काठमाडौं । नेपाली सेनाले ‘सैनिक सेवा नियमावली’ संशोधन गर्दै सेवा अवधि बाँकी हुँदै राजीनामा दिने र भगौडा सैनिकमाथि थप कडाइ गरेको छ ।
सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गरी राजपत्रमा प्रकाशित गरिएको ‘सैनिक सेवा (छैटौँ संशोधन) नियमावली, २०८३’ मा सेवा अवधि बाँकी रहँदै सैनिक सेवा छोड्ने सैनिकमाथि कडा कारबाहीको व्यवस्था छ । सैनिक सेवा नियमावलीको नियम ७८ (क) को उनियम १ मा नेपाली सेनाको कुनै पनि पदमा भर्ना भएको सैनिक व्यक्तिले अनिवार्य रूपमा कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने उल्लेख छ ।
संशोधन गरिएको सैनिक सेवा नियमावलीको ७८ (क)को उपनियम २ मा भनिएको छ, “उपनियम (१) बमोजिमको सेवा अवधि नपुग्दै कुनै सैनिक व्यक्तिले आफ्नो पदबाट राजीनामा दिएको अवस्थामा सो अवधिमा निज नियुक्त भएको दर्जाको आधारभूत तालिम, स्वदेश वा विदेशमा गरेका अन्य तालिम र शैक्षिक योग्यता प्राप्त हुने किसिमका अध्ययन वा तालिममा भएको खर्च वापतको रकम असुल गरेर मात्र राजीनामा स्वीकृत गर्नु पर्नेछ ।” यसअघिको सैनिक सेवा नियमावलीमा पाँच वर्ष सेवा नगरी छोड्ने सैनिकले दिएको राजीनामा आधारभूम तालिम लिँदा भएको खर्च असुल गरेर स्वीकृत गर्ने व्यवस्था थियो ।
“उपनियम १ बमोजिमको सेवा अवधि नपुग्दै कुनै सैनिकले आफ्नो पदबाट राजीनामा दिएको अवस्थामा निज नियुक्त भएको दर्ताको आधारभूत तालिममा निजउपर भएको सम्पूर्ण खर्च असुल उपर गरेर मात्र राजीनामा स्वीकृति गर्नुपर्नेछ” सैनिक सेवा नियमावली, २०६९ को नियम ७८क को उपनियम २ मा भनिएको छ ।
२०६९ को नियमावलीमा आधारभूत तालिमको खर्च मात्र असुल गरिने भनिएकोका अहिले संशोधन गरिएको नियमावलीमा स्वदेश वा विदेशमा गरेका अन्य तालिम र शैक्षिक योग्यता प्राप्त हुने किसिमका अध्ययन वा तालिममा भएको खर्च समेत असुल गर्ने व्यवस्था थप गरिएको छ । नियमावली संशोधन गर्दा नियम ७८क को उपनियम २ पछाडि उपनियम ३ थपिएको छ । पहिलो उपनियम २ सम्म मात्र थियो । नियम ७८क को उपनियम ३ मा भगौडा सैनिकका विषयमा उल्लेख गरिएको छ ।
“उपनियम (१) बमोजिमको सेवा अवधि नपुग्दै सेवाबाट भगौडा पर्ने सैनिक व्यक्तिबाट सेवा अवधिमा आधारभूत तालिम, स्वदेश वा विदेशमा गरेको अन्य तालिम र शैक्षिक योग्यता प्राप्त हुने किसिमका अध्ययन वा तालिममा भएको खर्च वापतको रकम असुल गरिनेछ,” सैनिक सेवा (छैटौँ संशोधन) नियमावली, २०८३ को नियम ७८क को उपनियम ३ मा भनिएको छ ।
सैनिक सेवा नियमावलीमा सैनिकले अवकाश पाउने व्यवस्था दुईथरी रहेको छ । २०६० वैशाख २८ गतेभन्दा अघि सेनामा भर्ना भएका र त्यसपछि भर्ना भएकाहरूलाई छुट्टाछुट्टै अवकाशको व्यवस्था छ । सैनिक सेवा नियमावलीमा २०६० वैशाख २८ गतेभन्दा अघि नेपाली सेनामा भर्ना हुने सहायक सेनानी र सोभन्दा माथि महारथीसम्मले २० वर्ष, जमदार, सुवेदार र प्रमुख सुवेदारले १७ वर्ष र फलोअर्स र सोभन्दा माथि हुँदासम्मकाले १६ वर्ष अवधि सेनामा सेवा गरेपछि स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था छ ।
यस्तै, २०६० वैशाख २८ गतेदेखि यता नेपाली सेनामा भर्ना हुने सहायक सेनानी र सोभन्दा माथि महारथीसम्म २० वर्ष, सुवेदार र प्रमुख सुवेदारले १९ वर्ष, जमदारले १८ वर्ष, प्युठ, अमल्दार र हुद्दाले १७ वर्ष र फलोअर्स र सिपाहीले १६ वर्ष सेनामा सेवा गरेपछि स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था सैनिक सेवा नियमावलीमा छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।































