रियलमीका दुई नयाँ फाइभजी स्मार्टफोन नेपालमा, शक्तिशाली ब्याट्री र एआई सुविधासहित सार्वजनिक

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्नो नयाँ ‘पी३ सिरिज’ अन्तर्गत पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले नयाँ सिरिजमार्फत उच्च कार्यसम्पादन, आधुनिक डिजाइन तथा कृत्रिम बुद्धिमत्तामा आधारित नवीन सुविधाहरू उपभोक्तामाझ ल्याएको जनाएको छ ।

रियलमीका अनुसार पी३ अल्ट्रा फाइभजी प्रिमियम श्रेणीका प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको स्मार्टफोन हो। यसमा डाइमेन्सिटी ८३५० अल्ट्रा प्रोसेसर जडान गरिएको छ, जसले द्रुत र सहज कार्यसम्पादन प्रदान गर्ने कम्पनीको दाबी छ । फोनमा ६ हजार एमएएच क्षमताको टाइटन ब्याट्री र ८० वाटको अल्ट्रा चार्ज प्रविधि समावेश गरिएको छ, जसले छोटो समयमा ब्याट्री चार्ज गर्न सहयोग पुर्‍याउँछ ।

यो स्मार्टफोन ७.३८ मिलिमिटर मोटाइको स्लिम डिजाइनमा उपलब्ध रहेको छ। साथै, यसमा पानी तथा धुलो प्रतिरोधी आईपी–६९ स्तरको सुरक्षा सुविधा दिइएको छ । १.५ के क्वाड–कर्भ्ड एमोलेड डिस्प्ले, अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) सहितको ५० मेगापिक्सेल सोनी क्यामेरा तथा उन्नत शीतलीकरण प्रणाली यसका प्रमुख विशेषता हुन् ।

पी३ अल्ट्रा फाइभजीमा १२ जिबी र्याम र २५६ जिबीसम्म भण्डारण क्षमता उपलब्ध छ । साथै, दोहोरो स्टेरियो स्पिकर, गेमिङका लागि विशेष ‘जीटी बुस्ट’ सुविधा तथा रियलमी यूआई ६.० प्रणाली पनि समावेश गरिएको छ । यो स्मार्टफोन ‘ग्लोइङ लुनार ह्वाइट’ र ‘नेप्च्युन ब्लु’ रंगमा उपलब्ध हुनेछ । यसको मूल्य रु. ६५ हजार ९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, रियलमीले पी३ फाइभजी स्मार्टफोन पनि नेपाली बजारमा ल्याएको छ । यसमा स्न्यापड्रागन ६ जेन–४ फाइभजी प्रोसेसर प्रयोग गरिएको छ, जसले दैनिक प्रयोगसँगै गेमिङ अनुभवलाई पनि प्रभावकारी बनाउने कम्पनीको विश्वास छ ।

फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री, ४५ वाट फास्ट चार्जिङ सुविधा तथा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड ई–स्पोर्ट्स डिस्प्ले जडान गरिएको छ । साथै, आईपी–६६, आईपी–६८ र आईपी–६९ स्तरको पानी तथा धुलो प्रतिरोधी सुरक्षा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

रियलमी पी३ फाइभजीमा अधिकतम २६ जिबीसम्म विस्तारित र्याम, २५६ जिबी आन्तरिक भण्डारण क्षमता, ५० मेगापिक्सेल कृत्रिम बुद्धिमत्ता आधारित क्यामेरा, एन्ड्रोइड १५ मा आधारित रियलमी यूआई ६.० तथा दोहोरो स्टेरियो स्पिकर जस्ता विशेषता समावेश गरिएका छन् ।

यो स्मार्टफोन ‘स्टारलाइट ग्रीन’ र ‘कोमेट ग्रे’ रंगमा उपलब्ध हुनेछ। यसको मूल्य रु. ४४ हजार ९९९ तोकिएको छ । नयाँ पी३ सिरिज सार्वजनिकसँगै रियलमीले नेपाली उपभोक्तालाई अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ । कम्पनीका अनुसार नयाँ स्मार्टफोनहरू विशेषगरी उच्च कार्यसम्पादन, लामो ब्याट्री ब्याकअप र गेमिङ अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गरी बजारमा ल्याइएका हुन् ।