काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरूमा पोर्चुगल, कोलम्बिया र क्रोएसियाले महत्वपूर्ण जित निकाल्दा इंग्ल्याण्ड भने घानासँग गोलरहित बराबरीमा रोकिएको छ । पछिल्ला नतिजासँगै विभिन्न समूहको नकआउट चरणको समीकरण झन् रोचक बनेको छ ।
समूह ‘के’ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगलले विश्वकपमा पहिलोपटक सहभागी बनेको उज्बेकिस्तानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो। पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो नायक बने। उनले दुई गोल गर्दै विश्वकप इतिहासमा लगातार ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।
४१ वर्षीय रोनाल्डोले खेलको छैटौं मिनेटमै जोआओ क्यान्सेलोको क्रसलाई हाफ–भलीमार्फत गोलमा परिणत गर्दै इतिहास रचे । उनले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। यससँगै उनको विश्वकप गोल संख्या १० पुगेको छ र उनले पोर्चुगलका महान् स्ट्राइकर युसेबियोको ९ गोलको कीर्तिमान पनि उछिनेका छन् ।
पोर्चुगलका लागि नुनो मेन्डेसले १७औं मिनेटमा शानदार फ्रिकिकमार्फत गोल गरे भने उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभबाट आत्मघाती गोल भयो । खेलको ८७औं मिनेटमा राफाएल लियाओले पाँचौं गोल थप्दै पोर्चुगलको शानदार जित सुनिश्चित गरे ।
पहिलो खेलमा डिआर कङ्गोसँग १–१ को बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा प्रभावशाली पुनरागमन गर्दै चार अंकसहित समूहको शीर्ष स्थान समातेको थियो । तर त्यसको केही घण्टापछि कोलम्बियाले डिआर कङ्गोलाई १–० ले हराउँदै शीर्ष स्थान कब्जा गर्यो ।
मेक्सिकोको ग्वाडालाहारामा भएको खेलमा कोलम्बियालाई जित दिलाउने निर्णायक गोल ड्यानियल मुन्योसले ७६औं मिनेटमा गरे । जुआन फर्नान्डो क्विन्तेरोको पासमा उनले गरेको प्रहार डिफेन्डरमा लागेर गोलमा परिणत भएको थियो । कोलम्बियाले खेलभरि दबाब बनाए पनि गोल गर्न संघर्ष गरेको थियो। अन्ततः मुन्योसको गोल नै निर्णायक बन्यो ।
लगातार दोस्रो जितपछि कोलम्बियाले ६ अंक जोड्दै एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। चार अंक रहेको पोर्चुगल दोस्रो स्थानमा छ । अब यी दुई टोलीबीच हुने अन्तिम खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। डिआर कङ्गोको एक अंक छ भने उज्बेकिस्तान अंकविहीन छ ।
यता समूह ‘एल’ मा इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा टुंगियो । अमेरिकाको बोस्टनमा भएको खेलमा इंग्ल्याण्डले ७९ प्रतिशत बल नियन्त्रणमा राख्दै १९ प्रहार गर्यो । तर घानाको संगठित रक्षापंक्तिलाई भेद्न सकेन ।
बुकायो साका, निको ओ’राइली र मार्क गेहीले उत्कृष्ट अवसर पाए पनि गोल गर्न नसक्दा इंग्ल्याण्डले अंक बाँड्न बाध्य भयो। घानाले पनि सीमित अवसरमा खतरा सिर्जना गरे पनि गोल निकाल्न सकेन ।
यो नतिजापछि इंग्ल्याण्ड र घानाको समान चार–चार अंक भएको छ। गोलअन्तरका आधारमा इंग्ल्याण्ड शीर्ष स्थानमा छ भने घाना दोस्रो स्थानमा रहेको छ । दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना बलियो रहेको छ ।
उही समूहको अर्को खेलमा क्रोएसियाले पनामालाई १–० ले पराजित गर्दै आफ्नो नकआउट आशा जीवित राख्यो । क्यानडाको टोरन्टोमा भएको खेलमा एन्टे बुडिमिरले ५४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जोसिप स्टानिसिचको लो–क्रसलाई सदुपयोग गर्दै उनले टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।
क्रोएसियाका कप्तान लुका मोड्रिचका लागि यो खेल विशेष रह्यो। उनले राष्ट्रिय टोलीबाट आफ्नो २००औं अन्तर्राष्ट्रिय खेल खेले । ४० वर्षीय मोड्रिचको ऐतिहासिक उपलब्धिलाई टोलीले जितसहित स्मरणीय बनायो ।
पहिलो खेलमा इंग्ल्याण्डसँग ४–२ ले पराजित भएको क्रोएसियाले पहिलो जित निकाल्दै तीन अंक जोडेको छ । अब उसले अन्तिम खेलमा घानालाई हराउन सके नकआउट चरणमा प्रवेश गर्नेछ। लगातार दोस्रो हार बेहोरेको पनामा भने प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ‘एल’ मा अहिले इंग्ल्याण्ड र घानाको समान ४–४ अंक छ भने क्रोएसियाको ३ अंक रहेको छ । अन्तिम खेलअघि नकआउट चरणको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ । इंग्ल्याण्डले पनामासँग खेल्नेछ भने घानाले क्रोएसियाको सामना गर्नेछ। ती खेलपछि समूहबाट अन्तिम ३२ मा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































