुसारनै शिक्षालयलाई पत्राचार गरेको बताए ।

आन्दोलनका क्रममा कार्यालयमा करिब रु दश करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उल्लेख छ । बजेट व्यवस्थापन गर्न सकिए यसअघि बनाइएको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) अनुसार क्षतिग्रस्त भवन भत्काएर आठतले सुविधायुक्त नयाँ भवन बनाइने शाक्यले बताए । उनका अनुसार जसमध्ये दुई तला भूमिगत पार्किङ रहनेछ । उक्त योजनाअनुसारको भवन निर्माण गर्न रु ८० करोड लाग्ने शाक्यले जानकारी दिए ।