गुल्मी । एक समय हरियालीले भरिभराउ रहने गुल्मीका पहाडी खेतबारीहरू यतिबेला बाँदर आतंकका कारण संकटमा परेका छन् ।
वर्षौँदेखि खेतीपाती गर्दै आएका किसानहरू अहिले उत्पादन बढाउनेभन्दा पनि लगाएको बाली जोगाउने चिन्तामा दिन बिताउन बाध्य छन् । बाँदरको बढ्दो उपद्रवले खेतीयोग्य जमिन बाँझो बन्न थालेको छ भने धेरै किसान खेती छोड्ने मनस्थितिमा पुगेका छन् ।
गुल्मीदरबार गाउँपालिका–५ का सूर्य प्रसाद पौडेल हरेक बिहान सूर्योदय हुनुअघि नै उठ्छन् । तर उनको दिन अन्य किसानजस्तै खेतबारीको नियमित कामबाट सुरु हुँदैन,उनि हातमा लठ्ठी, गुलेली र मनभरि चिन्ता बोकेर घरबाट बारीतर्फ लाग्छन् । उनको पहिलो काम बाली गोडमेल गर्नु वा सिँचाइ गर्नु भन्दा अघि, बाँदरको बथान कतिबेला आउँछ भनेर निगरानी गर्नु हो ।
बारीमा पुग्नेबित्तिकै उनको नजर वरपरका डाँडा, जंगल र रूखहरूमा पुग्छ । किनकि कुनै पनि बेला दुई/तिन सएको संख्यामा बाँदर खेतबारीमा झर्न सक्छन्। वर्षौँदेखि खेती गर्दै आएका पौडेलका लागि अहिले खेतीपातीभन्दा बाली जोगाउनु ठूलो चुनौती बनेको छ ।
“हामी बिहानदेखि साँझसम्म बारीमै बस्नुपर्छ,” उनी भन्छन्, “कहिलेकाहीँ त लगातार चार–छ दिनसम्म पनि बारी छोड्न पाइँदैन । एउटा समूहलाई धपायो भने अर्को समूह आइहाल्छ । अब खेती गर्नु भनेको खेतीजस्तो लाग्दैन, युद्धजस्तो लाग्छ।” उनको स्वरमा थकान मात्र होइन, निराशा पनि मिसिएको देखिन्छ ।
केही वर्षअघिसम्म उनको खेतबारीमा हरियाली हुन्थ्यो, मकै, आलु, केराउ, बोडी, फर्सी, मुला र विभिन्न तरकारीहरू उत्पादन हुन्थे। परिवारको खाद्यान्नको व्यवस्था त्यहीँबाट हुन्थ्यो । अतिरिक्त उत्पादन स्थानीय बजारमा बिक्री गरेर केही आम्दानी पनि हुन्थ्यो । तर अहिले अवस्था पूर्ण रूपमा बदलिएको छ।
पछिल्ला केही वर्षयता गुल्मीका पहाडी बस्तीहरूमा बाँदरको संख्या तीव्र रूपमा बढेको छ । वन क्षेत्रमा सीमित देखिने बाँदर अहिले गाउँबस्ती, खेतबारी, घरआँगन र भण्डारण गरिएको अन्नसम्म पुग्न थालेका छन् । यसको प्रत्यक्ष असर पौडेलजस्ता किसानमाथि परेको छ।
“पहिला पनि बाँदर देखिन्थे,” उनी भन्छन् , “तर अहिले जस्तो ठूलो बथान कहिल्यै थिएन । अहिले त एउटै समूहमा दुई–तीन सयसम्म बाँदर हुन्छन् । उनीहरू एकैपटक बारीमा पस्छन् र केही मिनेटमै ठूलो क्षति पुर्याउँछन् ।” उनका अनुसार बाँदरले केवल खानका लागि मात्र बाली नष्ट गर्दैनन्। उनीहरू धेरैजसो बाली चुँड्ने, फाल्ने र कुल्चने गर्छन् । जसले गर्दा किसानको क्षति झन् बढी हुन्छ।
