रवि लामिछानेको भारत भ्रमणले खोलेको संवादको ढोका

काठमाडौं । पाँचदिने भारत भ्रमण सम्पन्न गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार स्वदेश फर्केका छन् । देशभित्र प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा सम्बन्धबारे दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक बहस चर्किरहेका बेला लामिछानेको भारत भ्रमण र त्यसपछि आएको उनको अभिव्यक्तिलाई विशेष चासोका साथ हेरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले आफ्नो भ्रमणलाई “ढोल नबजाई गरिएको कूटनीतिक प्रयास” का रूपमा व्याख्या गरे । विगतमा टेलिभिजन कार्यक्रम सञ्चालनका क्रममा ‘ग्रेटर नेपाल’को नक्सा भित्तामा टाँसेर कडा अभिव्यक्ति दिने गरेका उनी यसपटक भने संयमित र सन्तुलित रूपमा प्रस्तुत भएका देखिए ।

सीमा विवादका विषयमा के कस्तो छलफल भयो भन्ने प्रश्नमा उनले कूटनीतिक विषयहरू सार्वजनिक रूपमा ठूलो स्वरमा उठाउने भन्दा पनि उचित माध्यममार्फत समाधान गर्नुपर्नेमा जोड दिए । “कुनै पनि विषय कूटनीतिक च्यानलमार्फत, समय र चरणअनुसार अघि बढाउनुपर्ने हुन्छ ढोल बजाएर होइन, आवश्यक ठाउँमा आवश्यक तरिकाले कुरा उठाउनुपर्छ,” उनले भने ।

लामिछानेले एक्टिभिस्ट, पत्रकार र राजनीतिक दलको भूमिकाबीचको भिन्नतालाई पनि प्रस्ट्याए । उनका अनुसार जनस्तरमा लोकप्रियता कमाउनका लागि चर्का अभिव्यक्ति दिनु सजिलो भए पनि दीर्घकालीन समाधानका लागि कूटनीतिक संवेदनशीलता आवश्यक हुन्छ । “समस्या समाधानका लागि चरणबद्ध प्रक्रिया हुन्छ । त्यसलाई बुझ्न नसक्दा कूटनीति प्रभावकारी हुँदैन,” उनले बताए ।

भारत भ्रमणका क्रममा आफूले केवल राजनीतिक विषयमा मात्र होइन, खेलकुददेखि सूचना प्रविधि (आईटी)सम्मको फराकिलो क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेको उनले जानकारी दिए । नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन विकास कूटनीतिलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश आफूले भारतीय नेतृत्वलाई दिएको उनको भनाइ थियो । “नेपाल र भारतको सम्बन्ध त्यतिबेला अझ गहिरो हुन्छ जब हामी समृद्धिको यात्रामा सँगसँगै अघि बढ्छौं । सहकार्यले सम्बन्ध बलियो बनाउँछ, विगतका कमजोरी बोकेर अघि बढ्नु पर्दैन,” उनले भने । उनले आपसी सम्मान र समान हितका आधारमा सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा व्यक्त गरेको ‘भारतको भूमि नेपालले पनि मिचेको छ’ भन्ने अभिव्यक्तिबारे सोधिएको प्रश्नमा लामिछानेले त्यो सरकार वा आफ्नो पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारे । उनले परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई नै आधिकारिक धारणा मान्नुपर्ने बताए । “परराष्ट्र नीति पार्टीपिच्छेको विषय होइन, यो राष्ट्रको विषय हो । परराष्ट्र मन्त्रालयले स्पष्ट पारेपछि थप व्याख्या आवश्यक पर्दैन,” उनले भने । यस सन्दर्भमा उनले कूटनीतिक विषयमा एकीकृत धारणा आवश्यक हुने पनि औंल्याए ।

