फिफा विश्वकप २०२६ : अन्तिम ३२ टोलीको समीकरण तय, उपाधि होड थप रोमाञ्चक बन्दै

काठमाडौं । उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा जारी फिफा विश्वकप २०२६ को समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको टुङ्गो लागेको छ।

पहिलो पटक ४८ राष्ट्र सहभागी भएको विश्वकपमा १२ समूहका विजेता र उपविजेता गरी २४ टोली तथा तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टोलीले अन्तिम ३२ मा स्थान सुरक्षित गरेका हुन् । आइतबार रातिदेखि सुरु हुने नकआउट चरणसँगै उपाधि दौड थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

समूह चरणमा यसपटक थुप्रै अप्रत्याशित नतिजा देखिए। दुई पटकको विश्व च्याम्पियन उरुग्वे समूह चरणबाटै बाहिरिँदा पहिलो पटक विश्वकप खेलेको केप भर्डे, पहिलो पटक नकआउट पुगेको क्यानडा, दक्षिण अफ्रिका तथा आइभरी कोस्टले इतिहास रचे । सह–आयोजक तीनै राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा नकआउट चरणमा पुग्न सफल भए भने युरोपेली टोलीहरूको दबदबा फेरि एकपटक देखियो ।

समूह ‘ए’ बाट मेक्सिको र दक्षिण अफ्रिका, ‘बी’ बाट स्विट्जरल्यान्ड र क्यानडा, ‘सी’ बाट ब्राजिल र मोरक्को, ‘डी’ बाट अमेरिका र अस्ट्रेलिया, ‘ई’ बाट जर्मनी र आइभरी कोस्ट, ‘एफ’ बाट नेदरल्यान्ड्स र जापान, ‘जी’ बाट बेल्जियम र इजिप्ट, ‘एच’ बाट स्पेन र केप भर्डे, ‘आई’ बाट फ्रान्स र नर्वे, ‘जे’ बाट अर्जेन्टिना र अस्ट्रिया, ‘के’ बाट कोलम्बिया र पोर्चुगल तथा ‘एल’ बाट इङ्ग्‌ल्यान्ड र क्रोएसिया समूह विजेता तथा उपविजेताका रूपमा अघि बढेका हुन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा डिआर कङ्गो, स्विडेन, घाना, इक्वेडर, बोस्निया–हर्जेगोभिना, अल्जेरिया, पाराग्वे र सेनेगलले पनि अन्तिम ३२ मा स्थान बनाएका छन् । यद्यपि इरान, दक्षिण कोरिया, स्कटल्यान्ड र उरुग्वे गोल अन्तर तथा अंकका आधारमा बाहिरिन बाध्य भए ।

समूह चरणमा सबैभन्दा ठूलो चर्चा मेक्सिकोको प्रदर्शनले पायो । घरेलु समर्थकको साथ पाएको मेक्सिकोले तीनै खेल जित्दै एक गोल पनि नखाई समूह विजेता बन्यो । यस्तै फ्रान्सले पनि तीनवटै खेल जित्दै आफू उपाधिको प्रमुख दाबेदार भएको प्रमाणित गर्यो । जर्मनी, स्पेन, अर्जेन्टिना, ब्राजिल, इङ्ग्‌ल्यान्ड र बेल्जियमले पनि अपेक्षाअनुसार समूह चरण पार गरे ।

अर्कोतर्फ पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेर सबैलाई चकित पारेको छ। कतार विश्वकपमा सेमिफाइनल पुगेको मोरक्कोले पनि उत्कृष्ट लयलाई निरन्तरता दिँदै पुनः उपाधि दाबेदार टोलीलाई चुनौती दिने संकेत गरेको छ। आइभरी कोस्टले पहिलो पटक विश्वकपको नकआउट यात्रा तय गर्दा दक्षिण अफ्रिका र क्यानडाले पनि इतिहास रचेका छन् ।