“एउटा मकैको घोगा खान्छन् भने दसवटा चुँडेर फालिदिन्छन्,” उनी भन्छन्, “हामीले महिनौँ लगाएर हुर्काएको बाली केही क्षणमै नष्ट हुन्छ ।” सूर्य प्रसाद पौडेलको दैनिकी अहिले बाँदरको गतिविधिअनुसार चल्न थालेको छ । बिहान सबेरै बारी पुग्ने, दिनभरि निगरानी गर्ने, आवाज निकाल्ने, टिन बजाउने, लठ्ठी हल्लाउने र साँझसम्म बाली जोगाउने प्रयास गर्ने काम नै उनको दैनिक जीवन बनेको छ । कहिलेकाहीँ परिवारका अन्य सदस्यले पनि सघाउँछन् । तर दिनभरि खेतमा बसिरहनु सबैका लागि सम्भव हुँदैन।
“खेती गर्नुभन्दा बाली जोगाउन धेरै समय खर्च भइरहेको छ,” उनी भन्छन्, “काम गर्ने मान्छे कम छन् । बाँदर धपाउनमा मात्रै दिन बित्छ ।” यसले उनको व्यक्तिगत जीवनमा समेत असर पारेको छ । परिवारसँग बिताउने समय घटेको छ । अन्य सामाजिक काममा सहभागी हुन पनि कठिन भएको छ । खेतीबाट उत्पादन घटेपछि आर्थिक अवस्था समेत प्रभावित भएको छ। पौडेलका अनुसार बाँदर आतंकको सबैभन्दा ठूलो असर आर्थिक क्षेत्रमा परेको छ । किसानले बीउ, मल, जोताइ, रोपाइँ र श्रममा ठूलो लगानी गर्छन् ।
तर बाली पाक्नुअघि नै बाँदरले नष्ट गरिदिएपछि सम्पूर्ण लगानी जोखिममा पर्छ। “मकै लगाउँदा बीउ चाहिन्छ, मल चाहिन्छ, श्रम चाहिन्छ,” उनी भन्छन्, “तर अन्त्यमा बाँदरले खाइदिएपछि सबै खर्च डुब्छ ।” उनका अनुसार कतिपय ठाउँमा मकैको बोट नै बाँकी नरहने अवस्था आएको छ। मकै मात्र होइन, आलु, केराउ, बोडी, फर्सी, तरकारी र फलफूलसमेत सुरक्षित छैनन् । यसले हामीजस्ता आफ्नै बारीमा केही गरि खाउ भन्ने किसानको आत्मविश्वास कमजोर बनाएको छ। धेरै किसान अब खेती गर्न उत्साहित छैनन् । किनकि मेहनतको प्रतिफल पाउने कुनै सुनिश्चितता छैन । “मेहनत गरेर लगाएको बाली जोगिँदैन भने कसरी खेती गर्ने ?” उनी प्रश्न गर्छन् ।
सूर्य प्रसाद पौडेलको अनुभवमा अहिले गाउँका धेरै खेतबारी बाँझो हुन थालेका छन् । पहिले खेतीयोग्य जमिनले भरिएका डाँडापाखाहरू अहिले खाली देखिन थालेका छन् । उनी भन्छन्, “पहिला दुई–तीन हल गोरु लगाएर जोतिन्थ्यो, अहिले धेरै जमिन बाँझो भएको छ । कतिपयले खेती गर्नै छोडिसके।”
गाउँमा खेती घट्दै जाँदा स्थानीय उत्पादन पनि घटेको छ। यसले ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको छ । बजारमा स्थानीय उत्पादन कम पुगेपछि बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने अवस्था बढेको छ। कृषिमा आधारित ग्रामीण जीवनशैली विस्तारै कमजोर हुँदै गएको छ ।
वृद्ध किसानको झन् ठूलो पीडा
