काठमाडौं । भारतीय विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा जाने आफ्ना नागरिकलाई आवश्यक यात्रा अनुमति, भिसा तथा अन्य अनिवार्य कागजात पूरा नगरी यात्रा सुरु नगर्न कडा चेतावनी दिएको छ । निजी टुर अपरेटरमार्फत नेपाल हुँदै कैलाश मानसरोवर जान निस्किएका केही भारतीय तीर्थयात्री आवश्यक कागजात अभावका कारण नेपालमै अलपत्र परेपछि मन्त्रालयले विशेष ट्राभल एडभाइजरी जारी गरेको हो ।
मन्त्रालयका अनुसार पछिल्ला दिनमा निजी ट्राभल कम्पनीमार्फत कैलाश मानसरोवर यात्रामा सहभागी भएका केही भारतीय नागरिक चीन प्रवेशका लागि आवश्यक पर्ने भिसा, ट्राभल परमिट तथा सम्बन्धित स्वीकृतिपत्र प्राप्त नगरी नै नेपाल आइपुगेका थिए। आवश्यक कागजात नहुँदा उनीहरू चीनतर्फको यात्रा अघि बढाउन नसकी नेपालमै रोकिएका छन् । त्यसपछि तीर्थयात्रीहरूले उद्धार, आवश्यक सहयोग तथा समस्या समाधानका लागि भारतीय विदेश मन्त्रालयसँग सम्पर्क गरेका थिए । यस घटनापछि मन्त्रालयले यात्रामा सहभागी हुन चाहने सबै भारतीय नागरिकलाई पूर्वतयारीका क्रममा आवश्यक कागजातको पूर्ण सुनिश्चितता गर्न आग्रह गरेको छ। मन्त्रालयले नेपाल पुगेपछि वा यात्राकै क्रममा आवश्यक भिसा तथा परमिट सहज रूपमा प्राप्त हुन्छ भन्ने अनुमानका आधारमा यात्रा सुरु नगर्न स्पष्ट रूपमा सचेत गराएको छ ।
विदेश मन्त्रालयले जारी गरेको सूचनामा आवश्यक कागजातबिना यात्रामा निस्किँदा बीच बाटोमै यात्रा अवरुद्ध हुने, आर्थिक भार बढ्ने, आवास तथा यातायात व्यवस्थापनमा समस्या आउने र यात्रुहरू मानसिक तनावमा समेत पर्न सक्ने उल्लेख गरिएको छ । त्यसैले यात्रा सुरु गर्नुअघि सम्पूर्ण प्रक्रिया पूरा भएको यकिन गर्न मन्त्रालयले जोड दिएको छ ।
मन्त्रालयले कैलाश मानसरोवरजस्तो अन्तर्राष्ट्रिय सीमासँग जोडिएको धार्मिक यात्राका लागि विभिन्न सरकारी निकायबाट स्वीकृति आवश्यक पर्ने भएकाले कुनै पनि यात्रुले सबै प्रक्रिया पूरा नगरी हतारमा यात्रा सुरु गर्नु उपयुक्त नहुने जनाएको छ। यसले यात्रुलाई अनावश्यक दुःख, झन्झट र आर्थिक क्षतिबाट जोगाउन सहयोग पुग्ने विश्वास पनि मन्त्रालयले व्यक्त गरेको छ । त्यसैगरी, भारतीय विदेश मन्त्रालयले निजी टुर अपरेटर छनोट गर्दा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ। यात्रा प्याकेज खरिद गर्नुअघि सम्बन्धित टुर कम्पनी भारत वा सम्बन्धित सरकारी निकायमा विधिवत् दर्ता भएको छ वा छैन, आवश्यक इजाजतपत्र प्राप्त गरेको छ वा छैन भन्ने विषय अनिवार्य रूपमा जाँच गर्न मन्त्रालयले सुझाव दिएको छ ।
मन्त्रालयका अनुसार केही अनधिकृत वा पर्याप्त अनुभव नभएका निजी कम्पनीहरूले सबै प्रक्रिया पूरा नभए पनि यात्रुहरूलाई भ्रमपूर्ण आश्वासन दिएर यात्रा गराउने प्रयास गर्ने गरेका गुनासा प्राप्त भएका छन् । यस्ता गतिविधिका कारण यात्रुहरू बीच बाटोमै समस्यामा पर्ने जोखिम बढ्ने भएकाले विश्वसनीय र आधिकारिक टुर अपरेटरमार्फत मात्रै यात्रा गर्न मन्त्रालयले आग्रह गरेको छ ।
कैलाश मानसरोवर हिन्दू, बौद्ध, जैन तथा बोन धर्मावलम्बीका लागि अत्यन्त पवित्र धार्मिक तीर्थस्थल मानिन्छ । हरेक वर्ष भारतसहित विभिन्न देशका हजारौं श्रद्धालु नेपाल वा भारत हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित कैलाश मानसरोवर पुग्ने गर्छन् । तर चीन प्रवेशका लागि पूर्वस्वीकृत भिसा, यात्रा अनुमति र अन्य प्रशासनिक प्रक्रिया अनिवार्य हुने भएकाले ती सबै कागजात समयमै तयार गर्नुपर्ने व्यवस्था छ ।
भारतीय विदेश मन्त्रालयले तीर्थयात्रा सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले यो ट्राभल एडभाइजरी जारी गरिएको जनाएको छ । मन्त्रालयले कुनै पनि यात्रुले अपुष्ट जानकारी वा मौखिक आश्वासनका भरमा यात्रा सुरु नगर्न, आवश्यक कागजात पूरा भएको यकिन गर्न तथा आधिकारिक रूपमा स्वीकृत टुर अपरेटरमार्फत मात्रै कैलाश मानसरोवर यात्रामा सहभागी हुन पुनः आग्रह गरेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































