फिफा विश्वकप २०२६ : जर्मनी र स्वीडेनको तहल्का, जापान र नेदरल्याण्ड्स बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ र ‘एफ’ का खेलहरूमा जर्मनी र स्वीडेनले प्रभावशाली जित निकाल्दै प्रतियोगितामा सानदार सुरुआत गरेका छन् भने जापान र नेदरल्याण्ड्सले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । यसै समूहमा आइभरी कोस्टले पनि अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण जित हात पारेको छ ।

समूह ‘ई’ अन्तर्गत चार पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै आफ्नो अभियान सुरु गरेको छ । अमेरिकाको ह्युस्टनमा भएको खेलमा जर्मनीले सुरुदेखि नै दबाब बनाएको थियो ।

खेलको छैटौं मिनेटमा फेलिक्स एनमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर विश्वकपको पहिलो खेल खेलिरहेको कुरासाओले २१औं मिनेटमा लिभानो कोमेनेन्सियाको गोलमार्फत खेल १–१ को बराबरीमा ल्याउँदै इतिहास रचेको थियो । यो गोल विश्वकपमा कुरासाओको पहिलो गोल बनेको छ ।

बराबरीपछि जर्मनीले खेलमा पूर्ण नियन्त्रण कायम गर्‍यो । ३८औं मिनेटमा निको स्लोटरबेकले हेडरमार्फत गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा काई हाभट्र्जले पेनाल्टीमार्फत गोल गर्दै अन्तर ३–१ बनाए ।

दोस्रो हाफमा जर्मनी झनै आक्रामक देखियो । जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिज उन्डाभले एक–एक गोल थपे भने हाभट्र्जले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जितलाई फराकिलो बनाए । कप्तान जोशुआ किमिखले दुई असिस्ट प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गरे ।

यो जितसँगै जर्मनीले समूह ‘ई’ मा तीन अंक जोडेको छ । जर्मनी र आइभरी कोस्टको समान तीन अंक भए पनि गोलअन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा रहेको छ । यही समूहको अर्को खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गर्‍यो । फिलाडेल्फियामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न सकेका थिएनन् । खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला वैकल्पिक खेलाडी अमाद डियालोले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै आइभरी कोस्टलाई महत्वपूर्ण तीन अंक दिलाए ।

डियालोले विलफ्रेड सिंगोको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । यो जितसँगै आइभरी कोस्टले पनि विजयी सुरुआत गरेको छ भने इक्वेडरको लगातार १९ खेलको अपराजित यात्रा समाप्त भएको छ ।
उता समूह ‘एफ’ मा जापान र नेदरल्याण्ड्सबीचको खेल २–२ को रोमाञ्चक बराबरीमा सकिएको छ । डलासमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५१औं मिनेटमा कप्तान भर्जिल भान डाइकले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए ।

तर जापानले छिट्टै जवाफ फर्कायो । ५७औं मिनेटमा केइतो नाकामुराले ताकेफुसा कुबोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि ६४औं मिनेटमा क्रिसेन्सियो समरभिलले उत्कृष्ट गोल गर्दै नेदरल्याण्ड्सलाई पुनः २–१ को अग्रता दिलाए ।

खेलको अन्त्यतिर जापानले निरन्तर दबाब सिर्जना गर्‍यो र ८८औं मिनेटमा डाइची कामाडाले हेडरमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण अंक दिलाए । बराबरीसँगै दुवै टोलीले समूह चरणको पहिलो खेलबाट एक–एक अंक बटुलेका छन् ।

यसै समूहको अर्को खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ को प्रभावशाली जित निकाल्यो। मेक्सिकोको मोन्टेरेमा भएको खेलमा स्वीडेनका यासिन अयारी नायक बने । उनले दुई गोल गरे भने अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र माथियास स्वानबर्गले एक–एक गोल थपे ।

खेलको सातौं मिनेटमै अयारीले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा इसाकले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै अन्तर दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर ओमार रेकिकले गोल गर्दै ट्युनिसियालाई खेलमा फर्काउने प्रयास गरे पनि दोस्रो हाफमा स्वीडेनले थप तीन गोल गर्दै सहज जित सुनिश्चित गर्‍यो ।

ग्योकेरेसले ५९औं मिनेटमा गोल गरे भने स्वानबर्गले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै गोल गर्दै प्रभाव छाडे । इन्जुरी समयमा अयारीले व्यक्तिगत दोस्रो गोल गर्दै स्वीडेनको शानदार जित पूरा गरे ।

पहिलो चरणका खेलपछि समूह ‘एफ’ मा स्वीडेन तीन अंकसहित शीर्ष स्थानमा छ। जापान र नेदरल्याण्ड्स समान एक–एक अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने ट्युनिसिया अंकविहीन छ ।

विश्वकपको सुरुआती चरणमै जर्मनी र स्वीडेनले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन् भने जापानले पनि युरोपियन शक्तिशाली टोली नेदरल्याण्ड्सविरुद्ध संघर्षपूर्ण प्रदर्शन गर्दै नकआउट चरणको सम्भावनालाई जीवन्त राखेको छ । आगामी खेलहरूले दुवै समूहको समीकरण अझ रोचक बन्ने अपेक्षा गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।