विमानस्थलबाटै फर्काइए नेम्वाङ–राई, एन्फा विवाद नयाँ मोडमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश यात्रा गर्न नदिइएपछि नेपाली फुटबलको विवाद फेरि चर्किएको छ ।

फिफा विश्वकप २०२६ को उद्घाटन समारोह तथा फुटबल समिटमा सहभागी हुन मेक्सिको हुँदै अमेरिका जाने तयारीमा रहेका नेम्वाङ र राईलाई मंगलबार अध्यागमन विभागले विमानस्थलबाटै फर्काएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसका आधारमा उनीहरूको विदेश यात्रा रोकिएको बताइएको छ ।

घटनापछि महासचिव राईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै एन्फामाथि बाह्य हस्तक्षेप जारी रहेको आरोप लगाए। उनले फिफा र एएफसीले पटकपटक स्वायत्तता कायम गर्न आग्रह गरे पनि त्यसको पालना नभएको दाबी गरेका छन् ।

राईका अनुसार फिफाले विश्वभरका २११ सदस्य राष्ट्रका अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहसँगै आगामी चार वर्षको बजेट तथा फुटबल विकास योजनासम्बन्धी कार्यक्रममा निमन्त्रणा गरेको थियो। उनले यस्तो महत्वपूर्ण कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्न नपाउनु दुःखद भएको उल्लेख गरेका छन् ।

आफूहरूलाई रोक लगाइने जानकारी पहिल्यै भए पनि फिफालाई औपचारिक जवाफ दिनुपर्ने भएकाले निर्धारित समयमै विमानस्थल पुगेको राईको भनाइ छ। उनले आफूहरूविरुद्ध कुनै आर्थिक, फौजदारी वा राष्ट्रविरुद्धको अपराधको आरोप नभएको अवस्थामा विदेश यात्रा रोकिएको विषयमा समेत प्रश्न उठाएका छन् ।

राईले एन्फाका पूर्वअध्यक्ष गणेश थापा र कर्माछिरिङ शेर्पाप्रति संकेत गर्दै फुटबललाई संकटतर्फ धकेल्ने प्रयास भइरहेको आरोप पनि लगाए । उनका अनुसार केही व्यक्तिले सरकारलाई भ्रममा पारेर नेपाली फुटबललाई अन्तर्राष्ट्रिय निलम्बनको जोखिममा पुर्‍याउने वातावरण बनाएका छन् ।

यता, पूर्वअध्यक्ष शेर्पाले भने एन्फा नेतृत्वले कालोसूचीबाट नाम हटाउन विभिन्न निकायमा दबाब दिएको दाबी गरेका छन् । उनले निर्वाचनसम्बन्धी विवाद समाधान र राखेपको निर्णय कार्यान्वयन भएपछि मात्रै विदेश भ्रमणको विषय अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

अर्का पूर्वअध्यक्ष गणेश थापाले पनि भिडियो सन्देशमार्फत वर्तमान नेतृत्वको आलोचना गरेका छन् । त्यस्तै राष्ट्रिय टोलीका पूर्वकप्तान तथा एन्फाका पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंहले वर्तमान नेतृत्व खेलाडी र क्लबका समस्याभन्दा विदेश भ्रमणमा बढी केन्द्रित भएको टिप्पणी गरेका छन्। उनले विमानस्थलबाट फर्काइएको घटनालाई नेपाली फुटबलका लागि अन्तर्राष्ट्रिय स्तरको अपमानजनक अवस्था भएको बताएका छन् ।

निर्वाचनसम्बन्धी विवादका कारण राखेपले गत चैतमा एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । त्यसपछि गृह मन्त्रालयको निर्देशनअनुसार एन्फाका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको विदेश यात्रा रोकिएको थियो । सोही निर्णयअनुसार अध्यागमन विभागले उनीहरूलाई विदेश जान प्रतिबन्ध लगाएको थियो ।

यद्यपि, जेठ १ गते खेलकुद मन्त्रालय, राखेप र एन्फा पदाधिकारीबीच भएको छलफलपछि एन्फामाथिको निलम्बन फुकुवा गरिएको थियो। तर आर्थिक विषयको छानबिन जारी रहेकाले विदेश यात्रा सम्बन्धी प्रतिबन्ध भने कायम रहेको बताइएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।