काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार पुनलाई मन्त्री नियुक्त गरेका हुन् ।
नियुक्तिपछि राष्ट्रपति भवनमा आयोजित कार्यक्रममार्फत उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । शपथपछि उनी सिंहदरबार पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पुनसँगै गोरखाबाट निर्वाचित सांसद सुधन गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ। नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा प्रधानमन्त्री शाहले महत्वपूर्ण मन्त्रालयहरूमा नयाँ अनुहारहरूलाई जिम्मेवारी दिएका छन्। विशेषगरी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा महावीर पुनको नियुक्ति धेरैले अर्थपूर्ण निर्णयका रूपमा लिएका छन्, किनभने उनी लामो समयदेखि यस क्षेत्रमा सक्रिय अभियन्ता रहँदै आएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमले सरकार परिवर्तनको बाटो खुलाएको थियो। २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको थियो । त्यसपछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो, जसमा महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनले २०८२ असोज ६ गते उक्त मन्त्रालयको पदभार ग्रहण गरेका थिए । तर उक्त सरकार लामो समय टिक्न सकेन ।
राजनीतिक समीकरण फेरिएपछि पुनले माघ ६ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । देशभर स्वतन्त्र उम्मेदवारहरूको लहर चलेको भए पनि विजयी हुनेमा पुन एक्ला उम्मेदवार बने। उनले २२ हजार ८५० मत प्राप्त गर्दै आफ्नो निर्वाचन क्षेत्रमा विजय हासिल गरेका थिए ।
स्वतन्त्र रूपमा निर्वाचित भएपछि पनि उनले आफ्नो मुख्य एजेन्डा विज्ञान, प्रविधि र नवप्रवर्तनकै विकासमा केन्द्रित राख्दै आएका थिए । उनले लामो समयदेखि नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका थिए ।
सोही मागलाई सम्बोधन गर्दै सरकारले गएको वैशाख ३० गते नेपाल सरकार कार्य विभाजन नियमावली २०८३ जारी गरेको थियो । उक्त नियमावलीमार्फत मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गरिएको थियो र विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई छुट्टै मन्त्रालयको रूपमा स्थापना गरिएको थियो । यही नयाँ संरचनाअन्तर्गत महावीर पुनलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनको नियुक्तिले विज्ञान तथा प्रविधि क्षेत्रमा दीर्घकालीन सुधार र नवप्रवर्तन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । विज्ञहरूका अनुसार पुनको अनुभव, दृष्टिकोण र कार्यशैलीले नेपालमा प्रविधि विकासको गति तीव्र बनाउन सहयोग पुग्न सक्छ ।
महावीर पुनको जीवनयात्रा संघर्ष, समर्पण र नवप्रवर्तनको उत्कृष्ट उदाहरण मानिन्छ । वि.सं. २०११ माघ ५ गते म्याग्दीको अर्मला गाउँमा जन्मिएका पुनले बाल्यकाल गाउँकै कठिन परिस्थितिमा बिताएका थिए । त्यतिबेला गाउँमा शिक्षा, स्वास्थ्य तथा सञ्चारजस्ता आधारभूत सेवाहरूको पहुँच अत्यन्त सीमित थियो । यिनै कठिनाइहरूले उनलाई भविष्यमा गाउँको विकासका लागि केही गर्ने प्रेरणा दिएको मानिन्छ । उनका बुवा कृष्ण पुन हुन्। प्रारम्भिक शिक्षा गाउँमै पूरा गरेका पुन पछि उच्च शिक्षाका लागि विदेश गएका थिए ।
सन् १९८९ मा उनी अमेरिका पुगेका थिए। अमेरिकाको नेब्रस्का विश्वविद्यालयमा छात्रवृत्तिसहित विज्ञान शिक्षा विषयमा स्नातक तह उत्तीर्ण गरेका उनले सन् २००१ मा शैक्षिक प्रशासनमा मास्टर डिग्री हासिल गरेका थिए । उच्च शिक्षा हासिल गरेपछि उनले विदेशमै बस्ने अवसर हुँदाहुँदै नेपाल फर्किने निर्णय गरे। सन् २००१ देखि उनले ‘नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट’ सुरु गरेका थिए । उक्त परियोजनामार्फत उनले नेपालका दुर्गम पहाडी तथा हिमाली क्षेत्रका गाउँहरूमा इन्टरनेट सेवा पुर्याउने अभियान थाले। सीमित स्रोत र अत्यन्त कठिन भौगोलिक अवस्थाबीच उनले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने काम गरेका थिए, जुन त्यसबेला निकै चुनौतीपूर्ण मानिन्थ्यो ।
उनको यही योगदानले नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा पाएको छ। ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा विस्तार गरी डिजिटल विभाजन कम गर्ने प्रयासका लागि उनलाई विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारहरूले सम्मान गरिएको छ । सन् २००७ मा उनले एसियाको नोबेल पुरस्कारका रूपमा चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ प्राप्त गरेका थिए। यो पुरस्कारले उनको कामलाई विश्वव्यापी रूपमा चिनाएको थियो ।
त्यस्तै, सन् २०१४ मा इन्टरनेट सोसाइटीले उनलाई ‘जोनाथन बी पोस्टल’ अवार्ड प्रदान गरेको थियो। ‘नेपाल वायरलेस नेटवर्क’ परियोजनामार्फत ग्रामीण समुदायलाई इन्टरनेटसँग जोड्न खेलेको भूमिकाको कदर गर्दै उनलाई उक्त सम्मान दिइएको हो । यसबाहेक उनले अशोका फेलोसिप, इन्टरनेट हल अफ फेम, सोसल इनोभेसन अवार्ड लगायतका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष समेत हुन् ।
उक्त केन्द्रमार्फत उनले स्वदेशमै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने काम गर्दै आएका छन् । स्थानीय स्तरमै उपलब्ध स्रोत र सीपको प्रयोग गरी नयाँ आविष्कार गर्न युवाहरूलाई प्रेरित गर्नु उनको प्रमुख उद्देश्य रहँदै आएको छ । पछिल्लो समय उनी आफ्नो आत्मकथात्मक पुस्तक ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’को प्रवद्र्धनका लागि देशव्यापी भ्रमणमा थिए । उक्त पुस्तकमार्फत उनले आफ्नो जीवनका अनुभव, संघर्ष र सफलताका कथा सार्वजनिक गरेका छन्, जसले विशेषगरी युवापुस्तालाई प्रेरणा दिने अपेक्षा गरिएको छ ।
अब विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा उनले के–कस्ता नीति तथा कार्यक्रम ल्याउनेछन् भन्ने विषयमा व्यापक चासो व्यक्त गरिएको छ । विशेषज्ञहरूका अनुसार नेपालमा प्रविधि विकास, अनुसन्धान तथा नवप्रवर्तनका लागि स्पष्ट नीतिगत ढाँचा आवश्यक रहेको छ, जसमा पुनको नेतृत्व महत्वपूर्ण हुन सक्छ । उनको नियुक्तिले विज्ञान तथा प्रविधिलाई राज्यको प्राथमिकतामा राख्ने संकेत दिएको भन्दै धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । अब आगामी दिनमा उनले आफ्नो अनुभवलाई सरकारी नीतिमा कसरी रूपान्तरण गर्छन् र देशको विकासमा त्यसले कस्तो प्रभाव पार्छ भन्ने कुराले उनको सफलताको मापन गर्नेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।






























