काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ६४ रनले पराजित गर्दै प्रतियोगितामा सशक्त सुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १७० रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । जवाफमा पाकिस्तान १७ ओभरमा मात्र १०६ रनमै अलआउट हुँदै फराकिलो हार बेहोर्न बाध्य भयो ।
भारतको इनिङ्समा स्मृति मन्धानाले उत्कृष्ट ब्याटिङ गर्दै ६८ रनको महत्वपूर्ण पारी खेलिन्। सुरुवातमा भारत १८ रनमै २ विकेट गुमाएर दबाबमा परेको भए पनि मन्धाना र मध्यक्रमका ब्याटरहरूले संयमित र जिम्मेवार ब्याटिङ गर्दै इनिङ्सलाई सम्हालेका थिए । कप्तान हरमनप्रीत कौरले ३६ रनको योगदान दिँदा रिचा घोषले मात्र १७ बलमा ३४ रनको विस्फोटक इनिङ्स खेल्दै अन्तिम ओभरहरूमा स्कोरलाई मजबुत बनाइन्। विशेषगरी रिचाको आक्रामक ब्याटिङले भारतलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्यो ।
बलिङतर्फ पाकिस्तानका सादिया इकबाल र कप्तान फातिमा सानाले २–२ विकेट लिए पनि भारतको रन गति रोक्न सकेनन् । अन्त्यसम्म भारतीय ब्याटरहरूले लगातार रन जोड्दै लक्ष्य पाकिस्तानका लागि कठिन बनाइदिए ।
१७१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको पाकिस्तान सुरुदेखि नै दबाबमा देखियो । मुनिबा अलीले ४१ रन बनाएर केही प्रतिरोध गरे पनि अन्य ब्याटरहरू नियमित रूपमा पवेलियन फर्किँदै गए। पाकिस्तानले नियमित अन्तरालमा विकेट गुमाउँदा १०६ रनमै समेटिन पुग्यो ।
भारतका लागि बलिङमा दीप्ति शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ५ विकेट लिइन् । उनले पाकिस्तानको इनिङ्सको अन्त्यतर्फ घातक स्पेल गर्दै अन्तिम तीन विकेट केवल पाँच बलभित्रै झारिन् । यसै प्रदर्शनसँगै दीप्ति महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी पनि बनेकी छिन्। शृया चरानीले पनि ३ विकेट लिएर उनलाई राम्रो साथ दिइन् ।
दीप्तिको घातक बलिङपछि पाकिस्तानको इनिङ्स पूर्ण रूपमा ध्वस्त भएको थियो । ११औँ ओभरमै मुनिबा अली रनआउट भएपछि पाकिस्तानको हार लगभग निश्चित बनेको थियो ।
भारतले यस जितसँगै विश्वकप अभियान बलियो रूपमा सुरु गरेको छ र समूह चरणमा महत्वपूर्ण दुई अंक जोडेको छ । भारत र पाकिस्तानबीचको परम्परागत प्रतिस्पर्धामा भारतले आफ्नो दबदबा कायम राख्दै लगातार जितको श्रृंखला पनि लम्ब्याएको छ ।
खेलपछि भारतीय खेलाडीहरूले पाकिस्तान टोलीसँग हात नमिलाएको दृश्य पनि देखिएको थियो, जसले खेलपछि थप चर्चा पाएको छ। अब पाकिस्तानले आफ्नो अर्को खेल दक्षिण अफ्रिकासँग खेल्नेछ, जहाँ उसले पुनः जितको खोजी गर्नेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।