नकआउट चरणको पहिलो खेलमा क्यानडाले दक्षिण अफ्रिकाको सामना गर्नेछ । दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेकाले यो खेल ऐतिहासिक हुनेछ। क्यानडाले समूह ‘बी’ मा एक जित, एक बराबरी र एक हारसहित चार अंक जोडेको थियो भने दक्षिण अफ्रिकाले पनि चार अंकसहित समूह ‘ए’ को उपविजेता बनेको हो ।

त्यसपछि ब्राजिल र जापानबीच रोमाञ्चक भिडन्त हुनेछ । जर्मनीले पाराग्वेको सामना गर्दा नेदरल्यान्ड्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। आइभरी कोस्ट र नर्वे, फ्रान्स र स्विडेन, मेक्सिको र इक्वेडर, इङ्ग्‌ल्यान्ड र डिआर कङ्गो, बेल्जियम र सेनेगल, अमेरिका र बोस्निया–हर्जेगोभिना, स्पेन र अस्ट्रिया, पोर्चुगल र क्रोएसिया, स्विट्जरल्यान्ड र अल्जेरिया, अस्ट्रेलिया र इजिप्ट, अर्जेन्टिना र केप भर्डे तथा कोलम्बिया र घानाबीच अन्तिम १६ प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

फ्रान्स र स्विडेनबीचको खेल विशेष चासोको विषय बनेको छ । समूह चरणका तीनै खेल जितेको फ्रान्स लयमा रहेको छ भने स्विडेन उतारचढावपूर्ण प्रदर्शनपछि नकआउटमा पुगेको हो । यस खेलको विजेताले अन्तिम १६ मा जर्मनी वा पाराग्वेमध्ये एक टोलीसँग खेल्नेछ ।

अमेरिकाले बोस्निया–हर्जेगोभिनाको सामना गर्नेछ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग हार बेहोरेपछि अमेरिकाले आफ्नो लय गुमाएको देखिए पनि घरेलु मैदानको फाइदा उठाउने प्रयास गर्नेछ । चोटबाट फर्किएका कप्तान क्रिस्टियन पुलिसिक उपलब्ध हुनु अमेरिकाका लागि सकारात्मक पक्ष हो ।

यता अर्जेन्टिनाले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेसँग खेल्नेछ। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना स्पष्ट रूपमा दाबेदार भए पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको केप भर्डेले अर्को आश्चर्यजनक नतिजा निकाल्ने लक्ष्य राखेको छ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको टोलीले क्रोएसियाको चुनौती सामना गर्नेछ भने एर्लिङ हालान्ड नेतृत्वको नर्वे आइभरी कोस्टविरुद्ध मैदान उत्रिनेछ ।

नकआउट चरणबाट पराजित हुने १६ टोलीको विश्वकप यात्रा समाप्त हुनेछ भने विजयी टोलीहरूले अन्तिम १६ मा स्थान बनाउनेछन् । अन्तिम १६ का खेल जुलाई ४ देखि सुरु हुने तालिका रहेको छ । यस चरणबाट गल्ती सुधार्ने कुनै अवसर नहुने भएकाले प्रत्येक खेल ’गर या मर’ को अवस्थामा हुनेछ ।

पहिलो पटक ४८ टोली सहभागी भएको विश्वकपको नयाँ स्वरूपले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ । समूह चरणमै धेरै ठूला टोली दबाबमा परे भने नयाँ टोलीहरूले आफूलाई स्थापित गर्ने अवसर पाए ।

अब नकआउट चरण सुरु भएसँगै विश्व फुटबलका समर्थकको ध्यान उपाधि होडमा केन्द्रित भएको छ । फ्रान्स, अर्जेन्टिना, ब्राजिल, स्पेन, जर्मनी, इङ्ग्‌ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्सजस्ता परम्परागत शक्तिसँगै मोरक्को, केप भर्डे, क्यानडा र दक्षिण अफ्रिकाजस्ता उदाउँदा टोलीले पनि उपाधि दौडलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।