विश्वकपका लागि ग्लोबल क्वालिफायरको खाका तयार हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी पुरुष टी–२० विश्वकपका लागि १६ टोली सहभागी हुने ‘ग्लोबल क्वालिफायर’ (विश्वव्यापी छनोट प्रतियोगिता) को संरचना तयार गर्ने निर्णय गरेको छ । भारतको अहमदाबादमा आइतबार सम्पन्न आईसीसी बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

आईसीसी व्यवस्थापनलाई १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको ढाँचा तथा छनोट प्रणाली अन्तिम रूप दिन निर्देशन दिइएको छ । प्रस्तावलाई आगामी बैठकमा सम्बन्धित आईसीसी समितिहरूमा प्रस्तुत गरिनेछ ।

यसअघि आईसीसीले विभिन्न महादेशीय छनोटमार्फत विश्वकपमा पुग्ने टोलीहरूको टुंगो लगाउँदै आएको थियो । नेपालले सन् २०२४ र २०२६ को टी–२० विश्वकपमा एसिया क्षेत्रीय छनोट पार गर्दै स्थान बनाएको थियो । तर अब क्षेत्रीय छनोट पार गरेका टोलीहरूलाई थप विश्वस्तरीय छनोट प्रतियोगिताबाट विश्वकपमा पुग्ने व्यवस्था हुन सक्ने संकेत देखिएको छ ।

नेपालका लागि यो निर्णय महत्वपूर्ण मानिएको छ, किनभने यसले भविष्यमा टी–२० विश्वकपमा पुग्ने नेपालको मार्ग परिवर्तन गर्न सक्छ । नेपालले सन् २०१४ को टी–२० विश्वकपमा भने ग्लोबल क्वालिफायर पार गरेर स्थान बनाएको थियो । आईसीसीले विश्वकपमा उत्कृष्ट टोलीलाई अवसर दिने उद्देश्यले पुनः विश्व छनोटको अवधारणा अघि सारेको बताइएको छ । यद्यपि यो व्यवस्था सन् २०२८ को विश्वकपदेखि लागू हुने वा त्यसपछिको संस्करणका लागि हुने भन्ने विषय खुलाइएको छैन ।

बैठकले खेलसम्बन्धी केही नयाँ नियमहरू पनि स्वीकृत गरेको छ । दुवै टोलीको सहमतिमा टेस्ट क्रिकेटमा गुलाबी बल प्रयोगको परीक्षण गरिने, अवैध बलिङ एक्शनको मूल्यांकनका क्रममा म्याच अफिसियलहरूले हक–आई डाटा प्रयोग गर्न पाउने तथा लेग साइड वाइडसम्बन्धी परीक्षणलाई स्थायी बनाउने निर्णय गरिएको छ ।

त्यस्तै, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५ मिनेटको इनिङ्स ब्रेक अनिवार्य बनाइनेछ । निर्धारित ड्रिन्क्स ब्रेकका क्रममा मुख्य प्रशिक्षक वा उनका प्रतिनिधिलाई टोलीसँग परामर्श गर्न अनुमति दिइनेछ भने खेल पुनः सुरु हुँदा ब्याटरहरू तयार अवस्थामा हुनुपर्ने व्यवस्था गरिएको छ ।

महिला क्रिकेटतर्फ आईसीसी महिला च्याम्पियन्स ट्रफी २०२७ फेब्रुअरी १४ देखि २८ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । साथै, सन् २०२६ मा १० टोली सहभागी हुने महिला इमर्जिङ नेसन्स ट्रफी आयोजना गरिनेछ, जसमा पाँच पूर्ण सदस्य र पाँच एसोसिएट सदस्य राष्ट्र सहभागी हुनेछन् ।

आईसीसी महिला टी–२० विश्वकप २०२८ को छनोट प्रणाली पनि स्वीकृत गरिएको छ । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन्, जसमध्ये १० टोली स्वतः छनोट हुनेछन् भने बाँकी दुई स्थान १० टोली सम्मिलित ग्लोबल क्वालिफायरमार्फत तय गरिनेछ । यो व्यवस्था नेपाल महिला टोलीका लागि पनि महत्वपूर्ण हुन सक्ने अनुमान गरिएको छ ।

बैठकले सदस्यता सम्बन्धी दायित्वहरूको गम्भीर उल्लंघन गरेको भन्दै क्यानडा क्रिकेटको सदस्यता तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय पनि गरेको छ । यद्यपि निलम्बन अवधिमा क्यानडाका राष्ट्रिय टोलीहरूले आईसीसी प्रतियोगितामा सहभागिता जनाउन भने पाउनेछन् ।

त्यसैगरी, फ्रेन्चाइज क्रिकेटको तीव्र विस्तारप्रति चिन्ता व्यक्त गर्दै आईसीसीले फ्रेन्चाइज प्रतियोगिताहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट तालिकासँग कसरी समन्वय गर्न सकिन्छ भन्ने अध्ययनका लागि विशेष समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।