काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप २०२६ अन्तर्गत अस्ट्रेलियाले पाकिस्तानलाई १ सय १३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।
यता कप्तान चामारी अथापथ्थुको अविजित शतकको मद्दतमा श्रीलंकाले आयरल्याण्डमाथि नौ विकेटको शानदार जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ भने न्युजिल्यान्डले स्कटल्याण्डलाई हराएर अन्तिम चारको आशा जीवित राखेको छ ।
लिड्समा भएको समूह ‘ए’ को खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९९ रन बनायो । टोलीको विशाल स्कोरमा एलिस पेरीले ७१ रनको उत्कृष्ट इनिङ्स खेलिन् । उनले जर्जिया भोलसँग महत्वपूर्ण साझेदारी गर्दै अस्ट्रेलियालाई बलियो स्थितिमा पुर्याएकी थिइन् । भोलले ३९ रनको योगदान दिइन् ।
२ सय रनको लक्ष्य पछ्याएको पाकिस्तान सुरुदेखि नै दबाबमा रह्यो । नियमित अन्तरालमा विकेट गुमाएको पाकिस्तान ८६ रनमै अलआउट भयो । अस्ट्रेलियाका सोफी मोलिन्यु, एलिस पेरी र एन्नाबेल सुथरल्यान्डले समान दुई–दुई विकेट लिए । पाकिस्तानले सुरुआती चरणमा केही उत्कृष्ट फिल्डिङ प्रदर्शन गरे पनि रनआउट र कमजोर शट चयनका कारण ठूलो हार बेहोर्न बाध्य भयो। जितसँगै अस्ट्रेलियाले समूहमा अपराजित यात्रा कायम राख्दै सेमिफाइनलतर्फ बलियो कदम बढाएको छ ।
यता ब्रिस्टोलमा भएको अर्को खेलमा श्रीलंकाले आयरल्याण्डलाई नौ विकेटले पराजित गर्दै अन्तिम चारको सम्भावना कायम राखेको छ । टस जितेर पहिले फिल्डिङ गरेको श्रीलंकाले आयरल्याण्डलाई २० ओभरमा ५ विकेट गुमाएर १३० रनमा सीमित गरेको थियो। कप्तान ग्याबी लुइसले ५९ रन बनाइन् भने लिया पलले २० रनको योगदान दिइन् ।
जवाफमा श्रीलंकाका लागि कप्तान चामारी अथापथ्थुले अविजित १०६ रनको विस्फोटक शतकीय इनिङ्स खेलिन् । उनले ६१ बलमा १७ चौका र दुई छक्का प्रहार गर्दै विश्वकपको हालसम्मकै उच्च व्यक्तिगत स्कोर दर्ता गरिन्। अथापथ्थु र इमेशा दुलानीले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरेपछि श्रीलंकाले ४.३ ओभर बाँकी रहँदा १ विकेटको क्षतिमा १३४ रन बनाउँदै सहज जित हात पार्यो ।
यो जितसँगै श्रीलंकाले चार अंक जोड्दै सेमिफाइनलको आशा जीवित राखेको छ। अब उसले अन्तिम खेलमा स्कटल्याण्डलाई हराउनुपर्नेछ र अन्य नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ। लगातार चौथो हार बेहोरेको आयरल्याण्ड भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।
यसैबीच, साविक विजेता न्युजिल्यान्डले स्कटल्याण्डलाई ६ विकेटले हराउँदै सेमिफाइनल सम्भावना कायम राखेको छ । पहिले ब्याटिङ गरेको स्कटल्याण्डले डार्सी कार्टरको अविजित ७२ रनको मद्दतमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो। सारा ब्राइसले २५ रनको योगदान दिइन् भने न्युजिल्यान्डका मेली केरले ३ विकेट लिइन् ।
१३२ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ३१–३ को कठिन अवस्थामा पुगे पनि इजी शार्प र ब्रुक हलिडेले चौथो विकेटका लागि १०१ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जित दिलाए । शार्पले ६२ रन बनाइन् भने हलिडे ४१ रनमा अविजित रहिन्। न्युजिल्यान्डले १० बल बाँकी रहँदा लक्ष्य पूरा गर्दै लगातार दोस्रो जित दर्ता गर्यो ।
स्कटल्याण्डको यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ भने न्युजिल्यान्डले सेमिफाइनल पुग्न अन्तिम खेलमा आयोजक इंग्ल्यान्डलाई हराउनुका साथै अन्य खेलको नतिजामा पनि भर पर्नुपर्ने अवस्था रहेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।

