बाँदर आतंकले सबै किसानलाई असर गरे पनि वृद्धवृद्धा र महिलाहरू सबैभन्दा बढी प्रभावित भएका छन् । रेसुङ्गा नगरपालिका–५ की मनकला खनाल त्यसको उदाहरण हुन् । उनी र उनका श्रीमान मात्रै घरमा छन् । उमेरका कारण दिनभरि बारीमा बसेर बाँदर धपाउन सक्दैनन् । “हामी बुढाबुढी मात्रै छौँ,” उनी भन्छिन्, “बारी हेर्न सक्दैनौँ। बाँदरले मकैको दाना बाँकी राख्दैन ।” उनका अनुसार पहिले लगाइने अधिकांश बाली अहिले बाँदरको आहारा बनेको छ। त्यसैले उनी खेती नै छोड्ने निर्णयको नजिक पुगेकी छन् । “अब त केही पनि नलगाउने भनेर बसेकी छु,” उनले भनिन्, “सबै बाली खान्छ ।”
मनकलाको यो अनुभव गुल्मीका धेरै वृद्ध किसानहरूको साझा पीडा हो। युवाहरू रोजगारी, अध्ययन वा अन्य अवसरका लागि शहर तथा विदेश गइसकेका छन्। गाउँमा वृद्धहरू मात्र बाँकी छन् । उनीहरूसँग बाली जोगाउन आवश्यक शारीरिक क्षमता छैन । बाँदर आतंकको असर आर्थिक क्षेत्रमा मात्र सीमित छैन। यसले किसानहरूको मानसिक स्वास्थ्यमा समेत गम्भीर प्रभाव पार्न थालेको छ। दिनभरि बाली जोगाउने चिन्ता, लगानी डुब्ने डर र भविष्यप्रतिको अनिश्चितताले धेरै किसान तनावमा छन् । बाँदर धपाउने क्रममा किसानहरू शारीरिक रूपमा पनि जोखिममा परिरहेका छन्। डाँडापाखामा दौडिनुपर्दा लड्ने, घाइते हुने, घुँडा र खुट्टा दुख्ने समस्या सामान्य बन्दै गएको छ । स्थानीयहरूका अनुसार कहिलेकाहीँ बाँदरले मानिसतर्फ झम्टिने समेत गर्छन् । विशेषगरी वृद्ध र महिलाहरूका लागि बाली जोगाउनु जोखिमपूर्ण कार्य बनेको छ ।
सरकारी प्रयास, विज्ञको विश्लेषण र समाधानको जटिलता
कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेका अनुसार बाँदर समस्या केवल वन्यजन्तुको समस्या मात्र होइन । यसका पछाडि सामाजिक, वातावरणीय र जनसांख्यिक कारणहरू पनि जोडिएका छन् । उनका अनुसार पहिले गाउँमा गाईबस्तु चराउने, जंगल सफा राख्ने र मानव गतिविधि बढी हुने भएकाले बाँदरहरू गाउँसम्म कम आउँथे । तर अहिले अवस्था फेरिएको छ ।
जंगलहरू घना भएका छन् । चरन क्षेत्र घटेको छ। गाउँबाट जनसंख्या घटेको छ । खेतीयोग्य जमिन खाली हुन थालेको छ। यसले बाँदरलाई बस्ती नजिक आउन सहज बनाएको छ । अर्कोतर्फ, मानव गतिविधि घटेपछि बाँदरको प्राकृतिक डर पनि कम हुँदै गएको विज्ञहरू बताउँछन्।
सरकारी प्रयास र सीमित विकल्प
डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन अधिकृत मदन सापकोटाका अनुसार बाँदर आतंक अहिले गुल्मीको मात्र नभई देशव्यापी समस्या बनेको छ ।