राजनीतिक रूपमा आफू अस्थिरताको पक्षमा नरहेको बताउँदै लामिछानेले रास्वपा स्थिर सरकारको पक्षमा रहेको धारणा दोहोर्‍याए । चुनावअघि भएको सहमतिअनुसार सरकारको नेतृत्व बालेन्द्र शाहले नै गर्ने उनले स्पष्ट पारे । आफ्नो भ्रमणको अर्को महत्वपूर्ण पक्ष पारदर्शिता रहेको उनले दाबी गरे । विगतमा नेताहरूले भारत भ्रमणका क्रममा गोप्य रूपमा भेटघाट गर्ने परम्परालाई संकेत गर्दै उनले आफूले गरेका सबै भेटवार्तामा नेपाली दूतावासका प्रतिनिधि उपस्थित रहेको जानकारी दिए । “हाम्रा सबै बैठकमा कार्यवाहक राजदूत उपस्थित हुनुहुन्थ्यो । कुनै पनि अपारदर्शी गतिविधि भएन । भित्र एउटा बाहिर अर्को कुरा गर्ने काम भएन,” उनले भने । राजनीतिलाई अर्थराजनीतिमा रूपान्तरण गर्दै विकास कूटनीतिमा केन्द्रित भएर छलफल गरिएको उनले बताए ।

भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री, विदेशमन्त्री र गृहमन्त्रीलगायत उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरेका थिए । ती भेटवार्तामा नेपालका विकास आयोजना, द्विपक्षीय सहकार्य र भविष्यका सम्भावनाबारे गम्भीर छलफल भएको उनले जनाए । उनका अनुसार अघिल्ला सरकारले थालेका सकारात्मक कामलाई निरन्तरता दिने र अल्झिएका परियोजनाहरूलाई अघि बढाउने विषयमा भारतीय पक्षसँग समझदारी बनेको छ । “छिमेकी देशले विकासमा उल्लेखनीय प्रगति गरेका छन् ।

हामीले पनि त्यो गति समात्नुपर्छ भन्ने अनुभूति अझ प्रबल भयो,” उनले भने । भ्रमणकै क्रममा उनले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा लेख प्रकाशित गर्दै नेपालले चाहेको सहकार्यको मोडेलबारे स्पष्ट सन्देश दिएको बताए । उक्त लेखमार्फत नेपाल–भारत सम्बन्धलाई विकासमुखी र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याइएको उनले जानकारी दिए ।

भारतमा आफूले पाएको सम्मानलाई उनले नेपाल र नेपाली जनताप्रतिको सम्मानका रूपमा व्याख्या गरे । भारतीय प्रधानमन्त्री र अन्य उच्च नेतृत्वलाई नेपाल भ्रमणको निम्ता दिएको पनि उनले बताए । “दुवै पक्ष सकारात्मक छन्, समय मिल्दा भ्रमण हुनेछ भन्ने आशा छ,” उनले भने । लामिछानेको भारत भ्रमणका क्रममा उनलाई दिइएको स्वागत र सम्मानले पनि विशेष ध्यान तानेको थियो । भारतीय जनता पार्टीको मुख्यालयमा उनलाई बाजागाजा, सांस्कृतिक प्रस्तुति र पुष्पवर्षासहित स्वागत गरिएको थियो भने रातो कार्पेट बिछ्याइएको दृश्यले पनि व्यापक चर्चा पायो ।

त्यसैगरी, भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा देखिएको औपचारिकता पनि उल्लेखनीय मानिएको छ । भेटका क्रममा दुवै देशका राष्ट्रिय झण्डा राखिएको थियो, जुन सामान्यतया दुई देशका सरकार प्रमुखबीचको भेटमा मात्र देखिने अभ्यास हो । यसले लामिछानेलाई केवल पार्टी नेताका रूपमा नभई प्रभावशाली राष्ट्रिय नेताका रूपमा प्रस्तुत गरिएको सन्देश दिएको विश्लेषण गरिएको छ ।

समग्रमा, लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ प्रकारको कूटनीतिक अभ्यासका रूपमा हेरिएको छ । सार्वजनिक रूपमा चर्का अभिव्यक्ति दिने भन्दा पनि संयमित, संरचित र परिणाममुखी कूटनीतिक संवादमार्फत सम्बन्ध सुधार र विकास सहकार्य विस्तार गर्ने प्रयासका रूपमा यस भ्रमणलाई विश्लेषण गरिएको छ । आगामी दिनमा यसले द्विपक्षीय सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने अझै मूल्यांकनको चरणमै रहेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।