२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेको आशा हालान्डमाथि

काठमाडौँ । नर्वेली राष्ट्रिय फुटबल टोलीका स्टार स्ट्राइकर एर्लिङ हालान्डले आगामी विश्वकपमा आफ्नो देशको नेतृत्व गर्ने भएका छन् । सन् १९९८ पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको नर्वेका लागि यो ऐतिहासिक सहभागिता हुनेछ भने हालान्डको लागि विश्वकपको पहिलो अनुभव हुनेछ ।

इङ्ग्‌ल्यान्डको शीर्ष डिभिजन क्लब म्यानचेस्टर सिटीबाट खेल्ने २५ वर्षीय हालान्डले विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नर्वेलाई २८ वर्षको प्रतीक्षापछि विश्वकपमा पुर्‍याएका थिए । उनले आठ खेलमा १६ गोल गर्दै युरोपेली छनोटका सर्वाधिक गोलकर्ता बनेका थिए ।

हालान्डको १६ गोलको कीर्तिमान नजिकसम्म पनि अन्य खेलाडी पुग्न सकेनन्। इङ्ग्‌ल्यान्डका कप्तान ह्यारी केन, अस्ट्रियाका मार्को अर्नाउटोभिच र नेदरल्यान्ड्सका मेम्फिस डिपाएले समान आठ–आठ गोल गरेका थिए ।
उत्तर अमेरिकामा आयोजना हुने विश्वकपमा नर्वे समूह ‘आई’ मा परेको छ । उक्त समूहमा सन् २०२२ को उपविजेता फ्रान्स, सेनेगल र इराक रहेका छन् ।

नर्वेका कप्तान मार्टिन ओडेगार्डसहितको टोलीलाई फुटबल विश्लेषकहरूले ‘स्वर्णिम पुस्ता’ का रूपमा लिएका छन् । तर यसअघि टोलीले लगातार ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोट पार गर्न सकेको थिएन ।
हालान्डले हालै दिएको अन्तर्वार्तामा नर्वेलाई विश्व फुटबलको प्रमुख राष्ट्रमध्ये एक बनाउने आफ्नो सपना रहेको बताएका छन् । उनले राष्ट्रिय टोलीबाट सन् २०१९ मा डेब्यु गरेदेखि नै नर्वेलाई विश्वकप र युरोपियन च्याम्पियनसिपमा पुर्‍याउने लक्ष्य राखेको बताएका छन् ।

उनले आफू दबाब मन पराउने खेलाडी भएको उल्लेख गर्दै नर्वेली फुटबलको समग्र विकासमा योगदान दिन चाहेको बताएका छन् । हालान्डका अनुसार वर्तमान टोलीमा असाधारण प्रतिभा भएकाले नर्वेले आगामी वर्षहरूमा अझ ठूलो सफलता हासिल गर्न सक्छ ।

नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले टोलीको सफलताका लागि हालान्डलाई सही स्थानमा बल उपलब्ध गराउनुपर्ने बताएका छन् । उनका अनुसार हालान्ड नर्वेका सबैभन्दा प्रभावशाली खेलाडी हुन् र खेलको नतिजा परिवर्तन गर्न सक्ने क्षमता राख्छन् ।

विश्व फुटबलमा लगातार कीर्तिमान बनाउँदै आएका हालान्डका लागि आगामी विश्वकप केवल अर्को प्रतियोगिता मात्र होइन, आफ्नो प्रतिभा विश्वसामु प्रदर्शन गर्ने सबैभन्दा ठूलो अवसर पनि हुनेछ । २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेको आशा अब धेरै हदसम्म उनकै काँधमा रहनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।