काभा पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपालको टोली घोषणा

काठमाडौं । नेपाल भलिबल संघले पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ का लागि १२ सदस्यीय नेपाली राष्ट्रिय पुरुष टोली घोषणा गरेको छ । साथै राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्टको पुनरागमन भएको छ ।

पाकिस्तान भलिबल फेडेरेशनको आयोजनामा आगामी जुलाई १ देखि ७ तारिख (असार १७–२३ गते) सम्म इस्लामाबादमा हुने प्रतियोगिताका लागि नेपाल भलिबल संघले अन्तिम टोली सार्वजनिक गरेको हो । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दद्वारा हस्ताक्षरित सूचनाअनुसार १२ सदस्यीय टोलीको अन्तिम छनोट गरिएको हो ।

घोषित टोलीमा सुनिल बोहोरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दीपेश कुँवर र विनोद चन्द रहेका छन् ।

यस टोलीमा सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, हिमाल सुनारी र दीपेश कुँवरले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । बाँकी खेलाडीहरू भने गत वर्ष बंगलादेशमा सम्पन्न काभा पुरुष नेसन्स कपमा सहभागी टोलीका सदस्य हुन् ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठका अनुसार राष्ट्रिय खेलकुद परिषद्का मुख्य भलिबल प्रशिक्षकसमेत रहेका जगदिश भट्टलाई पुरुष टोलीको प्रशिक्षणको जिम्मेवारी दिइएको हो । यसअघि राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी भरत यादवले सम्हाल्दै आएका थिए ।

भट्टको प्रशिक्षणमा नेपाली टोली काभा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । यसअघि काठमाडौंमा सम्पन्न काभा महिला भलिबल च्याम्पियनसिपमा पनि भट्टले नेपाली महिला टोलीको प्रशिक्षण गरेका थिए ।

दक्षिण तथा मध्य एसियाका उत्कृष्ट टोलीहरूको सहभागिता रहने यस प्रतियोगिता नेपाली टोलीका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । नेपाल भलिबल संघले प्रतियोगितामा सहभागी नेपाली टोलीलाई सफलताको शुभकामना व्यक्त गरेको छ ।

नेपाली पुरुष टोलीले अहिलेसम्म काभा प्रतियोगितामा पदक जित्न सकेको छैन । झन्डै एक दशकअघि सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले कांस्य पदक जितेको थियो, जुन पुरुष टोलीको अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्मको एकमात्र पदक हो ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।