काठमाडौं । नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहज, छिटो र पारदर्शी रूपमा कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रालिबीच सहकार्य भएको छ ।
यस सहकार्यमार्फत डिजिटल माध्यमबाट कर्जा आवेदन तथा स्वीकृति प्रक्रियालाई थप प्रभावकारी बनाइने भएको छ ।
नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले अब डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन्। यसले परम्परागत कर्जा प्रक्रियालाई सरल बनाउँदै व्यवसायीहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यस सुविधाको लाभ लिन उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली प्रयोग गरेको हुनुपर्नेछ । साथै, आइएमएस सफ्टवेयरमा आबद्ध भई आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनाका लागि योग्य हुनेछन् ।
सहकार्यअनुसार आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायक (टीएसपी) का रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ। उक्त प्लेटफर्ममार्फत योग्य उद्यमहरूले आफ्नो इआरपी प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा अनलाइन कर्जा आवेदन दिन तथा आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन् । डेटा–आधारित मूल्यांकन प्रणालीको प्रयोगले कर्जा स्वीकृति प्रक्रियालाई थप छिटो, विश्वसनीय र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
बैंकका अनुसार यो पहलले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । साथै, व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहन गर्दै आधुनिक वित्तीय सेवाको उपयोग बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
लक्ष्मी सनराइज बैंकले आफ्नो बैंकिङ विशेषज्ञता र आइएमएस सफ्टवेयरले आफ्नो प्रविधिगत क्षमताको संयोजनमार्फत व्यवसायहरूलाई सहज कर्जा पहुँच उपलब्ध गराउने लक्ष्य राखेका छन् । दुवै संस्थाले यस सहकार्यले साना तथा मझौला उद्यमहरूको दिगो विकास, उत्पादकत्व वृद्धि तथा व्यवसाय विस्तारमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
बैंकका अनुसार डिजिटल लेन्डिङ प्लेटफर्मको प्रयोगले कर्जा प्राप्तिको प्रक्रियालाई थप पारदर्शी, सुरक्षित र ग्राहकमैत्री बनाउनेछ। साथै, यसले नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउने र वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणलाई थप गति दिने अपेक्षा गरिएको छ ।































