चिसो पेय पदार्थको विकल्पमा स्वस्थवद्र्धक मही

आधुनिक जीवनशैली र पश्चिमा संस्कृतिको बढ्दो प्रभावसँगै नेपाली बजारमा कृत्रिम आयातीत चिसो पेय पदार्थको उपभोग अत्यधिक बढेको छ । रासायनिक रंग, चिनीको उच्च मात्रा र मानव स्वास्थ्यलाई हानि गर्ने रसायन मिसाइएका यस्ता आयातीत पेय पदार्थका लागि नेपाली उपभोक्ताले बर्सेनि अर्बौँ रुपैयाँ खर्चिरहेका छन् ।

बजारमा पाइने बट्टा र बोतलका महँगा पेय पदार्थले एकातिर देशको पैसा बाहिर पठाइरहेका छन् भने अर्कोतिर जनस्वास्थ्यमा गम्भीर संकट निम्त्याइरहेका छन् । यस्तो निराशाजनक अवस्थाबिच बाँकेको कोहलपुर नगरपालिका–१० का युवा उद्यमी सन्तोष पौडेलले अघि सारेको ‘ठेकी स्वादको मही’को व्यावसायिक उत्पादन र ब्रान्डिङको प्रयासले नेपाली बजारमा एउटा स्वस्थ र मौलिक क्रान्तिको संकेत गरेको छ । आयातीत र अस्वस्थकर चिसो पेय पदार्थको विकल्पमा हाम्रो आफ्नै रैथाने, परम्परागत र स्वास्थ्यवद्र्धक महीलाई स्थापित गर्नु आजको प्रमुख आवश्यकता बनेको छ ।

आर्थिक दृष्टिकोणबाट हेर्दा महीको व्यावसायिक उत्पादन र प्रवद्र्धन बहुआयामिक रूपमा फाइदाजनक देखिन्छ । बजारमा पाइने बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ खरिद गर्दा देशको ठूलो आर्थिक हिस्सा बाहिरिन्छ, जसले व्यापार घाटा बढाउन मुख्य भूमिका खेलेको छ । तर सन्तोष पौडेलले सञ्चालन गरेको ‘ए–वान डेरी उद्योग’ जस्ता स्थानीय प्रयासहरूले स्वदेशी पुँजीलाई देशभित्रै चलायमान बनाउन मद्दत गर्छन् ।

दाउराको चुलोमा दूध उमालेर, काठको ठेकी र मदानीको प्रयोग गरी रैथाने शैलीमा तयार पारिने महीले स्थानीय दुग्ध उत्पादक किसानहरूको आर्थिकस्तर उकास्न प्रत्यक्ष योगदान पुर्‍याउँछ । किसानहरूले उत्पादन गरेको दूधले उचित बजार पाउँदा ग्रामीण अर्थतन्त्र मजबुत हुन्छ । बिस्तारै महँगा आयातीत पेय पदार्थको आयातमा कमी आउन थाल्छ । स्वदेशी कच्चा पदार्थमा आधारित यस्ता उद्योगले देशभित्रै पैसा रोक्ने र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने सामर्थ्य राख्छन् ।

स्वास्थ्यका दृष्टिकोणले महीलाई अमृत समान मानिन्छ, जुन बजारिया रासायनिक चिसोको तुलनामा हजारौँ गुणा उत्तम छ । अचेल उपभोक्ताहरू स्वादसँगै स्वास्थ्यप्रति पनि सचेत बन्दै गएका छन् । पौडेलको उद्योगमा उत्पादित महीले पाचन प्रणालीमा सुधार गर्ने, शरीरलाई प्राकृतिक चिस्यान दिने, एसिडिटी कम गर्ने र थकान मेटाउने जस्ता काम गर्दछ ।

यसका साथै मही क्याल्सियमको ठूलो स्रोत हो र यसले रक्तचाप नियन्त्रणमा समेत सहयोग पुर्‍याउँछ । आगोमा पकाइएको दूध र ठेकीमा मथिएको महीमा काठको प्राकृतिक गन्ध र आगोको मौलिक स्वाद मिसिने भएकाले यसले कृत्रिम पेय पदार्थले जस्तो शरीरलाई नोक्सान गर्दैन, बरु ऊर्जा प्रदान गर्दछ । केमिकल र अत्यधिक चिनीयुक्त कार्बोनेटेड पेय पदार्थले कलेजो, मिर्गौला र मोटोपनको समस्या निम्त्याइरहेको वर्तमान समयमा महीको नियमित सेवन आमनागरिकको स्वास्थ्य रक्षाका लागि सर्वोत्तम प्राकृतिक ओखती हो ।

मही व्यवसायको अर्को सुन्दर पक्ष भनेको स्वरोजगार र रोजगारी सिर्जना हो । देशमा रोजगारीको अभाव देखाउँदै दैनिक हजारौँ युवाहरू खाडी र अन्य मुलुक पलायन भइरहेका बेला सन्तोष पौडेल जस्ता युवाले स्वदेशमै उद्यमशीलताको उदाहरणीय बाटो देखाएका छन् । राजनीतिमा सेवा भावले लागे पनि जीवन धान्न गाह्रो भएपछि व्यवसाय अँगालेका पौडेलले आफ्नो उद्योगमार्फत परिवारका सदस्यसहित अन्य ४ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

एउटा सानो स्थानीय उद्योगले त यति रोजगारी सिर्जना गर्न सक्छ भने देशभर नै मही र दुग्धजन्य पदार्थको ब्रान्डिङ गर्ने हो भने हजारौँ युवाहरू स्वदेशमै स्वरोजगार बन्न सक्छन् । वैदेशिक रोजगारीको बाध्यात्मक अवस्थालाई न्युनीकरण गर्न र देशभित्रै श्रमको सम्मान गर्ने वातावरण बनाउन यस्ता मौलिक उत्पादनमा आधारित उद्योगहरूको विस्तार अपरिहार्य छ ।

यस्ता मौलिक र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य पूरा गर्न राज्यको ठूलो सहयोग र प्रोत्साहन आवश्यक पर्दछ । लुम्बिनी प्रदेश सरकार र कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको अटोका कारण पौडेललाई मही बजारसम्म पुर्‍याउन सजिलो भएको सुखद पक्ष हो ।

तर यति मात्र पर्याप्त छैन । उद्योगी पौडेलले स्वच्छ पिउने पानीका लागि आवश्यक फिल्टर प्रणालीमा अनुदान वा सहुलियतको माग गरेझैँ सरकारले साना उद्यमीहरूलाई प्रविधि, आधुनिक प्याकेजिङ र बजार व्यवस्थापनमा थप सहुलियत दिनुपर्छ ।

मिति २०८३ जेठ २० गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।