“यो समस्या देशभर नै बढिरहेको छ,” उनले भने, “विशेषगरी मकैजस्ता बालीमा ठूलो क्षति भइरहेको छ ।” उनका अनुसार किसानहरूबाट राहतको माग आउने गरेको भए पनि तत्काल प्रभावकारी समाधान उपलब्ध गराउन कठिन भइरहेको छ। हाल केही स्थानमा टिमुर, बाँस र अन्य वैकल्पिक बालीको प्रवर्द्धन गर्ने प्रयास भइरहेको छ। तर यसले मूल समस्या समाधान गर्न सकेको छैन । तारबार लगाउने, आवाज निकाल्ने, मान्छे राख्ने लगायतका उपाय अपनाइए पनि ती दीर्घकालीन रूपमा प्रभावकारी साबित भएका छैनन् ।
राष्ट्रिय बहसको विषय
बाँदर आतंक अब गाउँको समस्या मात्र रहेन। यो राष्ट्रिय बहसको विषय बनिसकेको छ । संसदमा समेत यो विषय पटक–पटक उठेको छ । विभिन्न सांसदहरूले यसलाई ग्रामीण अस्तित्वसँग जोडिएको संकटको रूपमा प्रस्तुत गरेका छन् । केही सांसदहरूले समाधानका लागि सरकारमाथि दबाब बढाएका छन्। विज्ञहरू, अनुसन्धानकर्ता र नीति निर्माताहरूले दीर्घकालीन उपाय खोज्नुपर्ने आवश्यकता औँल्याइरहेका छन् । बाँदरको बन्ध्याकरण, स्थानान्तरण, लङ्गुरको प्रयोग, बासस्थान व्यवस्थापन, वैकल्पिक बाली प्रणाली लगायतका विषयमा विभिन्न तहमा छलफल भइरहेको छ ।
तर अहिलेसम्म कुनै पनि उपाय पूर्ण रूपमा सफल भएको छैन । महावीर पुन, सगर ढकाल, गोबिन्द पन्थी लगाएतले यो बिषयमा संसदमा बारम्बार आवाज उठाईरहेका छन्, बाँदर नियन्त्रणका लागि दीर्घकालीन अनुसन्धान आवश्यक रहेको बताएका छन् । तर संसारमै बाँदर भगाउने प्रभावकारी प्रविधि पूर्ण रूपमा विकसित भइसकेको भने छैन ।
गाउँको भविष्य: खेती कि पलायन ?
गाउँका बस्तीहरूमा अहिले सबैभन्दा ठूलो प्रश्न यही बनेको छ – अब खेती गर्ने कि नगर्ने ?
किसानहरूको अनुभवमा अब बाली लगायो भने बाँदरले खानु निश्चित जस्तै छ। त्यसैले धेरैले खेती नै छोडिसकेका छन् ।
यसले ग्रामीण जीवनमा गहिरो परिवर्तन ल्याइरहेको छ। खेती घट्दै जाँदा गाउँको आत्मनिर्भरता कमजोर भएको छ। खाद्य उत्पादन घटेको छ र बाह्य बजारमा निर्भरता बढेको छ । त्यससँगै बसाइँसराइ बढ्दा गाउँ खाली हुँदै गएका छन् । पहिले चहलपहल हुने बस्तीहरू अहिले सुनसान देखिन थालेका छन् । सूर्य प्रसाद भन्छन्, “अब अर्को वर्ष के गर्ने भन्ने चिन्ता छ ।” मनकला भन्छिन्, “अब त केही पनि नलगाउने सोच बनाइसकेकी छु ।”
समाधान कहिले ?
गुल्मीका पहाडी गाउँहरूमा अहिले सबैभन्दा ठूलो प्रश्न बाँदर होइन, समाधान हो । समस्या सबैले स्वीकार गरेका छन्, अध्ययन भइरहेको छ, समिति बनेको छ, बहस चलिरहेको छ । तर किसानको जीवन भने उस्तै छ—दिनरात बारीमै संघर्ष ।
अन्ततः प्रश्न अझै उस्तै छ : के बाँदर आतंकको दीर्घकालीन समाधान समयमै नआए, पहाडका गाउँहरूमा खेतीपाती केवल इतिहास बन्ने हो ?































