काठमाडौँ । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् । मंगलबार उनले पद तथा गोपनीयताको शपथ लिए । व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि गुरुङमाथि दबाब बढेको थियो । रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका थिए । चौतर्फी आलोचनापछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । उनी जम्मा २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।
यसबारे अनुसन्धान गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको थियो ।
पछि समय अपुग भएपछि थप पाँच दिन म्याद थपिएको थियो । छानबिन समितिले आफ्नो अध्ययनपछि गुरुङलाई सफाइ दिएको थियो । गुरुङका सबै सेयर र सम्पत्ति मगाएर अध्ययन गर्दा उनीमाथिको आरोप पुष्टि हुन नसकेको निष्कर्ष समितिले निकालेको हो । समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको चल–अचल सबै सम्पत्तिलाई ‘वैध’ ठहर्याएको छ । प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका त्रुटिलाई व्यक्तिको नभई ‘राज्यको कमजोर प्रणाली’ को रूपमा व्याख्या गरिदिएको छ ।
आज पदभार ग्रहणपछि उनले चारवटा निर्णय सुनाए । उनले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने, जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्यन गर्ने, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने निर्णय सुनाए । त्यस्तै उनले पदभार सम्हाल्दै आफुमाथि जस्तोसुकै आरोप लगाएपनि थेग्न सक्ने तर नेपाली चेलीहरुलाई दुख दिएको सहन नसक्ने बताए ।
आफूमाथी तथ्यबिनै आरोप लगाइएको पनि उनको आरोप थियो । मिडिया ट्रायलकै कारण कोहि व्यक्तिले आत्महत्या गर्ने अवस्था आउन नहुनेमा गृहमन्त्री सचेत रहेको र यस किसिमका घटनामा गभ्मीर भएर अनुसन्धान गर्ने उनको भनाइ छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।
































